मंगलबार, वैशाख ११, २०८१

धनकुटाका माओवादी नेताले दिए सामूहिक राजीनामा, स्वतन्त्र उम्मेदवारीको घोषणा

मेरोन्यूज २०७९ असोज ९ गते १५:५०

काठमाडौँ । धनकुटाका सबै नेकपा माओवादी केन्द्रका नेताहरूले राजीनामा दिएका छन् । उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदै गर्दा धनकुटामा माओवादीले नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लाका नेताले सामूहिक राजीनामा दिएका हुन् । योसँगै भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

‘हामी पार्टीबाट अलग भएका छौँ, सामूहिक राजीनामा दियौं, स्वतन्त्र रुपमा मैले उम्मेदवारी घोषणा गरेँ,’ भण्डारीले भने । पार्टीमा उनी प्रतिनिधिसभाको उम्मेदवारमा दाबी गर्दै आएका थिए ।

माओवादीबाट टिकट नपाउने भएपछि भण्डारीले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाइसकेको थिए । पोलिट्व्यूरो सदस्य भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रतिक्रिया