बुधबार, वैशाख १२, २०८१

पार्टी रुपान्तरणका चार कार्यभारबारे

नारायणकाजी श्रेष्ठ २०७९ भदौ ५ गते २२:४८

हाम्रो पार्टी नेकपा ( मओवादी केन्द्र ) को यस अघि नै निर्णय भैसकेको अध्यक्ष , बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बाहेक महासचिव लगायत बाँकी पदाधिकारीहरुले हिजो पुर्णता पाएको छ । आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको बिधानको ब्यबस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशन अनुसार पदाधिकारीहरु चयन क्रममा जिम्मेवारी प्राप्त गर्नुभएका सबै कमरेडहरुलाई बधाई तथा सफल कार्यसम्पादनको निम्ति शुभकामना ।

तर यस अवसरमा स्पष्ट हुनु पर्ने कुरा के हो भने हाम्रो सफलता वा असफलता हाम्रा सामु चुनौतिपुर्ण रुपमा उपस्थित निम्न कार्यभार हरु पुरा गर्न सक्नेछौ वा सक्नेछैनौ भन्ने कुराले निर्धारित गर्नेछ ।

एक , राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्बभौमिकता ,भौगोलिक अखण्डता ,स्वाधीनता ,स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भुराजनीतिक संवेदनशीलताको उपेक्षा, स्वतन्त्र एवं असंलग्न परराष्ट्रनीतिबाट बिचलन , शक्तिराष्टहरुको संलनता एवं भुमिकामा बढोत्तरी सहित राष्ट्रिय स्वाधीनतामा संकट तथा जोखिमको खतरा बाट मुलुकलाई बचाउनु छ ।

दुई , नेपालमा ठुलो बलिदानीपुर्ण संघर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवादउन्मुख समावेशी लोकतन्त्रका उपलब्धीहरुको रक्षा गर्नु ,त्यसलाई ब्यबहारमा कार्यन्वयन गर्नु ,बिस्तार एवं बिकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्र भन्दा उन्नत तथा नयाँ जनवाद भन्दा भिन्न हामो मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकनन्त्रको रक्षा एवं बिकास गर्नु पर्नेमा ब्यबहारमा प्रतिगमनलाई ब्यहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघिबढिरहेको नकारात्मक राजनीतिक अवस्था लाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक छ ।

तिन , राजनीतिक परिवर्तनलाई सामाजिक – आर्थिक क्षेत्रमा बिस्तारित गरेर सामजिक न्याय सहितको समृध्दि हाँसिल गर्नु र जनजिविकाका आधारभुत समस्याहरु समाधान गर्दै समाजवादको आधार तयार पार्नु पर्दछ । तर राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पुरा हुन नसकेको र तात्कालिक आर्थिक संकट एवं जोखिम समाधान भैनसकेको अवस्था छ । बैदेशिक सहयोग ,भन्सार राजस्व र बिप्रेषण बाट देश चलाउने प्रवृत्ति , पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवं कहालिलाग्दो ब्यापार घाटाको निरन्तरता ,चरम भ्रष्टाचार र नवउदारवादको पक्षपोषणबाट आर्थिक संकटको समाधान र न्यायपुर्ण बिकास असंभव छ भन्ने कुरा स्पष्ट छ । हामीले यसलाई बदल्नै पर्नेछ ।

चार , समाजवाद निर्माणको रणनीतिक लक्ष हासिल गर्नु , समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर सारतत्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिल्कुल भिन्न रहनेछ भने अर्कोतिर गतकालमा अभ्यास गरिएको “सोभियत मोडेल ” को समाजवादका कमजोरीहरु सच्च्याइएको आजको २१ औं शताव्दी अनुरुपको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो बैज्ञानिक समाजवादको मुल मान्यतामा आधरित हुनेछ ।

उपरोक्त कार्यभार पुरा गर्नको निम्ति आम रुपमा नेपाली राजनीतिमा देखा परेको बिकृति एवं भ्रष्टीकरण-आदर्श ,बिचार ,सिध्दान्त , देश तथा जनताको हित केन्दृत लक्ष ,मुल्य ,नैतिकताको डरलाग्दो ह्रासको बेग -लाई रोक्न र फेर्न जरुरी छ । राजनीति सफा गर्ने आन्दोलनात्मक अभियान बिना यो संभव छैन । नेपाली देशभक्तिपुर्ण आन्दोलनको अग्रणी शक्ति र नेपाली समजको क्रान्तिकारी रुपान्तरणको नेतृत्वदायी शक्ति हुनुको नाताले नेपाली कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीको मुख्य समस्याका रुपमा रहेको बैचारिक – सास्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।अर्थात बैचारिक सास्कृतिक रुपान्तरणको ठुलो अभियानद्वारा पार्टी र कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी रुपान्तरण र पुनर्गठन यतिबेलाको ऐतिहासिक आवश्यकता हो । इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई गम्भीरतापुर्वक आत्मसात गर्दै यसलाई पुरा गर्ने दिशामा दृढतापुर्बक अघि बढ्नु हाम्रो कर्तब्य हो । तात्कालिन रुपमा आसन्न चुनावी मोर्चाको संघर्षलाई त्यस अन्तर्गतकै कामको रुपमा बुझिनु पर्दछ । त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रहेको बर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पुरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रुपमा आफुलाई बुझ्नु पर्दछ र त्यसै अनुसार एकता एवं समर्पणका साथ क्रियाशील हुनुपर्दछ । अन्यथा हाम्रो पद को कुनै तात्विक अर्थ रहनेछैन । आफ्नो तर्फबाट यस निम्ति प्रतिबध्दता ब्यक्त गर्दै सम्पुर्ण पदाधिकारी कमरेडहरुलाई समेत हार्दिक एवं गंभीर अपील गर्दछु । हाम्रो सफलता ,असफलताको कसी यही हुनेछ ।

उपरोक्त चार कार्यभारहरु पुरा गर्न र त्यसका लागि हाम्रो पार्टी र समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन गर्न अघि बढ्दा सर्बप्रथम हाम्रो सकारात्मक पक्षहरुको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात गर्नु जरुरी छ । एक ,हाम्रो पार्टी अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरु मध्ये सबभन्दा राम्रो परिवर्तनकारी पार्टी हो । दुइ , सामाजिक न्याय सहितको समृध्दिको तात्कालिक कार्यनीतिक कार्यभार र बैज्ञानिक समाजवादको मुल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पुरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण एवं बिकासको संभावना पनि हाम्रो पार्टीमा नै छ।निम्न तथ्य हरुले हाम्रो पार्टीमा नै त्यो संभावनाको आधार रहेको स्पष्ट गर्दछ ; एक , आजको परिवर्तन र उपलब्धीको मुख्य बाहक शक्ति हाम्रो पार्टी हो ,जुन कुरामा हामी गर्व गर्न सक्छौं । दुई,ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधान माथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमको बिरुध्द ब्यापक संघर्षको अगुवाई गरेर तात्कालिक प्रतिगमन लाई असफल पार्न मुख्य भुमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो । तिन , हाम्रो पार्टी आफ्नो मुल नेतृत्वदायी भुमिकामा हाँसिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्वको परिवर्तन ठान्दछ र यसका उपलब्धीहरुको रक्षाको पक्षमा पनि दृढ छ ।तर हाम्रो पार्टी अहिलेको यो परिवर्तनलाई पुर्ण र अन्तिम ठान्दैन ,बरु समाजवादी ब्यबस्थाको स्थापना गर्न दृढ छ । चार ,हाम्रो पार्टी नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी र रोगको स्पष्ट पहिचान एव्ं सार्वजनिक स्विकारोक्तिका साथ त्यसलाई सच्च्याउने वा उपचार गर्ने प्रतिबध्दता ब्यक्त गरेको छ ।

तसर्थ हाम्रो पार्टीको रुपान्तरणको संभावना छ किनकि यो संभावनाको आधार हामी भित्र छ । तर त्यसको शर्त हो ,हामी आफै आफ्नो निष्कर्ष प्रति इमान्दार भएर रुपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर पुरानै यथास्थितिबादी ब्यबहारको निरन्तरता ,आजको हाम्रो मुख्य समस्या र चुनौती हो।यसको सकारात्मक समाधान गर्ने साहास हामीले देखाउनै पर्छ।पार्टीले हामी लाई महत्वपुर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस एकताबध्द भएर पुर्ण समर्मणका साथ यस दिशामा अघि बढ्ने संकल्प गरौं ।

(श्रेष्ठ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष हुन् )

प्रतिक्रिया