शुक्रबार, वैशाख ७, २०८१

एमालेमा रावल, विष्ट र भूषाललाई चुनावी टिकटमा उल्झन

मेरोन्यूज २०७९ असोज १३ गते १३:४१


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउने क्रममा दशबुँदे गरी एमालेमा रहेका नेताहरु समस्यामा परेका छन् ।

अछामका भीम रावल, गुल्मीका गोकर्ण विष्ट र रुपन्देहीका घनश्याम भूषाल समस्यामा परेका हुन् । एमालले १ सय ६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवारी टुंग्याउदै गर्दा एमाले सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य घनश्याम भूषाललाई प्राविधक समस्या परेको ।

साथै एमालेमा नेता रावललाई पनि अछामबाट एकल उम्मेदवार सिफारिस भएपछि पार्टी केन्द्रमा समस्या देखिएको छ । एमाले सचिव विष्टलाई गुल्मी २ बाट काठमाडौं ल्याउने र भूषाललाई टिकट नै नदिई राख्ने तयारी भएको एमाले स्रोतले दावी छ । तर विष्टले भने गुल्मी २ छाड्न मानेका छैनन ।

उनको सचिवालयले गुल्मी २ मा विष्ट सांसद भएपछि के के काम भए भनेर प्रचारबाजी गरिरहेको छ । ‘विष्टलाई काठमाडौमा पनि राम्रो भएका कारण यतै ल्याउने कि भन्ने हो’, काठमाडौका एक एमाले नेताले भने । तर भूषाललाई भने टिकट नदिने करिक करिब पक्का भएको छ । एमाले स्थायी कमिटी सदस्य समेत रहेको भूषालले पार्टीमा नयाँ पिढीलाई स्थान दिनुपर्ने बताउदै आएका थिए ।

तर यसपटक उनलाई टिकट दिने संभवना निकै कम रहेको स्रोतको दाबी छ । आजको सचिवालय बैठकबाट एमालेले दसैँअगावै संघ र प्रदेशतर्फ प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने गरी गृहकार्य गर्ने भएको छ । गृहकार्यलाई अन्तिम रूप दिन आज दिउसो केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

बैठक लगातार बस्ने र दसैँअगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ । अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुनेछ ।

‘आज बस्ने सचिवालय बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचनमा प्रस्तुत गरिने पार्टीको घोषणापत्रमा केन्द्रित रहेर छलफल हुनेछ,’ उपमहासचिव एवं प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ।

उनका अनुसार दशै अगावै उम्मेदवार टुंगो लगाएर दशैमा पठाउने तयारी भएको छ । सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँड र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ । गठबन्धनभित्रको असन्तुष्टितिर नजर लगाउँदै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँगको तालमेलको अन्तिम टुंगो लगाइसकेको छैन ।

‘लोसपाले बढी सिट माग्यो मधेशमा त्यति धेरै सिट दिन सकिदैन बरु एक्लै निर्वाचन लड्न फाइदा होला जस्तो छ’, एमालेका एक पदाधिकारीले भने । गठबन्धनभित्र सिट बाँडफाँडमा असन्तुष्टि देखिएपछि एमालेले बुधबार बोलाउने तयारी गरेको सचिवालय बैठकलाई गृहकार्य नपुगेको भन्दै विहिबारलाई सारेको थियो ।

तर, बिहीबारबाट सुरु हुने सचिवालय बैठक भने लगातार बस्ने र दसैँअगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ । अध्यक्ष केपी ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधिसभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइसकेका छन ।

६० निर्वाचन क्षेत्रमा जिल्ला र प्रदेशबाटै सर्वसम्मत टुंगिएर उम्मेदवारको नाम आएको र थप ५० हाराहारीमा दुईजनाको मात्र दाबी रहेकाले संघतर्फको उम्मेदवार टुंगो लगाउन गठबन्धनको तुलनामा एमालेलाई सहज देखिएको छ । तर, लोसपा र राप्रपासँगको सम्भावित तालमेल र बाँकी क्षेत्रका उम्मेदवार टुंग्याउन भने सकस छ ।
त्यस्तै, प्रदेशतर्फको तीन सय ३० सिटमध्ये आधा क्षेत्रको पनि गृहकार्य नभएकाले बैठक थप दुई दिन लम्बिन सक्ने एक पदाधिकारीले बताए ।

‘अहिले धेरै जसो स्थानमा टुंगिएको छ, एक दुई दिनमै सबै सिटको टुंगो लगाउने तयारी छ’, स्रोतले भन्यो । एमालेका उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञावालीले जिल्लाबाट सिफारिस भएर आएका नामलाई टुंगो लगाएर अध्यक्षलाई दिइसकेका छन् ।

प्रतिक्रिया