बिहीबार, वैशाख १३, २०८१

नेपालकै प्राकृतिक चिकित्सालय, जहाँ उपचार गर्न आउँछन् विदेशीहरू

नरेन्द्र रौले २०७९ भदौ २५ गते १८:३४

नवलपुर, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय देशकै नमुना उपचार केन्द्र हो । बिना औषधि बिरामीको उपचार गरिने यस चिकित्सालयको विधि अन्यभन्दा पूरै फरक छ । औषधिको प्रयोग नगरेरै बिरामीलाई निको पार्ने प्रयास गरिरहेको यो चिकित्सालयमा नेपालभित्र मात्र होइन देशबाहिरका बिरामी पनि उपचारका लागि आउने गर्छन् ।

१० बिघाहा क्षेत्रफलमा फैलिएको चिकित्सालय बिरामीको उपचार गर्ने थलो मात्र होइन निरोगीका स्वस्थ कसरी रहने भन्नेबारे सिकाइको उपयुक्त थलो बनेको छ । यसै सेरोफेरोमा प्राकृतिक सामुदायिक प्राकृतिक चिकित्सालयमा बिगत दश वर्षदेखि कार्यरत निर्देशक डा. विनोद पौडेलसँग मेरोन्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

सामुदायिक प्राकृतिक चिकित्सालयमा तपाईं जोडिनु भएको १० वर्ष पुग्यो । यो एक दशकलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?

सुरुमा म चिकित्सकका रुपमा यहाँ प्रबेश गरें । त्यसपछि सहायक निर्देशक हुँदै अहिले निर्देशकको जिम्मेवारी सम्हालिरहेको छु । सुरुमा काम गर्दाको अवस्था एकदमै चुनौतिपूर्ण थियो । आम मानिसहरुलाई विश्वास दिलाउनु गार्‍हो थियो । हाम्रो दस वर्षको अनुभब सन्तोषजनक रह्यो । कोभिड १९ को समयमा यहा“ ७ सय ८७ जनालाई राखेर उपचार गरियो । चिकित्सालय बाहिर गएर झण्डै १ हजार व्यक्तिको उपचार गरियो । के कारणले रोग लाग्छ ? स्वस्थकर जीवनशैली कसरी जिउने ? यस्ता विषयमा बिभिन्न जिल्ला पुगेर प्रशिक्षण कार्यक्रम चलायौं । नेपाल बाहिर युरोपका मुलुकका नेपाली र विदेसीलाई पनि यस्तो कार्यक्रम चलाईयो । एक देखी तीन दिनसम्मका यस्ता कार्यक्रम निकै प्रभाबकारी भएको हामीले महशुष गर्‍यौं ।

सुरु सुरुमा हाम्रो चिकित्सालयमा आउने बिरामीहरुलाई आफूलाई लागेको रोग निको होला भन्ने विश्वास कम हुन्थ्यो । जब बिरामीहरु निको भएर जानुभयो, आफै यहाँको बारेमा प्रचार गर्नुभयो ।

यस प्राकृतिक चिकित्सालयमा कहाँ–कहाँदेखि बिरामी उपचारका लागि आउने गर्छन् ?

नेपालभित्र मात्र होइन विदेशबाट पनि उपचारका लागि यहाँ आउने गर्नुहुन्छ । अहिलेसम्म भारतीय, बेलायति, कोरियन, नर्बे, जापनिज, अस्टे«लियन नागरिकहरु उपचारका लागि यहाँ आईसकेका छन् । एक पटक उपचार गरेर गएका बिरामीहरुले आफैले यहाँको बारेमा प्रचार गर्नुहुन्छ । डाक्टरहरु स्वंय पनि उपचारका लागि आउने गर्नुहुन्छ ।

भारतका मेदान्त हस्पिटलमा निको नभएको केस यहाँ आएर ठिक भएका छन् । काठमाडौँ लगायत अन्य बिभिन्न हस्टिपल धाएर निको नभएका थुप्रै बिरामीहरु यहाँ आएपछि निको भएर फर्किनु भएको छ । पैसा नहुने नेपालीहरुदेखी मन्त्री, डाक्टर लगायत विशिष्ट व्यक्तिहरु उपचारका लागि यहाँ आउनु हुन्छ ।

औषधिबिना पनि उपचार सम्भव छ ? यहाँ आउने बिरामीहरुलाई कसरी उपचार गरिन्छ ?

हो, औषधि बिना पनि उपचार सम्भब छ । हामीले विशेषगरी तौल नियन्त्रण गर्ने खानपानमा सुधार गर्ने, जीवनशैलीमा सुधार गर्ने कुरामा जोड दिन्छौं । खाना नै हाम्रो औषधि हो भन्ने मान्यतालाई हामीले स्वीकारेका छौं । प्राकृतिक तरीकाबाट गरिने उपचार प्रभाबकारी हुन्छ भन्ने कुरालाई हामीले स्थापित गर्न खोजेका छौं । हामी यहा आउनेहरुलाई मेडिसिन घटाउन, शारीरिक अभ्यासमा जोड दिन सल्लाह दिन्छौं । शारीरिक अभ्यासले ह्याप्पी हर्मोनहरु बढाउँछ । धेरै रोगबाट बचाउँछ ।

यो औषधिविहीन उपचार पद्धति हो । हाम्रो खराब जीवनशैलीका कारण शरीरमा रोग लाग्छ । त्योसँगै आरामको कमी, शारीरिक अभ्यासको कमी, गलत खानपान, तनावयुक्त जीवन लगायत कारणले मानिस रोगी हुन्छ । सामुदायिक प्राकृतिक चिकित्सालयमा प्रायः नसर्ने रोगहरुको उपचार हुन्छ । बिशेषगरी हामी खानपान र जीवनशैली सुधारमै जोड दिन्छौं ।

विश्व स्वास्थ्य संगठनको डाटा हेर्दा समेत कोरोना संक्रमणको कारणले तिन वर्षको अन्तरालमा ६५ लाख मानिसको मृत्यु भएको देखिन्छ भने मुटु रोगको कारणले प्रत्येक वर्ष ९० लाख मानिसको मृत्यु भइरहेको छ त्यस्तै क्यान्सरको कारणले ८० लाख भन्दा बढी मानिसहरूले वर्षेनी ज्यान गुमाइरहेका छन् । यो डाटालाई हेर्दा आजको समयमा जीवनशैली परिवर्तन गर्नु कति आवश्यक छ भन्ने कुरा प्रष्ट हुन्छ । मृत्युका प्रमुख कारणहरु बनिरहेका मुटु रोग क्यान्सर, स्ट्रोक जस्ता रोगहरुको मुख्य कारण खराब जीवनशैली हो ।

यस चिकित्सालयमा बढी कुन रोगका बिरामीहरु आउने गर्छन् ?

नेपालभित्र र विदेशबाट बिभिन्न रोगले ग्रसित बिरामीहरु हाम्रो चिकित्सालयमा आउने गर्नुहुन्छ । त्यसमा पनि नशा च्यापिने, हात खुट्टा झम्झमाउने, छाला, पेट, माइग्रेन सम्बन्धि, मानसिक रोग, अनिद्रा, डिप्रेसन, एन्जाइटि, मुटु रोगी र हाड जोर्नी सम्बन्धिका रोगीहरु बढी आउने गर्नु हुन्छ ।

खानपान र जीवनशैली सुधारबारे विशेष जोड दिनु भयो । मानिसहरुले कस्तो खालको जीवनशैली अपनाउन जरुरी छ ?

मुख्य कुरा स्वस्थकर खानपान गर्नुप¥यो । प्रशस्त मात्रामा शारिरीक अध्यास गर्नुपर्छ, तनाबको सही व्यवस्थापन, आबश्यक आराम पनि त्यत्तिकै जरुरी छ । यहाँ एक पटक आएको व्यक्तिलाई सकभर अन्यत्र नजाउँ लाग्छ । यहाँ बसौंबसौं लाग्छ । सामुदायिक प्राकृतिक चिकित्सालयमा शरीरको सर्भिसिङ नै गरिन्छ ।

मानिसलाई आरामको अनुभब हुन्छ । अहिलेसम्म ३५ देखी ४० हजार बढीले सेवा लिईसक्नु भएको छ । अहिलेका रोगहरु ८० प्रतिशत साइकोसोमेटिक हुन्छन अर्थात शारीरिक र मानसिक दुवै कारणले लाग्ने गर्दछ यस्ता रोगहरुमा शारीरिक रूपमा मात्र उपचार गरेर पुग्दैन मानसिक स्वास्थ्यलाई जोड्नुपर्ने हुन्छ ।

सामुदायिक प्राकृतिक चिकित्सालय धेरैको रोजाईमा पर्ने गर्छ । कैयौं मानिसहरुको मन जितेको छ । यहाँको मुख्य विशेषता के हो ?

पहिलो कुरा अत्यन्तै न्युन आय श्रोत भएका नागरिकहरुले पनि यहाँ उपचार गराउन सक्नु हुन्छ । दोस्रो यहाँ थालमा दिने खाना नै औषधि हो । १७/१८ थरी औषधि खानेहरु यहाँ औषधि खान छोडिदिन्छन् । यहाँ औषधिको प्रयोग हुँदैन । हाम्राेँ चिकित्सालय जीवनशैलीबारे सिकाउने स्कुल हो । सबै मानिस आएर सिकेर जाने ठाउ हो । बिरामी त आउनै पर्ने ठाउ हो, निरोगीहरुले पनि एक पटक पुग्नै पर्ने ठाउ हो । कसरी रोग लाग्न नदिने भन्नेबारे यहाँ सिकाउँछौं ।

सरकारले हामीलाई २०६८ मा १० बिघाहा जमिन दिएको छ । यो ठूलो क्षेत्रफलमा हामीले गाई पालेका छौं । यहाँ बस्ने सबैले यहिंको दुध, दहि, घ्यु खान्छौं । तरकारीहरु समेत आफ्नै करेसाबारीमा उत्पादन गरेका छौं । २५ वटा मौरी घार छन् । बिरामी हिंड्ने एक किलोमिटर ट्रयाक छ । यहाँको वातावरणमा आएपछि मानिस त्यसै आनन्दको अनुभुति गर्छ ।

थप कसरी अगाडी बढ्ने योजना बनाउनु भएको छ ?

यो कुर्सीमा बसेर म जे गरिरहेको छु, पूर्णतया ठिक गरिरहेको छु जस्तो लागिरहेको छैन । यहाँ प्यारालाईसिस भएका धेरै बिरामीहरु आउँछन् । किड्नी फेल भएका आउँछन् । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिन के गर्ने त्यसबारेमा सोच्न, तयारी गर्न जरुरी छ । सरकारले जनचेतनामुलक कार्यक्रममा खर्च गर्न जरुरी छ । प्राविधिकहरु गाउँ–गाउँमा गएर सिकाउनु पर्छ, जनचेतनामुलक कार्यक्रमलाई व्यापक गर्नुपर्छ ।

राम्रो सेवा सुविधा दिएर राम्रो र प्रभाबकारी उपचार दिने योजना छ । उच्च वर्गबाट राम्रो पैसा लिएर गरिब, निमुखाहरुलाई सकभर निःशुल्क, नभए न्युन शुल्कमा उपचार गर्ने योजना छ । प्राकृतिक चिकित्साका आधुनिक उपचार प्रविधी समेत प्रयोगमा ल्याउने छौं । हाल बिरामी राख्ने २ सय बेडमाथि क्षमता भएपनि ८० देखी १ सय जना बिरामी राखिरहेका छौं । अब यसको क्षमता बढाउने लक्ष्य राखेका छौं । यस्तै नेपाल संस्कृत विश्वविद्यालय दाङसँग समन्वय गरेर मेडिकल कलेज सुरु गर्ने तयारी पनि भईरहेको छ । यो अन्यत्र भन्दा एकदमै सस्तो हुनेछ ।

प्रतिक्रिया