शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंमा एमालेका यी हुन् सम्भावित उम्मेदवार (सूचीसहित)

शितल शर्मा २०७९ साउन ३१ गते २१:१८

काठमाडौं । सत्ता गठबन्धनले चौतर्फी घेरावन्दी गरेपछि आगामी चुनावमा एमालेको पोजिसन के होला ? उसले गर्ने तालमेल कुन दलसँग कस्तो होला ? अनि उसले दिने उम्मेदवार कस्ता होलान् ? सत्ता गठबन्धन दल सिट बाँडफाँटको गृहकार्यमा लागिरहेका बेला गठबन्धन दलसँगको मुख्य प्रतिस्पर्धी एमालेका विषयमा पनि मान्छेहरुको चासो बढेको छ ।

त्यसमाथी काठमाडौं उपत्यकाभित्रै एमालेले अन्य कुनै दलसँग चुनावी तालमेल गर्ला ? या उसका सम्भावित उम्मेदवारहरु को को होलान् ? त्यस वारेमा पनि राजनीतिमा चासो लिनेहरुले चर्चा गर्न थालेका देखिन्छन् । २०७४ को प्रतिनिधीसभा तथा प्रदेश सभा चुनावमा एमाले र माओवादीले बाम गठबन्धन गरेर चुनाव लडेका थिए । वाम गठबन्धनको त्यसवेला दवावमा परेको कांग्रेसले पनि केही क्षेत्रमा राप्रपासँग तालमेल गरेर चुनाव लडेको थियो । कांग्रेसले काठमाडौंमा एउटा क्षेत्र काठमाडौं ७ राप्रपालाई छोडेर अन्य क्षेत्रमा राप्रपाको साथ लिएको थियो । माओवादी र एमालेले वाम गठबन्धन गरेर चुनाव लडेका थिए ।

यति हुँदा पनि काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा कांग्रेसले गत प्रतिनिधीसभा चुनावमा प्रत्यक्ष तर्फ प्रतिनिधीसभा चुनाव जितेका थिए । काठमाडौं १, काठमाडौं ४, काठमाडौं ६ र काठमाडौं १० कांग्रेसले जितेको थियो । कांग्रेसले यसरी जितेको निर्वाचन क्षेत्रमा ३ क्षेत्रमा माओवादी केन्द्र र एउटा निर्वाचन क्षत्रेमा एमालेको उम्मेदवार थिए ।

तर यसपटक समिकरण फेरिएको छ । माओवादी कांग्रेससँगको गठबन्धनमा छ भने एमालेले भने राप्रपासँग तालमेल गर्ने अन्तिम तयारी गरिरहेको छ । कांग्रेस, माओवादी गठबन्धनलाई एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाले पनि साथ दिएको छ । एमाले आफैमा पनि तीन टुक्रा भएको छ । माधव नेपाल, झलनाथ खनाल लगायतले एमाले छोडेर एकीकृत समाजवादी बनाएका छन् । काठमाडौं ८ मा निर्वाचन जितेका जीवनराम श्रेष्ठ सहित केही प्रदेशमा जितेका प्रदेश सांसद समेत एकीकृत समाजवादीमा लागेको अवस्था छ ।

त्यस्तै, बामदेव गौतमले पनि एमाले छोडेका छन् । उनको सानो समुहले पनि नेकपा एकता राष्टिय अभियान नामको पार्टी नै घोषणा गरेर आगामी चुनावमा माओवादीको चुनाव चिन्हबाटै चुनाव लड्न लागेको छ । यसले पनि एमालेलाई काठमाडौंमा पनि ठूलै झट्का लाग्न सक्ने अनुमान लगाउन सकिन्छ ।

एमाले स्रोतका अनुसार, उसले आफैले गरेको आन्तरिक सर्वेमा पनि एमालेका लागि काठमाडौं क्षेत्र नम्बर ५ मात्र अनुकुल देखिएको छ । अन्य ९ निर्वाचन क्षेत्र उसले आफ्नो सर्वेमा पनि प्रतिकुल नै ठानेको छ । यस्तो बेला एमालेको सम्भावित काठमाडौंका उम्मेदवारहरु को हुन सक्लान रु एमालेकै काठमाडौंका नेता कार्यकर्ता र कतिपय नेताहरुसँगको कुराकानीका आधारमा एमालेको काठमाडौंमा यस्ता हुन्सक्छन् सम्भावित उम्मेदवार : –

काठमाडौं १
काठमाडौं १ मा २०७० को चुनावमा विधा न्यौपाने उम्मेदवार थिइन् । ०७४ मा वाम गठबन्धन गर्दा माओवादी केन्द्रका युवा नेता अनिल शर्मालाई एमालेले टिकट छोडेको थियो । तर यसपटक उक्त क्षेत्रमा एमालेका को उम्मेदवार होलान् रु एमालेका काठमाडौंका एक नेताले मेरोन्यूजसँग भने, काठमाडौं १ मा एमालेले तालमेलका नाममा राप्रपालाई यसपटक छोडन् सक्छ ।
पार्टीभित्र काठमाडौं १ मा उम्मेदवार हुने हेभिवेट र लोकप्रिय नेता नहुँदा उसले राजेन्द्र लिडदेनसँग देशब्यापी गठबन्धन गरेर काठमाडौं १ राप्रपालाई उम्मेदवार उठाउनका लागि छोडन सक्छ । यो कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा रवीन्द्र मिश्र देखि रमेश खरेल सम्मले चुनाव लड्ने बताईरहेका छन् ।

राप्रपा प्रवेश गरेर मिश्रले एमालेसँगको तालमेलमा काठमाडौं १ चुनाव लडने अधिक सम्भावना रहेको एमालेकै नेताहरु बताउँछन् ।

गत निर्वाचनमा पनि सिंहले रवीन्द्र मिश्रसँग चुनावी प्रतिस्पर्धा गरेका थिए । यसपटक मिश्रको पार्टीबाटै उनले टिकट पाउनेमा शंका नै छ । त्यसमाथी मिश्र अहिले पूरापूर राजावादी भएका छन् । उनको लाइन राजेन्द्र लिडदेनसँग मिल्न पुगेको छ । विचारभन्दा माथी देश नामको मिश्रले किताव नै यसै हप्ता बजारमा ल्याउँदैछन् । त्यसपछि उनले राप्रपा प्रवेश गर्ने गरी नीति बनाएको उनी निकटले बताउने गर्छन् ।

मिश्र राप्रपा प्रवेश गरेर राप्रपाको हलो चुनाव चिन्हमा चुनाव लड्ने र उनलाई काठमाडौं १ मा एमालेले साथ दिन सक्ने अनुमान पनि राजनीतिक वृत्तमा लगाउन थालिएको छ । यदि मिश्रको राप्रपा प्रवेश र एमालेले राप्रपासँग चुनावी गठबन्धन गरेमा काठमाडौं १ राप्रपाले सिट वाँडफँटमा लिएर रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउन सक्ने देखिएको छ । यस्तो भएमा रवीन्द्र मिश्रलाई काठमाडौं १ मा एमालेले सहयोग गर्नेछ ।

अन्यथा फेरि पनि विधा न्यौपाने नै एमालेका उम्मेदवार हुन सक्नेछिन् ।

काठमाडौं २
एमालेबाट काठमाडौं २ मा उम्मेदवार हुन मणिराम फूयाँलले तयारी गरिरहेका थिए । पहिले निर्वाचन जितेका माधव नेपाल एकीकृत समाजवादी बनाएर एमाले छोडेपछि एमालेको उम्मेदवार वन्न फूयाँलले तयारी गरिरहेका छन् । माधव नेपाल उक्त निर्वाचन क्षेत्रमा चुनाव नलडने र रौतहट जाने तयारी गरेपछि पनि फूयाँलले आफुनो जित सहज हुने देखिरहेका थिए । उनी अहिलेको प्रदेश सभा सदस्य पनि हुन् । मुलपानीका स्थानीय समेत रहेका उनले टिकटका लागि आफ्नो तयारी पनि गरिरहेका देखिन्छन् । तर फूयाँललाई टिकट नदिएर एमाले अध्यक्ष ओलीले मदन भण्डारी र अहिलेकी राष्टपति विधा भण्डारीकाी छोरी उषाकिरण भण्डारीलाई उक्त निर्वाचन क्षेत्रबाट चुनाव लडाउने गरी तयारी गरेको पनि नेताहरु बताउँछन् । त्यस्तो भएमा भण्डारीले टिकट पाउनेछिन् ।

एमालेले राप्रपासँग तालमेल भएमा राप्रपाको समेत मत लिएर राष्टपतिकी छोरी उषाकिरणलाई निर्वाचन जिताउन सकिने ठानेको छ । गत स्थानीय तह निर्वाचनमा शंकरापूर नगरपालिकाको मेयर राप्रपाले जितेको थियो । यो क्षेत्रमा राप्रपासँग पनि माओवादी र एकीकृत समाजवादी सरहको मत रहेको एमालेको विश्लेषण छ । राप्रपाको मत एमालेमा मिसाउन सकिएमा र उषाकिरण भण्डारीलाई उम्मेदवार बनाएर युवा मत पनि तान्ने र जित निकाल्न सक्ने वुझाईमा एमाले देखिन्छ । त्यसैका लागि काठमाडौं १ मा राप्रपालाई छोडेर २ उषाकिरणलाई जिताउने रणनीतिमा एमाले रह्न सक्ने बताइन्छ ।

काठमाडौं ३
काठमाडौं ३ यस अगाडी वाम गठबन्धनका तर्फबाट कृष्ण राईले जितेका थिए । उनी यसपटक पनि यो क्षेत्रमा टिकटको दावेदार छन् । तर यसपटक रामेश्वर फूयाँलले पनि काठमाडौं ३ ताकेका छन् । उनले काठमाडौं २ या ३ मध्ये एउटा निर्वाचन क्षेत्रमा आफुलाई प्रतिनिधीसभामा उम्मेदवार बनाउनु पर्ने भन्दै पार्टीका नेताहरुसँग भनिरहेका छन् । उनी अहिले काठमाडौं ३ का प्रदेश सांसद छन् ।

राई र फूयाँल दुवै ओलीसँग नजिक रहेकाले यसैले टिकट पाँउछन् रु भन्ने टुग्गो छैन । तर फूयाँलले भन्दा राईले नै फेरि टिकट उछिछटाउन सक्ने एमालेकै नेताहरु बताउँछन् ।

काठमाडौं ४
काठमाडौं ४ मा यस अगाडी कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । वाम गठबन्धन हुँदा पनि गत प्रतिनिधीसभा चुनावमा थापाले चुनाव जितेका थिए । तर यसपटक थापाप्रति असन्तुष्टि निर्वाचन क्षेत्रमा वढेको एमाले नेताहरुको भनाई छ । यो क्षेत्रमा कांग्रेस महामन्त्रीसँग चिरपरिचित प्रतिस्पर्धी राजन भटटराई नै एमालेका तर्फबाट उम्मेदवार बन्ने करिव निश्चित छ । यो क्षेत्रमा एमाले काठमाडौंका पूर्व अध्यक्ष निर्मल कुईकेल पनि आकांक्षी रहेपनि उनले टिकट पाउने सम्भावना अत्यन्त कम रहेको एमाले नेताहरु बताउँछन् ।

पशुपति विकास क्षेत्रमा रहँदा कुईकेलमाथी भष्टाचारको आरोपमा अख्तियारले छानविन गरेका कारण पनि उनको सम्भावना कम रहेको बताइन्छ । एमाले अध्यक्ष ओलीको परराष्ट सल्लाहकार भएर काम गरेको र विगतमा पनि बलियो प्रतिस्पर्धी रहेकाले एमालेले काठमाडौं ४ मा राजन भटटराईलाई नै उम्मेदवार बनाउने पक्का जस्तै छ ।

काठमाडौं ५
काठमाडौं ५ यसपटक एमालेले सहज जित हुने काठमाडौंको एक मात्र निर्वाचन क्षेत्रको रुपमा लिएको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको निर्वाचन क्षेत्र हो काठमाडौं ५ । यो क्षेत्रमा गत चुनावमा पोखरेलले कांग्रेसका अहिलेका प्रवक्ता डा प्रकाशशरण महतलाई पराजित गरेका थिए । यसपटक महत काहाँबाट चुनाव लड्छन् कुनै टुग्गो छैन ।

महतले नुवाकोटलाई पहिलो प्राथमिकता बनाएका छन् । जसकाकारण कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य नैनसिंह महरा, नररी आचार्यको श्रीमति शारदा शर्मा सम्मको नाम कांग्रेस उम्मेदवारको रुपमा चर्चामा छ । तर एमालेले भने पार्टीका बरिष्ठ उपाध्यक्ष पोखरेललाई नै यो निर्वाचन क्षेत्रमा चुनाव लडाउनेछ । गत स्थानीय तह निर्वाचनमा पोखरेलको निर्वाचन क्षेत्रमा एमालेले राम्रो नतिजा ल्याएकोले पनि पोखरेललाई अन्य नेताहरुको तुलनामा सहज रहेको एमालेको वुझाई छ ।

काठमाडौं ६
यो क्षेत्रमा भने एमालेका उम्मेदवार को होलान् रु एमालेकै नेताहरुले पनि पार्टी केन्द्रकै मुख ताकेका छन् । गत चुनावमा यो क्षत्रेमा बामगठबन्धनबाट माओवादी केन्द्रका झक्कु सुवेदी उम्मेदवार थिए । तर उनी कांग्रेसका भीमसेन दास प्रधानसँग पराजित भएका थिए । एमालेका यो क्षेत्रमा योगेश भटटराई पनि यो क्षेत्र छोडेर २०७४ साल देखि नै ताप्लुजुड पुगे । प्रदेश सांसद रहेका केशव स्थापित भर्खरै सम्पन्न स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकाका एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ।

जसकाकारण उनी एमालेबाट उम्मेदवार हुने अवस्था छैन । उनलाई फेरि टिकट दिएमा झन् पार्टीभित्र असन्तुष्टि बढने देखिएकोले पनि यो क्षेत्रमा एमालेले अहिलेसम्म उठाउने उम्मेदवार को हुनसक्छन् भन्ने कुनै छलफल चलेको छैन । यो निर्वाचन क्षेत्रबाटै प्रदेश सभा सदस्य रहेका अर्का नेता योगेन्द्र राज संगौला आफैमा बिरामी छन् । उनी स्वास्थ्यका कारण चुनाव लडने र सक्रिय हुने अवस्था नरहेको एमाले नेताहरु नै बताउँछन् ।

योगेश भटटराईलाई नै फेरि काठमाडौं ६ मा फर्काएर चुनाव लडाउने की भन्ने सामान्य छलफल पनि एमालेभित्र चलेको छ । योगेशलाई ताप्लेजुडमै तिलविक्रम नेम्वाडले चुनौति दिईरहेका छन् । कथंकदाचित योगेशले ताप्लेजुडमा नपाए काठमाडौं ६ मा उम्मेदवार बन्न सक्ने एमालेभित्र छलफल छ ।

काठमाडौं ७
यो निर्वाचन क्षेत्रमा भने एमालेले अघिल्लो चुनावमा उम्मेदवार बनेर जितेका रामवीर मानन्धरलाई टिकट नदिने करिव पक्का भएको छ । गत स्थानीय तह चुनावमा उनले कांग्रेसका उम्मेदवारलाई सहयोग गरेको र पार्टीका उम्मेदवारलाई असहयोग गरेको खुल्ला आरोप लागेको छ ।

यो क्षेत्रमा एमालेले रामबीरको साटोमा काठमाडौं महानगरका निवर्तमान मेयर समेत रहेका विधासुन्दर शाक्यलाई उम्मेदवार बनाउने गरी तयारी गरेको छ ।
शाक्यको टिकट करिव निश्चित जस्तै छ ।

काठमाडौं ८
काठमाडौं ८ मा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पहिलो प्राथमिकता राखेको छ । तर शाक्यले भने चुनाव लड्ने योजना बनाईसकेकी छैनन । उनी निकट नेता कार्यकर्ताका अनुसार शाक्यले चुनाव लड्ने तिर खासै चासो देखाएकी छैनन । महँगो चुनाव लडने नलडने भन्नेमा उनी दुविधामा छिन् ।

अजयक्रान्ति शाक्य

यस अगाडी चुनाव जितेका जीवनराम श्रेष्ठ एकीकृत समाजवादीमा लागेपछि एमालेले यो क्षेत्रमा चुनाव कसलाई लडाउने भन्नेमा यसै भन्न नसकिने बताएको छ । प्रदेश सभातिर एउटामा अष्टलक्ष्मी र अर्काेमा राजेश शाक्य निर्वाचित भएका थिए । शाक्यले दावी गर्न सक्ने पनि एमालेमा चर्चा छ ।

तर यो क्षेत्रमा अष्टलक्ष्मीले दावी नगरेमा अजयक्रान्ति शाक्यले टिकट पाउने पनि एकथरी एमाले नेताहरु बताउँछन् । अजयक्रान्तिको अध्यक्ष ओलीसँग सम्वनध राम्रो छ । सोहीकारण पनि उनले टिकटमा बाजी मार्न सक्ने एमाले नेताहरुको भनाई छ ।

काठमाडौं ९
एमालेले काठमाडौं ९ मा फेरि पनि कृष्णगोपाल श्रेष्ठलाई नै उम्मेदवार बनाउने गरी छलफल गरेको छ । श्रेष्ठले पनि फेरि आफै उठने भन्दै तयारी थालेका छन् । उनी गत चुनावमा कांग्रेसका ध्यानगोविन्द रज्जितलाई हराएर विजयी भएका थिए । तर यसपटक यो क्षेत्रमा कांग्रेस माओवादी सहितको सत्ता गठबन्धनबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य हितमान शाक्यले दावी गरिरहेका छन् ।

काठमाडौं १०
एमालेले काठमाडौं १० मा सुरेन्द्र मानन्धरलाई चुनाव उठाउन सक्ने अनुमान गरिएको छ । मानन्धर २०७० का पनि उम्मेदवार थिए । तर ०७४ मा माओवादीका तर्फबाट हितमान शाक्य उम्मेदवार बनेपछि उनी उम्मेदवार बन्न पाएका थिएनन । तर यसपटक उनका लागि एमालेले उम्मेदवार बनाउने एमाले नेताहरु बताउँछन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया