बुधबार, वैशाख १२, २०८१

माटो बेचेर दसैँको खर्च जोहो

मेरोन्यूज २०७९ असोज ९ गते १४:३३

महोत्तरी । दसैँ नजिकिँदै गर्दा महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहो गर्दै छन् । दसैँपूर्व विभिन्न रङका माटोले घर पोतेर चिटिक्क बनाउने परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका हुन् । महोत्तरीका सबैजसो बस्तीमा अहिले माटो सङ्ग्रह गर्नु महिलाको मुख्य रोजगारी बनेको छ ।

अहिले बस्तीबस्तीका महिला १०-२० जनासम्मको समूहमा माटो खोज्न चार–पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का पुग्ने गरेका छन् । दसैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेंलो र रातो माटोको माग हुने भएपछि गरिब बस्तीका ग्रामीण महिला अहिले विभिन्न रङका माटो सङ्ग्रहमा लागेका हुन् ।

मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । ‘कमेरे र पहेंलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाँही चुरे नै पुग्नुपर्छ,’ सखारै १० जनाको समूहमा रातो माटो खन्न १५-१६ किलोमिटर छिचोलेर बर्दिबास ३ को चुरे थुम्को पुगेका भङ्गाहा नगरपालिका ६ हतिसर्वाका महिला समूहकी पानवती चौधरीले भनिन्, ‘यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ ।’

रातो माटो एक बोरा (४० किलो) घर पुर्याउनसके आफ्नो घर पोतेर एक–दुई हजार नगद पाइने यी महिलाको सपना छ । सोह्र श्राद्ध (पितृपक्ष) सकिनासाथ दसैँ सुरु भइहाल्ने हुँदा अहिले घरका परिवारजनको समेत सहयोग लिएर गरिब बस्तीका महिला माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्त छन् ।

‘हेर्नोस् न, दसैँ आई त हाल्यो, अहिले अलिकति मेहनेत गरे त दुई-चार पैसाको मुख देख्न पाइने हो नि,’ आफ्नै बस्ती नजिकको रातु नदीको डिलमा कमेरे माटो खोस्रिँदै गर्दा भेटिएकी भङ्गाहा ४ रामनगरकी रसिया चौधरीले भनिन्, ‘कमेरे र पहेंलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५-१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ ।’

मधेसका खासगरी थारु बस्तीमा अहिले माटो सङ्ग्रहको होड छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् ।

दसैँको मुखमा थारु महिलाको साथी सङ्गतले अन्य जाति समुदायका गरिब महिला पनि अहिले माटो सङ्ग्रहमा लागेका छन् । दसैँको मुखमा माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र घरमा बालबच्चाको खानपिनको रहर पुर्याउन सहयोग पुग्ने भङ्गाहा ४ कै पलार बस्तीकी सियनकीदेवी सर्दार बताउँछन् ।

मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दसैँ अघि घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिला दुई-चार रुपैयाँ आर्जन गर्न अहिले माटो सङ्ग्रहमा लागेका छन् ।

माटो आफूहरूका लागि दसैँ खर्चको नगद जोहोको अवसर बनेको यस काममा लागेका महिला बताउँछन् ।

प्रतिक्रिया