बिहीबार, वैशाख १३, २०८१

बुढीगण्डकी अब कम्पनी मोडेलमा, कम्पनी रजिष्टार कार्यालयमा दर्ता

मृग तृष्णा बनेको परियोजना कम्पनी मोडेलमा बनाउने गरी उर्जामन्त्रीले आइसव्रेक गरेकी छन्

मेरोन्यूज २०७९ भदौ १७ गते १६:०२
फाइल फोटो

काठमाडौँ । सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीबाटै बनाउने निर्णयसँगै आज औपचारिक रुपमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।

गत असार १४ गते मंगलबार सरकारले आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधरमा उर्जा मन्त्रालयले आयोजना अगाडि बढाउन औपचाकिर रुपमा कम्पनी दर्ताको काम सकेको हो । अब आयोजना ‘बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड’मार्फत अघि बढ्ने छ ।

गत चैत २४ मा मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको पहलमा मन्त्रालयले कम्पनी मोडलमा जाँदा लागत संरचना कस्तो हुने भन्नेबारे अर्थ र कानुन मन्त्रालयको राय मागेको थियो । त्यही आधारमा कम्पनीमा दर्ता भएको हो ।

ऊर्जा मन्त्रालयका अनुसार कम्पनीको अधिकृत पुँजी ६० अर्ब रुपैयाँ हुने छ । उक्त पुँजीलाई प्रतिसेयर एक सय रुपैयाँका दरले ६० करोड कित्ता सेयर जारी गरिने छ । कम्पनीको तत्काल जारी पुँजी २० अर्ब रुपैयाँ बराबर हुने छ । संस्थापक सेयर धनीहरूमा सबैभन्दा धेरै ४० प्रतिशत अर्थात् २४ करोड कित्ता सेयर ऊर्जा मन्त्रालयलाई छुट्याइने छ ।

त्यसैगरी, २५ प्रतिशत अर्थात् १५ करोड कित्ता अर्थ मन्त्रालयलाई, आठ करोड ४० लाख कित्ता अर्थात् १४ प्रतिशत नेपाल विद्युत् प्राधिकरणलाई र एक प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर विद्युत् उत्पादन कम्पनीलाई दिइने भएको हो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समान १० प्रतिशत् अर्थात ६-६ करोड कित्ता सेयर जारी गरिने छ । बुढीगण्डकी आयोजना बनाउन अहिले कूल लागत अनुमान करिब २२ अर्ब रुपैयाँ बराबर पुग्ने ठानिएको छ ।

उर्जामन्त्री भुसालले आफ्नो कार्यकालकै सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा यो आयोजनालाई लिएकी छन् । सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना अनेक कारणले काम हुन नसकेको बेला मन्त्री भुसालले आफ्नो कार्यकालमा स्वदेशी लगानीमा कम्पनी मोडेलमा बनाउने गरी आइसव्रेक गरेकी हुन् । मृग तृष्णा बनेको परियोजना अब अगाड बढ्ने छ ।

प्रतिक्रिया