शनिबार, वैशाख ८, २०८१

सभामुखको आक्रोश : सांसदहरू हाजिर गर्दै बाहिरिँदै

मेरोन्यूज २०७९ साउन ३० गते १९:४२

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा आज एक कार्यक्रममा आक्रोशित भए । उनले संसद बैठकप्रति मन्त्री र सांसदहरू जिम्मेवार र गम्भीर हुन नसकेको भन्दै आक्रोश पोखेका हुन् ।

संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुखले सांसदहरू हाजिर गरेर हिँडेपछि महत्वपूर्ण विधेयक पास गर्न नसकेको बताए ।

सांसदहरू आफ्नो भत्ताका लागि मात्रै संसदमा पुगेर हाजिर गरी निस्कने गरेका छन् । यसैबीच सभामुखले पटकपटकको बैठकमा विधेयक पास गर्न गणपूरक संख्या नपुगेपछि स्थगित गर्दै आएका छन् ।

साउन महिनामा आजसम्म ११ दिन संसद बैठक बसेको छ । जसमा पहिलो बैठकमा अधिक मात्रामा सांसदहरू उपस्थित भए पनि दोस्रो बैठकमा सांसदहरू बैठकमा नजाने तथ्यांकले देखाएको छ ।

आइतबार मात्रै प्रतिनिधिसभाको बैठकको पहिलो बैठकमा कूल सांसदमध्ये १७९ जना उपस्थित भएका थिए । दोस्रो बैठकसम्म आइपुग्दा सांसदहरू बैठकमा उपस्थित नै भएनन् । बैठकमा सांसदहरू ‘बंक’ गरेर हिँडेपछि सभामुख सापकोटाले विधेयक पास नगरी मंगलबार अर्थात भोलिका लागि बैठक स्थगित गरेका थिए ।

साउन महिनाकाे २९ गतेसम्म कूल ११ पटक संसद बैठक बसेकाे देखिएको छ । जसमा १३ गते बसेकाे बैठकको दोस्रो बैठकमा पनि १०६ जना सांसद उपस्थित भएका थिए ।

‘हामीभन्दा माथि पनि कानून छ, हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहेनत र परिश्रम ग‍र्‍यौं ? त्यो मूल्यांकनको कुरा छ, हाम्रा सबै कुरा जनताले हेरिरहेका छन्,’ सांसदहरूले आफ्नो जिम्मेवारीप्रति बफादार नबनेको भन्दै सभामुख सापकोटाले भने, ‘हामीले कतिपटक घण्टी बजाउनु परेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिञ्जेल पर्खिनु परेको छ मन्त्रीहरू बोलाउनका लागि, हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’

प्रतिनिधिसभा माननीय सदस्यको श्रावण महिनाको हाजिरी

प्रतिक्रिया