शनिबार, वैशाख ८, २०८१

सिट बाँडफाँटमा गठबन्धनभित्र कांग्रेसको नयाँ प्रस्ताव

कांग्रेसको प्रस्ताव : मिल्ने ठाँउमा मिल्यौं, नमिल्ने ठाँउमा एक्ला–एक्ला लड्यौं, माओवादी र एकीकृत समाजवादीको असहमति

शितल शर्मा २०७९ असोज ७ गते १२:०३

काठमाडौं । सत्तासिन दलहरुले आगामी मंसिर ४ गतेको प्रतिनिधीसभा तथा प्रदेश सभा चुनावमा चुनावी तालमेल गर्ने निर्णय गरेपनि सिट बाँडफाँट अझै मिलाउन सकेका छैनन । काग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले अनेकौं चरणमा सिट बाँडफाँट मिलाउन छलफल गरेपनि निकास निस्कन नसकेपछि अनेक विकल्पमा दलहरुका वीचमा छलफल जारी छ ।

गठबन्धन दलको आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक छ । विहान साँढे ७ बजे नै बैठक बस्ने भनेपनि नेताहरुको ब्यवस्तताका कारण बैठक दिउँसोलाई सारिएको छ । बिहिबार पनि दुई चरणमा सत्ता गठबन्धन दलको बैठक बसेको थियो ।

तर प्रतिनिधीसभा तर्फको १६५ सिटमा दलहरुका आ आफ्नै दावी रहेका कारण सिट बाँडफाँट मिल्न सकेको छैन । बिहिबार पनि दलहरु आ आफनो अडानमा रहेपनि गठबन्धन बैठकमा कांग्रेसले नयाँ प्रस्ताव वैठकमा राखेको थियो । यधपी, कांग्रेसको त्यस्तो प्रस्तावमा गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले असहमति जनाएपछि कांग्रेस उत्तिनैखेर आफनो प्रस्तावबाट पछि हटेको बैठकमा सहभागी एक नेताले मेरोन्यूजलाई जानकारी दिए ।


कांग्रेसले गठबन्धन दलभित्र कार्यदलले जे जति सिटमा भागवन्डा टुग्गे लगाएको छ, ति क्षेत्रहरुमा गठबन्धन गरौं र अन्य नमिलेका र मिलाउनै नसकेका निर्वाचन क्षेत्रहरुमा मित्रवत प्रतिस्पर्धा गरौं भन्ने प्रस्ताव बिहिबारको गठबन्धन बैठकमा राखेको सहभागी एक नेताले बताए ।


‘गठबन्धनमा कांग्रेसको बिहिबारको प्रस्ताव अलिक भिन्न थियो, मिल्दै नमिल्ने हो भने मिलेका ठाँउमा तालमेल गरौं, नमिलेका ठाँउमा एक्लाएक्लै मित्रवत प्रतिस्पर्धा गरौं भन्ने कांग्रेसका साथीहरुले बिहिबारको बैठकमा प्रस्ताव राख्नुभयो,’ गठबन्धनका ति नेताले मेरोन्यूजसँग भने,–‘तर माओवादी अध्यक्ष प्रचण्डले उत्तिनखेरै त्यसमा असहमति जनाएपछि कांग्रेस आफ्नै प्रस्तावबाट पछि हटेको थियो ।’


गठबन्धन दलहरुका वीचमा अहिलेसम्म करिव १ सय १५ देखि २० सिटमा मात्र भागवन्डा मिल्ने दिशामा छ । अन्य वाँकी निर्वाचन क्षेत्रमध्ये कतिपयमा दुई पक्ष र कतिपयमा त्रिपक्षिय दावी छ । खासगरी मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा सिट वाँडफाँट मिलाउन दलहरुलाई हम्मेहम्मे परिरहेको छ ।

कांग्रेसले ९० सिट दावी गरिरहेको छ । माओवादी केन्द्रले ५०, एकीकृत समाजवादी, जनता समाजवादीले पनि २५ भन्दा बढी सिटमा दावी छोडेको छैन । सोहीकारण पनि सिट बाँडफाँट मिलाउन गठबन्धन दलहरुलाई हम्मेहम्मे परेको हो । गत साउन २० देखि दलहरुले सिट बाँडफाँट मिलाउन प्रयास जारी राखेका छन् ।

कांग्रेसले मिलेका स्थानमा मिलौं, नमिलेकोमा एक्लाएक्लै प्रतिस्पर्धा गरौं भनी राखेको प्रस्तावमा प्रचण्डको असहमति पछि कांग्रेसले लगत्तै फेरि प्रचण्ड बिच्किन सक्छन् भन्ने भयले सवैं मिलाएर नै जाऔं भन्ने प्रस्ताव फेरि गरेको ति नेताले बताए ।


‘गठबन्धन गर्दा प्रतिनिधीसभाका १६५ र प्रदेशसभाका ३३० नै निर्वाचन क्षेत्रमा हुनुपर्छ, नहुाादा कँही पनि हुँदैन । कुनै क्षेत्रमा मिल्ने, कुनैमा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने कुरा स्वीकार्य हुन्न,’ प्रचण्डले कांग्रेसको प्रस्तावपछि भनेका थिए ।


त्यसपछि नेताहरु शुक्रवार सिट बाँडफाँटको फाइनल टच गर्ने भन्दै उठेका थिए । त्यसपछि गठबन्धनको बैठक बसेको छैन । दिउँसो गठबन्धनको बैठकमा यस विष्यामा थप छलफल हुने नेताहरुले बताएका छन् । माओवादीले शनिबारसम्ममा सवै विषय टुग्गो लगाउन कांग्रेसलाई भनेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया