शनिबार, वैशाख ८, २०८१

सत्ता गठबन्धनमा सिट बाँडफाँट करिव सहमति नजिक

मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये जसपा १३, कांग्रेस १२, माओवादी ५ र एकीकृत समाजवादीलाई २ सिटमा भागवन्डा

रामकृष्ण अधिकारी २०७९ असोज ११ गते २२:२२

काठमाडौं । सत्ता गठबन्धन दलले अन्ततः सिट बाँडफाँटमा करिव सहमति जुटाएका छन् । मंगलबार बिहान ८ बजेदेखि कार्यदल तहमा र त्यसपछि ११ बजेपछि गठबन्धनका शीर्ष नेता सहितको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनभर बसेको बैठकले सिट बाँडफाँटमा करिव सहमति जुटाएको हो ।

तर उनीहरुले दिनभरको छलफलपछि जुटेको सहमतिको पारम्भिक खाकाका विषयमा केही ठोस बताएका छैनन ।

कार्यदलका एक सदस्यका अनुसार, भोलि (बुधबार) बिहान केही निर्वाचन क्षेत्र यताउता गर्ने विषयमा शीर्ष नेताहरुले एक चरण छलफल गरेपछि सिट भागवन्डाको औपचारिक घोषणा गर्ने तयारी भएको छ ।

‘अब भने सिट बाँडफाँट करिव टुंग्गो लागेको छ । केही जिल्लाका निर्वाचन क्षेत्र यताउता गर्ने या नगर्ने भन्ने विषयमा मात्र सामान्य छलफल पछि औपचारिक रुपमा घोषणा गर्ने गरी अन्तिम निश्कर्ष निस्केको छ,’ ती सदस्यले मेरोन्यूजलाई भने, ‘भोलि बिहान एक चरण शीर्ष नेताहरु बस्नुहुन्छ, त्यसपछि १२ बजेसम्म सिट बाँडफाँट टुंग्गो लगाएर नेताहरुले समानुपातिक सूचीमा रहेर आ – आफनो दलभित्र छलफल गर्नु थाल्नुहुनेछ ।’

गठबन्धनका शीर्ष नेता तथा कार्यादलका सदस्यहरु बुधबार बिहान ८ बजेदेखि फेरि प्रधानमन्त्री निवास बालुवाटारमै छलफलमा बस्नेछन् । कार्यदलका अर्का सदस्य तथा जसपाका प्रवक्ता मनिस सुमनका अनुसार, बुधबार शीर्ष नेता र कार्यदल बसेर यसबारेमा टुंगोमा पुग्ने सहमति भएको छ ।

‘प्रदेशसभामा सिट बाँडफाँट कार्यदलले ०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र ०७४ को समानुपातिक सिटलाई आधार बनाउने सहमति गरेको छ,’ सुमनले भने, ‘भोलि ८ बजे शीर्ष नेता र कार्यदल बसेर टुंगो लगाइने छ ।’

प्रतिनिधीसभातर्फको भने करिव सवै निर्वाचन क्षेत्र कुन दलले कहाँ लिने भन्ने गरी समझदारी बनेको छ । केही जिल्लाका निर्वाचन क्षेत्रमा भने अहिले लगाइएको समझदारी अनुसार क्षेत्र साटफेर गर्ने की भन्नेमा मात्र केन्द्रीत रहेर बुधबार बिहान छलफल हुनेछ ।

गत साउन २० गते सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेका थिए । प्रतिनिधीसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते देशैभर एकैचरणमा हुँदैछ ।

उक्त चुनावमा गठबन्धन दलहरुले तालमेल गरेरै लड्ने निर्णय गरेका थिए । त्यसपछि उनीहरुले कांग्रेसका तीन र अन्य दलका दुई दुई जना रहने गरी सिट बाँडफाँटका लागि कार्यदल बनाएका थिए । त्यसयताको ५४ दिन गठबन्धनका दलहरुले सिट बाँडफाँटमा समय खर्चेका थिए ।

अन्ततः मंगलबार दिनभरको छलफल पछि भने सिट बाँडफाँटमा करिव सहमति जुटाउन नेताहरु सफल भएका हुन् । यधपी, उनीहरुले यस विषयलाई औपचारिक रुपमा सार्वजनिक गरिसकेका छैनन ।

तर सहमतिको धेरै नजिक पुगेर मंगलबार नेताहरु बैठकबाट उठेको ती नेताले बताए । दलहरुका वीचमा सवैभन्दा सिट बाँडफाँटमा सकस परेको मधेस प्रदेश थियो । त्यहाँका प्रतिनिधीसभाका ३२ निर्वाचन क्षेत्रमा दलहरुका वीचमा सिट संख्या भागवन्डामा मंगलबार टुंगो लागेपछि दलहरु सहमति नजिक पुगेका हुन् ।

मधेसका ३२ निर्वाचन क्षेत्रमा अब जनता समाजवादी पार्टी (जसपा)ले सवैभन्दा धेरै १३ सिट पाउनेछ । त्यसपछि कांग्रेसले १२, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादीले २ वटा निर्वाचन क्षेत्र पाउने गरी समझदारी बनेको छ । राष्टिय जनमोर्चाले भने मधेस प्रदेशमा कुनै पनि सिट पाउने छैन । एकीकृत समाजवादीले रौतहट १ मा पार्टी अध्यक्ष माधव नेपाललाई चुनाव लडाउने गरी सोचेको छ । अर्को एउटा क्षेत्र पनि मधेसको एकीकृत समाजवादीले पाउने छ ।

माओवादीले भने सिराहमा १, रौतहटमा १, धनुषामा १, महोत्तरीमा १ र सर्लाहीमा १ सिट पाउनेछ । अन्य मधेसका बारा, पर्सा र सप्तरीमा माओवादीले प्रतिनिधीसभातर्फ सिट पाउनेछैन ।


धनुषामा मात्रिका यादव, महोत्तरीमा गिरिराजमणि पोखरेल, सर्लाहीमा नरेन्द्र साह, रौतहटमा युवराज भटटराई र सिराहमा विश्वनाथ साहलाई टिकट दिने गरी माओवादीले मधेस प्रदेशका ५ वटा निर्वाचन क्षेत्र पाउने भएको छ ।

मधेसमा कांग्रेस र जनता समाजवादी तथा पाहाडका क्षेत्रहरुमा कांग्रेस र माओवादीका वीचमा सिट बाँडफाँट अलिक धेरै संख्याको पाउने गरी समझदारी बनेको पनि नेताहरुको भनाई छ । यधपी, कुन दललाई कति सिट संख्या भन्ने बारेमा पनि नेताहरुले केही बताएका छैनन ।

तर कांग्रेस ८५, माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १६, जनता समाजवादी १५ र राष्टिय जनमोर्चाले २ निर्वाचन क्षेत्र लिने गरी प्रतिनिधीसभातर्फ सिट वाँडफाँट हुन लागेको छ । तर यो संख्यामा केही घटबड हुन सक्ने पनि नेताहरु नै बताउँछन् ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया