मंगलबार, वैशाख ११, २०८१

चुनावी तालमेलको प्रस्ताव बोकेर हृदयेश त्रिपाठी बालकोटमा

त्रिपाठीले ओलीसँग भने - ‘अहिले मसँग पार्टी छ, अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला ।’

मेरोन्यूज २०७९ साउन ३० गते १५:५०

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले मसँग पार्टी छ । अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला । ’

राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा पनि सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । त्रिपाठी ओली सरकारमा छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्यमन्त्री बनेका थिए ।

गुप्ता एमाले प्रवेश गरिसके भने त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी बनाएका छन् ।

भेटमा एमाले र जनता प्रगतिशील पार्टीकाबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया