बिहीबार, वैशाख १३, २०८१

कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन : ओली

मेरोन्यूज २०७९ भदौ १ गते १६:३५

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेस माओवादी केन्द्रका अध्यष प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन् । एमालेलाई घेरावन्दी गर्ने गरी कांग्रेस, माओवादी केन्द्र लगायतका संसदका ५ दलले गठबन्धन गरेपछि ओलीले कांग्रेससँग लोकतान्त्रिक चरित्र समेत नरहेको आरोप लगाएका हुन् ।

कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिपछि हिँडेको ओलीको आरोप थियो । ‘इतिहासमा पनि पटक-पटक देशहितविरुद्ध काम गरेको पार्टी हो । सुध्रिएला कि भन्ने लागेको थियो । माओवादी पार्टी भनेको प्रचण्ड एन्ड कम्पनी हो । कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यै नीति, व्यवहार र आचरणमा लुरुलुरु हिँडेको छ । त्यसलाई तोड्नुपर्छ,’ ओलीले भने ।

उनले इतिहासमा पनि पटक-पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको पनि टिप्पणी गरे ।

पूर्वमन्त्री हेमराज राईलाई एक दशकपछि आफ्नै पूरानो घर एमाले फर्काउन पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको कार्यक्रममा ओलीले भने –‘कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन । अरु पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने ? कांग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन ।’

ओलीले अहिलेको सत्ता गठबन्धन देशद्रोही गठबन्धनभएको आरोप लगाए ।

‘यो देशद्रोही गठबन्धन हो । यल्ले नेपाली जनतालाई ढाँट्छ,’ उनले भने, ‘एमसिसीलाई पत्र लेख्छ, लेखेको छैन भन्छ । लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ । त्यस्तो होइन भने त्यस्तै चाहीँ होइन लेख्न चाहीँ लेखेकै हो भन्छ ।’

गठबन्धनका नेताहरूलाई लाजसरम नभएको उनले बताए । ‘फलानासँग तीनचार पल्ट भेटेँ भन्छ । पछि सपनामा भेटेँ भन्छ । सपनामा केके हुन्छ हुन्छ रु,’ उनले भने ।

ओलीले जनयुद्धका नाममा मारिएकाहरुका शालिक नबनेर जाँड खाएर मरेका आफन्तको शालिक बनेको भन्दै कटाक्ष पनि गरे । ओलीले भने,–‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन ? हिजो स्कुल छाडेका कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन ? तीनलाई कहिल्यै सम्झ्या छ ?,’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’

प्रतिक्रिया