शुक्रबार, चैत १६, २०८०

कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित

मेरोन्यूज २०७९ भदौ १ गते १८:२९

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् ।

दुल्लुमा रहेको रामपुर कृषि क्याम्पस चितवनको आङ्गिक क्याम्पस सिएनआरएममा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरूले ‘बिना पानी कृषिमा लगानी, छैन पानी बत्तीको निकास, छैन पूर्वाधारमा विकास, छैन कलेजको घेरवार, पाइँदैन हाम्रो शिक्षासँग गर्न खेलबाड, कृषिको लक्ष्य, छैन प्रयोगात्मक पक्ष’ जस्ता नारा लगाएका छन् ।

यस्तै, ‘छैन कुनै घेरा छैन कुनै छेकबार देखिएन सिएनआरएम दुल्लुमा भविष्यको आधार’ नारा लगाएर विद्यार्थीहरू मङ्गलबार आन्दोलनमा उत्रिएका हुन् ।

उक्त विद्यालयमा विद्यार्थीहरूले खानेपानीको समस्या, भौतिक पूर्वाधार, कृषि ल्याबको अभाव, खेल मैदानको अभाव भएकोले क्याम्पसले यसको तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।

Advertisement

विद्यार्थीहरूले तत्काल क्याम्पस प्रमुख ल्याउनु पर्ने, बत्तीको समस्या तत्काल समाधान गर्नुपर्ने, एक महिनामा पढाई हुने विषयवस्तु एकै दिनमा पढाउने गरेको, शिक्षकहरूको अभाव भएको र कृषिका विद्यार्थीका लागि प्रयोगात्मक शिक्षाका लागि प्रयोगशालाको व्यवस्थापन नभएकोले लगायतका विषयमा तत्काल व्यवस्थापन गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

दुल्लु नगरपालिका दैलेखले उक्त कृषि क्याम्पस पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि सम्बन्धी प्राविधिक उत्पादन गर्ने भन्दै ल्याएको थियो । कृषि क्याम्पसमा भर्ना भएका विद्यार्थीहरूले हाल कक्षा छोड्नसमेत थालेका छन् ।

नयाँ भर्ना भएका ५४ जना विद्यार्थीहरूमा हाल ३१ जना मात्रै विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त क्याम्पसमा विद्यालय संयोजकमा रूपमा दिनेश मरासिनी रहेका छन् ।

प्रतिक्रिया