बुधबार, वैशाख १२, २०८१

कार्य सम्पादन कमजोर भएका प्रजिअको सरुवा तयारी

मेरोन्यूज २०७९ असोज ६ गते २०:४७


काठमाडौँ । गृह मन्त्रालयले कार्यसम्पादन कमजोर भएका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तनको तयारी गरेको छ ।
मन्त्रालयले आन्तरिक सर्वेक्षण गरेर कार्य सम्पादन कमजोर रहेका बाँके, पर्सा, बारा, सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलाई परिवर्तन गर्ने तयारी गरेको हो ।
बाँकेमा सूर्यबहादुर केसी, बारामा कृष्णबहादुर कटुवाल, पर्सामा उमेश ढकाल, सुनसरीमा इन्द्रदेव यादव, मोरङमा काशीराज दाहाल र झापामा छविलाल रिजाल प्रमुख जिल्ला अधिकारी छन् ।
मन्त्रालयले केही दिन अगाडि काठमाडौँ, ललितपुर, कास्की, उदयपुर, सप्तरी, जुम्ला, दैलेख र संखुवासभाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको थियो । त्यसका केही अवधि पुगेका र कही कार्य सम्पादन कमजोर भएका थिए ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय गर्दै तयारी अगाडि बढाएको छ । निर्वाचन स्वच्छ निश्पक्ष र धाधलीरहित रुपमा सम्पन्न गर्न कार्य सम्पादनको मुल्यांकन गरेको थियो । त्यसमा ६ जिल्लाका प्रजिअहरुको कार्य सम्पादन कमजोर देखिएको हो ।
उनीहरुलाई आचारसंहिता लाग्नु अघि नै सरुवा गर्ने तयारीमा मन्त्रालय लागेको छ ।

प्रतिक्रिया