सोमबार, जेठ ७, २०८१

नरेन्द्र मोदीको आडमा गौतम अडानीले यसरी कब्जा गरे सरकारी सम्पत्ति ?

रमेश कुमार २०७९ भदौ १९ गते १९:५४

आम नागरिकले तिरेको करबाट सिर्जना गरिएको ंरचना र संस्था कसरी एकाध व्यक्तिको हितका लागि प्रयोग भइरहेको छ भन्ने कुरा थाहा पाउन भारतका गौतम अडानीलाई हेरे हुन्छ । भारतमा हुर्कदो आसेपासे पूँजीवादको जगमा सरकारी सम्पत्तिमा चरम निजीकरण भइरहेको छ ।

Advertisement

त्यसैको बलमा मंगलबार मात्रै अडानी संसारका तेस्रो धनीका रुपमा स्थापित भएका छन् । नरेन्द्र मोदी र भारतीय जनता पार्टीको आडमा अडानीले राज्यका धेरै साधन र स्रोत कब्जा गरेका छन् ।

अडानीको कम्पनी देशकै सबैभन्दा ठूलो निजी विमानस्थल सञ्चालन गर्ने कम्पनीका रुपमा समेत स्थापित छ । अनुकूल प्रशासनिक व्यवस्था र राजनीतिक वातावरणले भारतको पहिलो र संसारकै तेस्रो धनी व्यक्ति गौतम अडानीले देशको सबैभन्दा ठूलो निजी विमानस्थल सञ्चालक बन्ने अवसर पाएका छन् । जबकि, उनको समूहसँग यस क्षेत्रमा अनुभवसमेत थिएन ।

लामो कानुनी विवादहरू (जसमा दक्षिण अफ्रिका, मौरिसस, अबुधाबी, क्यानडाका कम्पनीहरू समावेश थिए) र सरकारी एजेन्सीहरूको छापामारीपछि जीभीके समूहले केही वर्ष पहिले अडानी समूहसँग सहयोग गर्ने निर्णय गरेको थियो । यसको पछाडि दबाब दिएर राज्यका स्रोत तथा साधन कब्जा गर्ने नीतिले काम गरेको थियो ।

यस सहयोगको एक भागको रूपमा, जीभीकेले मुम्बईका दुई एयरपोर्टको नियन्त्रण अदानी समूहलाई हस्तान्तरण गरेको थियो । यी विमानस्थलमा न्यू मुम्बईमा निर्माण भइरहेको नयाँ विमानस्थल पनि समावेश छ । हैदराबादमा आधारित जीभीके समूह जीभीके रेड्डीको नेतृत्वमा छ ।

सो समूहले मुम्बईमा भारतको दोस्रो ठूलो एयरपोर्ट पनि सञ्चालन गरेको थियो । जबरजस्ती सो विमानस्थलको सञ्चालन अधिकारसमेत अडानी समूहले लियो । धनी व्यक्ति अडानीले प्रतिनिधित्व गरेको अडानी समूहले भारतको पश्चिम र पूर्वी तटमा बन्दरगाह नियन्त्रण गर्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँग अडानीको निकटता कसैबाट लुकेको छैन । अब अडानी समूह हैदरावादस्थित जीएमआर समूहलाई नियन्त्रणमा लिएर भारतको सबैभन्दा ठूलो एयरपोर्ट अपरेटर बन्न तयार छ । किनकी जीएमआर समूह क्रमशः ओरालो यात्रामा छ । सो समूहले हाल भारतको सबैभन्दा ठूलो एयरपोर्ट दिल्ली र हैदरावाद एयरपोर्ट सञ्चालन गर्दछ । अडानीको अबको बाटो कति सोझो हुन्छ ।

अडानी समूहसँग विमानस्थल सञ्चालन र व्यवस्थापनको कुनै अनुभव थिएन । पछिल्ला दुई वर्षमा, यो अहमदाबाद–आधारित समूह महत्वपूर्ण पूर्वाधार क्षेत्रमा देशको सबैभन्दा ठूलो खेलाडी बनेको छ ।

यो सबै कसरी भयो भन्ने कथा निकै रोचक छ । कानुनी झगडाको यो कथाले बताउँछ कि प्रशासनले कसरी आसेपासे पूँजीवादको उदय गराउन प्रयोग गरिन्छ भन्ने पनि स्पष्ट पारिदिएको छ ।

सो कार्यमा कानूनको शासन लागू गर्ने निकायहरूले धेरै सहयोग गर्छन् । यी एजेन्सीहरूले यी कुलीन पुँजीपतिहरू/आसेपासे पूँजीपतिविरुद्धको प्रतिस्पर्धालाई क्रुरता पूर्वक कसरी कुचल्छन् भन्ने पनि देखाउँछ ।

कानुनी विवाद, सरकारको गलत नीति र सार्वजनिक क्षेत्रमा देखिएको उल्झनमा परेको एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई)को कर्मचारी युनियनलाई अडानी समूहले नै उचाल्यो । सोही कारण अडानी समूहले भारतका ८ वटा रणनीतिक महत्वका विमानस्थल सञ्चालनको जिम्मा लियो ।

मुम्बई र न्यू मुम्बई विमानस्थलका साथ साथै सो समूहले लखनउ (उत्तर प्रदेश), जयपुर (राजस्थान), गुवाहाटी (असम), अहमदाबाद (गुजरात), तिरुवनन्तपुरम (केरला) र मंगलोर (कर्नाटक) विमानस्थल समेत सञ्चालन गरिरहेको छ । ती विमानस्थलहरू एएआईले बनाएका हुन् ।

नरेन्द्र मोदी सरकार अर्थतन्त्रमा सार्वजनिक स्वामित्वका क्षेत्रहरूलाई निजीकरण गर्न हतारमा देखिन्छ । यस अवधिमा देशको अर्थतन्त्र निरन्तर संकुचन भइरहेको समयमा एउटा महत्वपूर्ण पूर्वाधार क्षेत्रमा विशेष व्यापारी समूहले प्रभुत्व जमाउने अवसर पाएको छ । अहिले सबैभन्दा बढी मारमा परेको क्षेत्रमध्ये हवाई क्षेत्र पनि एक हो ।

त्यसबेला अडानी समूहले आफूलाई छुट्याइएको ६ एयरपोर्टमध्ये ३ वटा नियन्त्रणमा लिएको थियो । अडानी समूहले महामारीको समयमा जीभीके समूहबाट मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेडको बहुमत हिस्सेदारी पनि सफलतापूर्वक अधिग्रहण गरेको थियो । अडानी समूहको यो स्थितिमा पुग्ने कथा झण्डै ६ वर्ष अघिदेखि शुरु हुन्छ ।

धेरै छिटो प्रगति

अप्रिल २०१८ मा प्रधानमन्त्रीको कार्यालयले अर्थ मन्त्रालयको आर्थिक मामिला विभाग र नीति आयोगलाई एएआईको नियन्त्रणबाट ६ एयरपोर्ट बाहिर निकालेर निजी क्षेत्रलाई हस्तान्तरण गर्ने संयन्त्र बनाउन निर्देशन दियो । त्यसका लागि धेरै सुविधाहरू थपिए ।

सञ्चालन गर्ने अधिकार भएका निजी खेलाडीहरूले विमानस्थल नजिकैको जग्गामा घरजग्गा विकास गरेर पैसा कमाउन सक्थे । दुई ठूला एयरपोर्टहरू, दिल्ली र मुम्बईमा निजीकरणको लागि राजस्व बाँडफाँड मोडेल अगाडि सारियो ।

निजी खेलाडीहरूले दिल्ली र मुम्बईमा क्रमशः ४५.९९ प्रतिशत र ३८.७ प्रतिशत राजस्व साझेदारी गर्नुपर्छ । तर भर्खरै निजीकरण भएका ६ विमानस्थलमा सरकारले प्रति यात्रु शुल्कको नयाँ राजस्व मोडल ल्यायो । यसका साथै उनीहरुको लिज अवधि पनि ३० वर्षबाट बढाएर ५० वर्ष पुर्याएको छ । यसअघि दिल्ली र मुम्बई एयरपोर्ट ३० वर्षको भाडामा दिइएको थियो ।

एक दशक पहिले २००८ मा जब दिल्ली र मुम्बई एयरपोर्टहरू निजीकरण भइरहेको थियो । सरकारले एएआई र निजी अपरेटरहरू बीचको स्वार्थको द्वन्द्वबाट बच्न एयरपोर्ट इकोनोमिक रेगुलेटरी अथोरिटी नामक एक स्वतन्त्र वैधानिक निकाय सिर्जना गरेको थियो ।

सो अथोरेटीको काम ठूला एयरपोर्टहरूको लागि शुल्क, खर्च, शुल्क र अन्य वस्तुहरू सेट गर्नु थियो । ठूलो विमानस्थल त्यो हो जहाँ वार्षिक १५ लाख वा सोभन्दा बढी यात्रुको आवतजावत हुन्छ । सन् २०१८ मा संसदको मनसुन सत्रमा, मोदी सरकारले अथोरिटीको अधिनियम, २००८ मा परिवर्तन गर्ने प्रयास गर्यो । यसका लागि विधेयक ल्याइयो ।

विधेयकमा हवाई अड्डा विकास शुल्क र शुल्क निर्धारण गर्ने एईआरएको अधिकार फिर्ता लिन प्रस्ताव गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, सरकारले ठूलो विमानस्थलको परिभाषा परिवर्तन गर्न खोजेको छ । यसका लागि वार्षिक १५ लाखबाट बढाएर ३५ लाख पुर्याउने प्रस्ताव विधेयकमा उल्लेख गरियो । तर सरकारले विधेयक पारित गराउन सकेन ।

यसका बाबजुद पनि सरकारले गत डिसेम्बर १४ मा ६ वटा विमानस्थलको स्तरोन्नति र सञ्चालनका लागि निजी क्षेत्रबाट बोलपत्र आह्वान गरेको थियो । यी ६ एयरपोर्टहरूमा अहमदाबाद, लखनऊ, जयपुर, गुवाहाटी, तिरुवनन्तपुरम र मङ्गलोर पर्छन् ।

शुल्क निर्धारण गर्ने एएआईको क्षमतालाई प्रतिबन्ध गर्न, निजी खेलाडीलाई बोलपत्रहरूमा प्रति यात्री शुल्क संकेत गर्न भनियो । यी ६ विमानस्थलको निजीकरणको टेन्डर निकै छिटो पारित भएको थियो । फेब्रुअरी २०१९ मा, सरकारले भन्यो कि सबै छ वटा बोलपत्र अडानी समूहले प्राप्त गरेको थियो ।

जबकि समूहसँग एयरपोर्ट सञ्चालनको क्षेत्रमा कहिल्यै अनुभव थिएन । त्यसबेला भारतीय मिडियामा मार्च, २०१९ मा विस्तृत विवरणहितको समाचार सामग्री प्रकाशित गरे । जसमा सरकारले अडानी समूहलाई फाइदा पुर्याउन कसरी बोलपत्रहरूको नियमहरू धाँधली गर्यो । कसरी सरकारी आयोग तथा निती आयोगलगायत अधिकारीहरूको महत्वपूर्ण सुझावलाई बेवास्ता गरियो भन्ने उल्लेख थियो ।

त्यस वर्षको जुलाई ४ मा भएको केन्द्रीय मन्त्रिपरिषद्को बैठकमा मोदी सरकारले लिलामीलाई अनुमोदन गर्यो । ६ मध्ये ३ वटा विमानस्थल (अहमदाबाद, लखनऊ र मङ्गलोर ) को सञ्चालन ५० वर्षका लागि अडानी समूहलाई हस्तान्तरण गरेको थियो ।
एक महिनापछि २ अगस्टमा संसदले एउटा विधेयक पारित गर्यो, जसको माध्यमबाट अथोरिटीको शक्तिहरू परिमार्जन गरियो ।

केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीप पुरीले भने कि एएआईसँग भएका ३३ एयरपोर्ट मध्ये १६ वटा अथोरिटीमार्फत् सञ्चालन हुनेछन् । जबकि सरकारले बाँकी १७ एयरपोर्ट मात्रै सञ्चालन गर्नेछ । नाफा कमाउने सबै विमानस्थललाई एराको कार्यक्षेत्रबाट बाहिर निकालेर नागरिक उड्डयन मन्त्रालय मातहत ल्याइयो ।

युपीए सरकारद्वारा विमानस्थलको निजीकरण

कांग्रेस नेतृत्वको यूपीए सरकारले दिल्ली र मुम्बई एयरपोर्ट निजी कम्पनीहरूलाई दिने निर्णय गरेपछि ठूलो विवाद भएको थियो । तत्कालीन नागरिक उड्डयन मन्त्री प्रफुल्ल पटेलले अविभाजित रिलायन्स समूहलाई फाइदा पुग्ने गरी लिलामीका सर्तहरू परिवर्तन गर्न खोजेको आरोप लगाइएको थियो ।

जनवरी २००६ मा, योजना आयोगका कर्मचारी गजेन्द्र हल्दियाको हस्तक्षेपले अनिल अम्बानीको नेतृत्वमा रहेको कम्पनीलाई फाइदा पुर्याउने प्रयास कसरी असफल भयो भनेर व्यापक प्रचार भएको थियो ।

अन्तत, जीएमआर समूहले दिल्ली एयरपोर्ट जित्यो । जीभीके समूहले मुम्बई एयरपोर्टको बोली पायो । त्यतिबेला एउटै समूहले दुवै विमानस्थल सञ्चालन गर्न नसक्ने निर्णय गरेको थियो भने एउटाको बोलपत्र कम थियो । तर अडानीलाई फाइदा पुग्ने गरी यो नीतिलाई पन्छाइयो ।

२ अप्रिल २००६ मा, जीभीके समूहले एएआई एयरपोर्ट कम्पनी अफ साउथ अफ्रिका र यसको साझेदार मोरिसस, बिड सर्भिस डिभिजन लिमिटेड (बिडवेस्ट) सँग एक कन्सोर्टियममा हस्ताक्षर गरेर मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेड गठन गर्यो ।
सो कम्पनीका जीभीकेको ३७ प्रतिशत सेयर स्वामित्व थियो । जबकी बीडवेस्टको २७ प्रतिशत बराबर थियो ।

यसमा एउटा दफा थपिएको छ । जस अनुसार यदि कुनै निजी साझेदारले कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो मतदान अधिकार वा इक्विटी शेयर हस्तान्तरण गर्न चाहन्छ भने, कन्सोर्टियमका अन्य सदस्यहरूलाई पहिलो अस्वीकारको अधिकार हुनेछ । पहिलो अस्वीका रुपमा सेयर खरिद गर्न प्रयोग गर्न सकिन्छ ।

२०११ मा बीडवेस्टले आफ्नो ५० प्रतिशत शेयर जीभीकेलाई बेच्यो । सोही वर्षको २६ जनवरीमा बिडवेस्टले कन्सोर्टियमका अन्य सदस्यहरूलाई कम्पनी छोड्न ३० दिनको सूचना दियो । यसको विरुद्धमा एक हजार २४८ करोड भारु बराबर माग गरिएको थियो ।

पाँच दिनपछि जनवरी ३१ मा इकोनोमिक टाइम्सले लेख्यो कि बिडवेस्टसँग आइएलमा १३.५ प्रतिशत सेयर किन्नको लागि अवस्थित क्रेता छ । कन्सोर्टियमका अन्य सदस्यहरूलाई दिइएको सूचनामा (पहिलो अस्वीकारको अधिकार) को प्रावधानसँग व्यवहार गर्ने भन्ने हो । बिजनेश स्ट्यान्डर्डको रिपोर्ट अनुसार, बिडवेस्टले सोही महिनामा अदानी समूहले आफ्नो प्रस्तावको साथ सम्पर्क गरेपछि आफ्नो सेयर किन्ने निर्णय गरेको थियो ।

फेब्रुअरी १९ मा जीभीकेले बिडवेस्टको अगाडि तर्क गर्यो कि दिइएको प्रस्ताव सूचना गलत र अवैध थियो । यो कानूनी प्रावधान अनुसार थिएन । तीन दिन पछि, फाइनान्सियल प्रेसले विवरण सार्वजनिक गर्यो कि अडानी समूहले अदानी प्रोपर्टीज मार्फत बिडवेस्ट र एसीएसएमा २३.५ प्रतिशत सेयर किन्न प्रस्ताव गरेको थियो ।

अडानीको प्रस्ताव अनुसार एमआईएएलको मूल्य करिब ९५०० करोड भारतीय रुपैयाँ अनुमान गरिएको थियो। त्यस दिन अडानी समूहको कम्पनीले एसीएसएसँग शेयर खरिद सम्झौता गरेको थियो । उही दिन जीभीकेले बम्बई स्टक एक्सचेन्जलाई जीभीके पावर एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेडको सहायक कम्पनी जीभीके एयरपोर्ट होल्डिङ लिमिटेडले एमआईएएलमा बिडवेस्टको १३.५ प्रतिशत सेयर ७७ रुपैयाँ प्रति शेयरमा खरिद गर्ने बताएको थियो । (एजेन्सीको सहयोगमा )

प्रतिक्रिया