बिहीबार, वैशाख १३, २०८१

बिक्रम भक्त जोशीसँग पुस्तकवार्ता

‘यस कारण बैंकको जागिर छाडेर लेखनमा प्रवेश गरें’

नरेन्द्र रौले २०७९ भदौ १ गते २०:०६

जाउलाखेल, ललितपुरका बिक्रम भक्त जोशी पेशाले इञ्जिनियर हुन् । लामो समय उनीसँग बैंकमा काम गरेको अनुभव पनि छ । पैसा र पदले मात्र जीवनमा खुसी नदिँदो रहेछ । रिटायर्ड हुन केही वर्ष बाँकी छँदै उनले स्वेच्छिक अवकाश लिए । र, साहित्यमा कलम चलाउन थाले । घुमफिरमा अत्यन्तै रुचि राख्ने उनी हरेक पटक यात्रा गर्दा केही न केही लेखिरहेका हुन्छन् । तीन वर्ष यता यात्रा गर्दै लेखिएका १९ वटा कथाको संग्रह ‘चोभार ब्लुज’ बजारमा आएको छ । यात्रा, लेखन र भोगाइबारे जोशीसँग मेरोन्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानीः

तपाईंको पहिलो पुस्तक ‘चोभार ब्लुज’ नाम कसरी जुर्‍यो ?

चोभारसँग मेरो गहिरो नाता छ । मेरो घर जावलाखेल । हिँडेर चोभार पुगिरहन्थेँ । वागमती नदी असारमा त तर्नै सकिँदैनथ्यो । अरु बेला त्यो सङ्लो पानीमा हामी पौडिन्थ्यौँ । ऐंसेलु खान चोभार गईन्थ्यो । मिनपचास पछिको विदाको समयमा ऐंसेलु खान चोभार खुब धाइन्थ्यो । यिनै सम्झनाहरु सँगालेर पहिलेदेखि नै चोभारबारे केही लेखौँ, लेखौँ लाग्थ्यो । बल्ल त्यो समय जुरेछ ।

‘चोभार ब्लुज’ संग्रहमा १९ कथा छन् । सुरुमा यसको शीर्षक ‘चोभार अवसाद’ राखेको थिएँ । मानिसहरुले यसलाई बुझेनन् वा रुचाएनन जस्तो लाग्यो । पछि ‘चोभार ब्लुज’ नाम नै फाइनल गरेँ । कथाहरुमा कतै न कतै अवसाद छ, झल्किन्छ । त्यसैले सबै कथाको प्रतिनिधित्व हुने गरी नाम राखिएको हो ।

‘चोभार ब्लुज’ लेख्न कति समय लाग्यो ? लेखनमा कसरी लाग्नु भयो ?

पूरै किताब सिध्याउन तीन वर्ष लाग्यो । सबै प्रक्रिया गरेर बजारमा पठाउन साढे तीन वर्ष लाग्यो । मेरो लेखनको यात्रा छोटो छ । ०७४ को चैतमा एनआइडिसी बैंकबाट स्वेच्छिक अबकास लिएपछि म पूरै लेखनमा लागेँ । पहिला एक्लै एक्लै घुम्थेँ । त्यसरी हिँड्ने बेला खिँचिएका फोटो फेसबुकमा राखेर घुमेका ठाउँका बारेमा लेख्ने गर्थेँ । रुटबारे मात्र बयान गर्दा त्यति मजा आएन । बाटोमा पात्रहरुसँग गफिन्थेँ । बुढापाकाहरु मनको बह पोखिहाल्थे । बोल्न मन पराउँथे । मनको बह पोख्ने ठाउँ उनीहरुसँग हुँदैनथ्यो नि ।

एक पटक बोसन डाँडा घुम्न जाँदा एउटा बुढो व्यक्तिसँग गफिएँ । त्यो बेला लेखेको कथा अनलाइनमा छापियो । बल्थलीका सूरज न्यौपाने भाइले सुटुक्क अनलाइनमा त्यो कथा छापिदिएका थिए । २०७५ साल असोज महिनाको कुरा हो । त्यो नियात्रा पनि थियो, कथा पनि थियो । त्यो पढेर निकै राम्रो प्रतिक्रिया आयो । म झन् उत्साहित भएँ । त्यसपछि झन् लेखनको रफ्तार बढाउँदै गएँ ।

‘चोभार ब्लुज’ लाई निकथा भनेर लेख्नु भएको छ । यो विधालाई कसरी चिनाउनु हुन्छ ?

निकथा मेरो आफ्नै शैली हो । कथा, निबन्ध, नियात्रा एकै ठाउँमा समेटिएपछि यसलाई निकथा भनिएको हो । निकथा अहिलेसम्मको नयाँ विधा हो जस्तो मलाई लाग्छ । यस्तो प्रयोग भएको छैन । बिस्तारै युवाहरुले यो बाटो पछ्याउँलान् भन्ने लाग्छ । कथा, नियात्रा, निबन्धको फ्युजन अनि त्यसमा कुनै प्रकारको सामाजिक वा अरु जल्दोबल्दो मुद्दाको उत्थान । तब यो बेग्लै विधाका रुपमा स्थापित हुन्छ । नयाँ पुस्ताले यतातिर सोच्ने हो, लाग्ने हो भने निकथा विधाका रुपमा स्थापित हुन्छ भन्ने मेरो विश्वास छ ।

इञ्जिनियर र बैंकिङ क्षेत्रमा जीवन बिताएको मानिस कसरी साहित्यमा आउनुभयो ?

म जुनसुकै क्षेत्रमा भएपनि साहित्यको परिधिभित्र थिएँ । इन्जिनियर बनेँ, एमबिए गरेँ, बैंकर बनेँ । जता पुगेपनि साहित्यमा मेरो रुचि रहिरह्यो । सानो छँदा बुबाले पुस्तक किनेर ल्याईदिनुहुन्थ्यो । बुबाले पनि साहित्यमा लाग्न प्रेरणा दिनुभयो ।

मानिस जस्तो पारिवारिक माहोलमा हुर्कियो, भविष्यमा त्यस्तै बन्ने हो । पुस्तक पसलमा छिर्दा मलाई आनन्द आउँथ्यो । साहित्यलाई अहिले पनि पेशाका रुपमा लिएको पाइँदैन । साहित्य मेरो मनको विधा हो । मस्तिष्कको आवाज सुनेर अरु फिल्डमा गएँ । साहित्यले मलाई अपार आनन्द दिलाउँछ र त यतै रमाउन आइपुगेँ । म अचानक आएको भने होइन ।

मैले काम गरिरहेको एनआइडिसी बैंक मर्जरमा जाने भयो । तर, मैले जागिरलाई निरन्तरता दिइनँ । योजनाबद्ध रुपमा म साहित्यमा आएँ । अरु क्षेत्रमा मलाई सन्तुष्टि मिलेन । त्यसका लागि साहित्य नै रोजेँ । अहिले मलाई बहुत आनन्द र सन्तोष छ । म शीतल खोज्दै, छहारी खोज्दै आएँ ।

यत्रो वर्ष घामको रन्कोमा हिँडिरहेको थिएँ, अनि बल्ल शितल छहारीमा आएँ जस्तो लाग्यो । अहिले यति मजा आइरहेको छ, म बयान गर्न सकिरहेको छैन । मैले अनुभव गरेको एउटा कुरो, लेख्छु भनेर लागिपर्दैमा राम्रो लेख्न नसकिने रहेछ । फुर्ने बेला जुनै बेला पनि फुर्छ । यस्सो सोच्दा लाग्छ, लेख्नका लागि एकान्त चाहिन्छ नै भन्ने पनि रैनछ । रमाइलो कुरो त मैले सबै १९ वटा कथा मोबाइलमै लेखेँ । बेडमा ढल्किँदै । (लामो हाँसो)

‘चोभार ब्लुज’ बाट कस्तो प्रतिक्रिया पाउनु भयो ?

पुस्तक समीक्षक हरि अधिकारीज्यूले पुस्तकको अन्तरक्रिया कार्यक्रममा ‘पछिल्लो समय आएका पुस्तकहरु मध्ये उत्कृष्ट हो । लेखकले यसमा धेरै प्रयोग गर्नु भएको छ ।’ भनेर टिप्पणी गर्नुभयो । आम पाठकहरुले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् । ब्लुज शब्दप्रति कतिपयले आपत्ति जनाए । नेपाली शब्द राखेको भए हुन्थ्यो भने । तर, मलाई चोभार ब्लुज नै प्रिय लाग्यो । यसले मेरा सबै कथाहरुको प्रतिनिधित्व गर्छ ।

यात्रा गरेरै लेख्न रुचाउनु हुन्छ । तपाईंका लागि यात्रा किन जरुरी छ ?

यात्रा नगरेको भए किताब पूरा हुँदैनथ्यो । यसको जग नै यात्रा हो । मेरा लागि यात्रा तनाबबाट मुक्त हुने उपाय हो । शरीर, तन, मनको यात्रा हो । पहिला म हिँड्दिनथेँ । यात्रा गर्नुका मेरा २ वटा कारण छन् । पहिलो कारण, भुँइचालोपछि एकदमै तनाब महशुस भयो । चिनेजानेका नै पनि दबेर मरे । मनमा तनाव भयो । त्यसै कारण यात्रा गर्न मन लाग्यो । चोभारबाट यात्रा सुरु गरेँ । बडो आनन्द आयो । यात्रापछि म रिफ्रेस भएँ । यात्रा गर्न थालेपछि तनावबाट मुक्ति पाएँ ।

दोस्रो कारण, यात्रा भनेको अनुभूति गर्ने माध्यम बन्यो । हिँड्दै गर्दा पात्रहरु भेट्छु । एकपटकको कुरा हो, म जाल्पादेवी मन्दिर गएको थिएँ । त्यतै कतै पाखोमा एउटी बुढी आमा ‘उता नजाउ । जहाँ पायो त्यही जाने’ भनेर कराइन् । उनले पाठा पाठीलाई कराएको रहेछ ।

एक्लै झुपडीमा बस्ने रहिछिन् । उनको एक्लोपनको अनुुभूति गरें । आमासँग गफगाफ गरेर ‘उत्सर्ग’ भन्ने कथा लेखेँ । अँ, स्वास्थ्यमा सुधार ल्याउनका लागि पनि हिँडियो । डाक्टरले हिँड्न सल्लाह दिएका थिए ।

यात्राका केही सम्झिनलायक घटनाहरु पनि छन् कि ?

एक पटक दक्षिणकाली गएको थिएँ । दिउसोको २ बजिसकेको थियो । उतै फूलपाती बेच्नेलाई सोधेँ, ‘नजिकै हिँड्ने ठाउ कता छ रु’ उनीहरुले जवाफ दिए, ‘माथि चौकोटदेवी छ ।’ चैतको महिना थियो । डढेलो लाग्ने, लगाउने समय थियो । मानिसहरु कोही थिएनन् । जाने बाटोमा पूरै आगो लागेको थियो ।

घाँस र रुख बलिरहेको देखियो । मोबाइल खोलेर भिडिओ खिच्न थालेँ । म त्यसैमा धेरै बेर कुदेँ । त्यो एक प्रकारको साहसिक काम थियो । पछि त्यो रुटमा मानिसहरुले हाइक गर्न थाले । सुरुमा म एक्लै हिँडेको ललितपुरको देवीचौर, दहचोकको कालु पाँडे शालिक भएको ठाउँमा पछि मानिसहरुले हाइकिङ रुट बनाए ।

एकपटकको कुरा, इन्द्र दह पारी पट्टीको हसनटार जंगलमा एक्लै यात्रा गर्दा एकपटक चितुवाको गन्ध पनि महसुस गरेको छु । त्यस बखत मन आतिएको थियो । फनक्क फर्कें । घाँस काट्ने महिलाहरु मसँग कराए । ‘किन एक्लै आउनुहुन्छ यो ठाउँ ? चितुवा लाग्छ ।’ भनेर झपारे पनि । त्यसपछि म समूहमा हिँड्न थालेको हुँ । उपत्यकाबाहेक लमजुङको घलेगाउँ, भुजुङ, पसगाउँ हुँदै बेगनास तालतिर झरियो । पुनहिल पुगियो । जति ठाउँ घुमेँ, ती ठाउँका परिवेश, जनजीवनबाट प्रभावित बनेर कथा रचेँ ।

यात्राले के कुरा सिकाउँदो रहेछ ?
छोटोमा भन्नु पर्दा यात्राले जीवन दर्शन सिकाउँछ । मैले हिँड्दा(हिँड्दै धेरै कुरा सिकेको छु । यस किताबमा ती कुराहरु लेखेको छु । यस संग्रहको कथा फ्लानर फेन्टासी एउटा उदाहरण हो । सुनाकोठी, नागदह, बज्रबाराही गएर घर फर्केको थिएँ । सामान्य हिँडाई थियो । यही दौरानमा मैले यो कथा रचेँ । त्यो बेलामा मेरो सहयात्री बज्रबाराही हुन्छिन् । यात्रा भनेको जीवन दर्शन हो । यात्राले जिन्दगीलाई बुझ्ने मौका दिन्छ । आफूले गरेको गल्तीहरुको अनुभूति गराइदिन्छ ।

यात्रामा हामीले कहिल्यै नदेखेका कुरा देख्न, महसुस गर्न पाउँछौँ । जिन्दगीलाई अर्कै किसिमले हेर्न र बुझ्न पाउँछौँ । जीवनदर्शनले डोर्याएको बाटोमा हिँड्न पाउँछौँ । आत्मालोचना गर्ने मौका मिल्छ । जीवनमा केही कुरा सुधार गर्ने मौका मिल्छ । हरेक यात्रामा कथा हुन्छ । रत्नपार्कदेखि घर पुग्नु पनि यात्रा हो । त्यहाँ पनि कथा हुन्छ ।

यात्राले आफ्नो उमेर भुलाउँछ कि भुलाउँदैन ?

उमेर भुलाइदिन्छ । जब आफूलाई कष्ट हुन्छ, त्यो बेला सम्झिने हो उमेर । प्रकृतिमा हिँड्दा हामी कष्ट भुल्छौँ । उमेर भनेको नम्बर मात्र हो भन्ने त्यो बेला अनुभूति हुन्छ । पदयात्रामा ७ देखी ७० वर्षका व्यक्तिहरु हिँडिरहेका हुन्छन् । एउटै गति, एउटै गन्तव्यमा हिँडिरहेका भेटिन्छन् । सबै रमाइरहेका हुन्छन् । यात्रामा उमेरको कुनै सरोकार हुँदैन । अचम्मका पात्रहरु यात्रामा लम्किरहेका हुन्छन् । लठ्ठी बोकिरहेका व्यक्तिहरु हुन्छन् । सबै रमाइरहेका हुन्छन् ।

अब अर्को कस्तो पुस्तकको तयारी गर्दै हुनुहुन्छ ?

अर्को पुस्तक ‘चोभार ब्लुज’ कै शैलीको निरन्तरता हुनेछ । अबको अर्को कथा पनि निकथा संग्रह नै लेख्नेछु । कुनै जागिर गर्दा पनि मलाई आत्मसन्तुष्टि मिलेन । म आफूलाई सन्तुष्ट हुने कुरा लेख्छु । त्यो लेख्दा लेख्दै कथा हुन जान्छ । यात्रा र लेखनले मलाई भरपुर आत्मसन्तुष्टि दिलायो । मभित्र दबिरहेको जुन इच्छा थियो, त्यो लेखनमार्फत उजागर हुने मौका पायो । मलाई यात्रा गरेर लेख्नुपर्छ भन्ने जिम्मेवारी आइलागेको छ र त्यो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नेछु ।

तपाईंलाई मन छोएको पुस्तक कुनै छ ?
रमेश विकलको ‘सात सूर्य एक फन्को’ । सुन्दरीजलदेखि गोसाइँकुण्डको यात्रा विवरण छ त्यसमा । त्यो पुस्तक सानैमा पढेको हुँ । त्यसको छाप अझै मनमा गढेको छ मेरो । प्रतीक ढकालका नियात्राहरुले पनि मन छोएका छन् ।

प्रतिक्रिया