शुक्रबार, वैशाख ७, २०८१

भारतमा बस दुर्घटना : चार नेपालीको मृत्यु, १४ घाइते (नामावालीसहित)

मेरोन्यूज २०७९ भदौ १८ गते १५:०६

काठमाडौँ । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् ।

नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्र गति आएको ट्रकले ठक्कर दिँदा घटना भएको हो ।

भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको र एक मृतकको सनाखत हुन सकेको छैन ।

उक्त दुर्घटनामा परेका बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाकी ३५ वर्षीया रीताकुमारी थारू, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुँका ४० वर्षीय हरिशरणको अवस्था जटिल रहेकाले उनीहरूलाई लखनउस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।

सल्यान घुइयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनील थारू, १६ वर्षीय विजय थारू, १८ वर्षीय हरि योगी र सन्तोष पनि घाइते भएकाले उनीहरुलाई बाराबङ्कीस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेको जनाइएको छ ।

प्रतिक्रिया