शुक्रबार, वैशाख ७, २०८१

विज्ञ भन्छन् – डेंगुले भयावह रुप लिने देखिन्छ

मेरोन्यूज २०७९ असोज १२ गते १७:२६

काठमाडौं । सरकार संवेदनशील नहुदाँ डेंगु महामारीकै रुपमा फैलिँएको विज्ञहरुले बताएका छन् । उनीहरुले डेंगु जोखिम बढ्दै गएको र यसले महामारीकै रुपमा निम्त्याउन सक्ने बताएका हुन् ।

स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीले अहिलेकै गतिमा डेंगु फैलिए यो भन्दा बढी भयानक हुने संकेत देखिएको बताए । उनले सरकारले डेँगुलाई प्राथमिकतामा नराख्दा यो व्यापक मात्रामा फैलिएको बताए । ‘बग्ने पानीमा लामखुट्टेले फूल पार्दैन । जमेको पानीमा फूल पार्छ । लामखुट्टे अत्यन्त चलाख प्राणी हो ।’ उनले भने, ‘जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं । ’

डा.मरासीनीले डेंगु रोकथामका लागि ‘लङ्ग टर्म प्रोग्राम’गर्नुपर्ने बताए । उनले यो अवस्थामा स्वास्थ्य मन्त्रालयको पहिलो एजेण्डा डेंगु नियन्त्रण हुनुपर्ने भएपनि त्यसो नभएकोमा चिन्ता व्यक्त गरे ।

उनले डेंगु संक्रमण मधेशका जिल्लामा अझ फैल्ने देखिएको बताए । उनले भने ‘यो उचाई भएका जिल्ला हुम्लामा देखिएको छ यो १५ डिग्रीसम्म बाच्छ ।’ त्यैसैगरी,स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डाक्टर डिबि ठाकुरले डेंगु जनस्वास्थ्य समस्या बनेको बताए । उनले अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयको पहिलो एजेण्डा डेंगु नियन्त्रण हुनुपर्ने थियो तर त्यो नहुदा हरेक घरमा डेंगुका बिरामी भएका बताए । उनले भने ,‘सरकारले डेंगुलाई गम्भिरतापूर्वक लिनुपर्छ । डेंगु रोकथामको उपाय भनेकै लामखुट्टे र नियन्त्रण र लार्भा नष्ट हो ।’

स्वास्थ्य मन्त्रमलयको तथ्यांक अनुसार देशभर डेंगुका कारण हालसम्म ३६ जनाको ज्यान गइसकेको छ । हालसम्म देशभर २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन् ।

प्रतिक्रिया