बिहीबार, चैत १५, २०८०

चिनियाँ नेता ली चान्सुको नेपाल भ्रमण कसरी बित्यो ?

मेरोन्यूज २०७९ भदौ ३० गते १६:५०

काठमाडौं । नेपालको चार दिने भ्रमण सम्पन्न गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु बिहीबार स्वदेश फर्किएका छन् । गत सोमबार अपरान्ह काठमाडौं आइपुगेका उनी बिहीबार बिहान स्वदेश फर्किएका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल आएका चान्सुले काठमाडौंको बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

यसैगरी उनले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । 

चान्सुको नेपाल भ्रमणका बारेमा बिहीबार संसद सचिवालयले विज्ञप्ति जारी गरेको छ । चान्सु स्वदेश फर्किएपछि सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्ति जारी गरेका हुन् । 

चार दिन नेपाल रहँदा चान्सुले कहाँ र कहिले कसलाई भेटे भन्नेबारे जानकारी दिएको सचिवालयको विज्ञप्ति :

Advertisement

संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आउनु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्सु भ्रमण पूरा गरी आज फर्कनु भएको छ । अध्यक्ष ली चान्सुलाई सम्माननीय सभामुखले आज विहान ८ः५० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हादिकतापूर्वक बिदाइ गर्नुभयो । 
महामहिम अध्यक्ष ली चान्सु यही भदौ २७ गते अपरान्ह ३ः३० बजे नेपाल भ्रमणमा आउनु भएको थियो । अध्यक्ष ली चान्सुलाई सम्माननीय सभामुखले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नु भएको थियो। नेपाल भ्रमणको पहिलो दिन सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र महामहिम अध्यक्ष ली चान्सुुबीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेटवार्ता भएको थियो । शिष्टाचार भेटपछि संसद भवनको लोत्से हलमा सम्माननीय सभामुख र महामहिम अध्यक्षले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई पक्षीय वार्ता गर्नु भएको थियो । 

सो वार्ता पछि नेपालको संघीय संसद, प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकनेस । नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो समझदारी पत्रमा संघीय संसदको नेतृत्व सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्सुले हस्ताक्षर गर्नु भएको छ । 
भ्रमणको पहिलो दिन सम्माननीय सभामुखले महामहिम ली चान्सु र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ’स्टेट डिनर’ आयोजना गर्नु भएको थियो। भ्रमणको दोस्रो दिन भदौ २८ गते विहान अध्यक्ष लीले संघीय संसद भवनमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभयो । 

सोही दिन उहाँले संसदको प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नु भएको थियो । त्यसपछि संसद भवनमै अध्यक्ष लीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्न भयो । भ्रमणको दोस्रो दिन अध्यक्ष लीले दिउँसो परराष्ट्रमन्त्री डा. नारायणसँग होटल सोल्टीमा भेटवार्ता गर्नु भएको थियो । 

सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा र अध्यक्ष लीबीच भदौ २८ गते अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो। भ्रमणको तेस्रो दिन विहान अध्यक्ष लीले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गर्नु भएको थियो । सोही दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्सु चार दिने भ्रमण पूरा गरी भदौ ३० गते विहान फर्कनु भएको हो । छिमेकी चीनबाट भएको यस उच्चस्तरीय भ्रमणका क्रममा बनेको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारीले दुबै देशबीचको सम्बन्धलाई थप उचाइमा पुयाएको छ भने संसदीय इतिहासमा नयाँ आयाम थप गरेको छ ।

प्रवक्ता
डा. रोजनाथ पाण्डे
मितिः २०७९ भाद्र ३० गते

 

प्रतिक्रिया