शुक्रबार, चैत १६, २०८०

ग्यासमा सहुलियत दिए कालोबजारी बढ्छ, लक्षित वर्गले सुविधा पाउँदैनन् : व्यवसायी दुलाल

मेरोन्यूज २०७९ भदौ ११ गते १०:०२

आगामी असोज ८ गते ग्यास विक्रेता महासंघ नेपालको पाँचौ महाधिवेशन सम्पन्न हुँदै छ । काठमाडौँमा सम्पन्न हुने उक्त महाधिवेशनमा देशभरका ग्यास बिक्रेताको जमघट हुँदै छ । यस महाधिशेनले नयाँ नेतृत्व चुन्ने छ । लामो समयदेखि ग्यास व्यवसायमा सक्रिय विष्णु प्रसाद दुलाल वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यासी बनेका छन् ।

नेपाल ग्यासमा २२ वर्ष काम गरेका दुलालसँग यस क्षेत्रको लामो अनुभव छ । नेपाल ग्यासबाट स्वेच्छिक अवकाश लिएर ०६० सालदेखि आफ्नै कम्पनी नमूना ग्यास सप्लायर्स सञ्चालन गरिरहेका छन्, उनी । महासंघमा विभिन्न पदमा रहेर काम गरिसकेका उनी ग्यास व्यवसाय र यस क्षेत्रका समस्यालाई नजिकबाट नियालिरहेका व्यक्ति हुन् । महाधिवेशनको सेरोफेरोमा उनीसँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

ग्यास विक्रेता महासंघ नेपालको पाँचौ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिँदै हुनुहुन्छ । यहाँको उम्मेदवारी के का लागि ?

विगतमा महासंघले दिएको जिम्मेवारी मैले इमानदारितापूर्वक निभाएँ । मधेस प्रदेशको इञ्चार्ज पनि भएँ । यसअगाडि उपभोक्तालाई जनचेतना जगाउन हिँडेको मानिस हुँ । विभिन्न समस्यामा परेका जनतालाई सहयोग गर्ने, समस्या सुल्झाउने काम गरेँ । मलाई सक्रिय भएर काम गर्न मन छ ।

सबै प्रदेशमा हाम्रो संगठन विस्तार भइसकेको छ । प्रदेश ६ र ७ नम्बरमा मात्र बाँकी छ । महासंघमा मैले भूमिका पाउने हो भने, त्यो काम पूरा गर्छु । अर्को कुरा महाधिवेशनका बेला साथीहरू फूलमाला लगाउन जहाँ पनि भेला हुने अरु बेला बैठकमा नआउने समस्या छ । म त्यसमा पर्दिनँ । संगठनका लागि र जनताको सेवाका लागि सधै तयार हुने छु । त्यसैले मैले महासंघमा भूमिका खोजेको हो ।

Advertisement

विगतमा कुन–कुन पदमा रहेर काम गर्नु भयो ?

मैले ०६८ मा ग्यास विक्रेता संघ काठमाडौँ जिल्ला सचिव र ०७० मा महासचिव भएर काम गरेँ । यस्तै ०७१ मा ग्यास विक्रेता महासंघको केन्द्रीय सदस्य र ०७३ मा सचिव भएर काम गर्ने मौका मिल्यो । ०७४ पछि दुई वर्ष कार्यबाहक महासचिवका रुपमा जिम्मेवारी निभाएँ । २०७७ देखि उपाध्यक्षको भूमिकामा छु । मसहित महासंघमा पाँच जना उपाध्यक्ष छौँ ।

हाल ग्यास विक्रेता महासंघ नेपालले के कस्तो काम गर्दै आएको छ ?

खासगरी, यसले विक्रेताको पक्षमा काम गर्दै आएको छ । विक्रेतालाई कुनै खालको समस्या आइपर्दा सुल्झाउने, आम उपभोक्ताका लागि चेतनामूलक काम गर्ने, विक्रेताको कमिसनका लागि वकालत गर्ने, यस क्षेत्रमा हुने गरेका विकृती, बेथिती हटाउने जस्ता काम गर्दै आएको छ । यदि, विक्रेताको गल्ती छ भने हामी कारबाही पनि गर्छौं ।

ग्यास विक्रेताले मूल्य बढाएको, सहजै ग्यास उपलब्ध नगराएको आरोप लागिरहन्छ, यो भ्रमलाई कसरी चिर्नु हुन्छ ?

अहिले पनि नेपाल सरकारलाई प्रतिसिलिण्डर ४५१ रुपैयाँ घाटा छ । तैपनि, बेच्नु परेको छ । त्यसमा म सहमत छु । हामीले रहरले मूल्य बढाएका हैनौँ । भूकम्प, नाकाबन्दीका बेलामा जस्तो अहिले अभाव छैन । त्यो अभाव हुन नदिन हामीले डिलर प्रमाणीकरण हुनु पर्छ, र हरेक एक किलोमिटरको दुरीमा डिलर राखिनु पर्छ भन्ने वकालत गरिरहेका छौँ । त्यसो भएमा समस्या समाधान हुन्छ ।

ग्यासमा कालो बजारी हुने गरेका समाचार आइरहेकै छन् । यसलाई कसरी रोक्न सकिन्छ ?

नाकाबन्दी, भुँइचालोमा कालोबजारी भयो । यस्तै विकृति रोक्न हामीले डिलर प्रमाणीकरण चाहिन्छ भन्ने आवाज उठाएका हौँ । हरेक डिलरमा पुग्दा नयाँ र पुराना ग्यासको दर रेट् देखिने गरी लेखिएको हुनुपर्छ । जसले गर्दा उपभोक्ताले प्रष्ट रुपमा बुझ्न सकुन् । यदि, बढी मूल्य कसैले लिएमा तुरुन्त उजुरी गरुन् । मलाई लाग्छ, अहिले कालोबजारी भएको छैन । नपाउनेले गुनासो मात्र गरेका हुन् ।

गरिब नेपालीका लागि सरकारले कस्तो खालका सहुलियतका कार्यक्रम ल्याउँदा उचित हुन्छ ? तपाईंको सुझाव, सल्लाह के छ ?

ग्यासमा सहुलियत दिने हो भने कालोबजारी बढ्छ । गरिब, पीडितहरूले सहजै सहुलियत पाउँदैनन् । त्यसमा पनि उच्च वर्गले मात्र सुविधा पाउँछ । बरु बृद्ध भत्ता बाँडे जस्तै कुनै निश्चित मापदण्ड अपनाएर यस कार्यक्रमलाई व्यवस्थित र सुलभ बनाउन सकिन्छ । सरकारले बेलाबेला व्यवसायिक र घरायासी प्रयोजनका लागि फरक फरक दर तोकिनु पर्छ भनेको सुनिन्छ । त्यो पनि उचित हुँदैन । सिलिण्डर सानो, ठूलो बनाउनु पर्छ । घरका लागि रातो रंगको र व्यवसायिक प्रयोजनका लागि निलो बनाउनु पर्छ भन्ने चर्चा चल्ने गर्छ । यस्ता कुरामा हाम्रो असहमति छ । जहाँ दुईथरी मूल्य हुन्छ, त्यहाँ पक्कै गड्बडी हुन्छ । कालोबजारी हुन्छ । बरु यो कुरालाई व्यवस्थित गर्नुपर्छ ।

ग्यास विक्रेताले सरकारलाई कर तिर्ने प्रणाली के कस्तो छ ?

हामीले प्रतिसिलिण्डर ४८ रुपैयाँसहित १३ प्रतिशत भ्याट तिर्छौं ।

तपाईं समाजसेवामा पनि सक्रिय हुनुहुन्छ । समस्या र अफ्ठ्यारोमा परेकाहरूलाई कसरी मद्दत पु¥याइरहनु भएको छ ?

बिगतमा मेलम्ची बाढी पीडितलाई व्यक्तिगत रुपमा ग्यास उपलब्ध गराएको छु । यस्तै भूकम्प, नाकाबन्दीमा ग्यास र राहत उपलब्ध गराएको छु । तराई क्षेत्रमा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा हामीले सिरहा, सप्तरीलगायतका जिल्लामा लत्ता, कपडा बाँड्यौँ ।

ग्यास सिलिण्डर प्रयोग गर्दा कतिपय स्थानमाा व्यक्तिले ज्यान गुमाइरहेका छन् । यसबारे कसरी जनचेतना फैलाइरहनु भएको छ ?

एकदमै सान्र्दभिक कुरा उठाउनु भयो । यो एकदमै संवेदनशिल विषय हो । ग्यास सिलिण्डर प्रयोग गर्न नजानेर धेरैले अनाहकमा ज्यान गुमाउनु परेका घटना धेरै छन् । कसरी ग्यास सिलिण्डर प्रयोग गर्ने ? कस्तो अवस्थामा खतरा हुन्छ ? ग्यास बाल्दा बाल्दै आगलागी भए के गर्ने ? कसरी ज्यान बचाउने ? आदि जस्ता कुरामा ख्याल गर्नु पर्ने पक्षबारे हामीले जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका छौँ ।

विगतमा काठमाडौँ उपत्यका बाहिर ६–७ ठाउँमा हामीले सचेतना फैलाउने कार्यक्रम आयोजना गरिसक्यौँ । राजधानीभित्र थुपै्रै कार्यक्रम आयोजना ग¥यौँ । कुनै टोल, समुदाय वा स्थानीय तहले ठूलो संख्यामा उपभोक्ता भेला गरेको खण्डमा हामी त्यस्तोमा सरिक भएर कार्यक्रमको आयोजना गर्छौं ।

प्राविधिकका रुपमा महासंघमा म र गेहेन्द्र प्रसाद रिजालले काम गरिरहेका छौँ । हामी देशैभर निःशुल्क रुपमा यसबारे सेवा दिन तयार छौँ । बढी गृहिणीहरूलाई लक्षित गरेका छौँ । किनकी भान्छामा उहाँहरूले बढी समय बिताउनु हुन्छ । उहाँहरूका लागि एकदमै उपयोगी छ । यसबारे कसैलाई जिज्ञासा भएमा वा हामीलाई निम्तो दिनु परेमा मलाई सीधै ९८५१०१८३८० मा सम्पर्क गर्न सक्नु हुन्छ ।

प्रतिक्रिया