शुक्रबार, चैत १६, २०८०

सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक

मेरोन्यूज २०७९ साउन ३० गते १४:१०

मुगु । मुगु सदरमुकाम गमगढी बजारदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणको काम रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको छ । गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याड वासी एक दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन ।
गमगढीदेखि राराको माथिल्लो मिलीचौरसम्मको १६ किलोमिटर सडक निर्माणको काम भने सकिएको छ । गत वर्ष गाउँपालिकाले प्रारम्भिक रूपमा वातावरणीय प्रभाव मुल्यांकनसमेत गरेर निर्माणका लागि अनुमति मागेको थियो । तर, निकुञ्जले अनुमति नदिएपछि सडक निर्माणको काम अवरुद्ध बनेको हो । निकुञ्ज क्षेत्रमा सडक नबन्दा खत्याडवासीलाई जुम्लाको गोठीज्युला भएर गमगढी पुग्नुपर्ने बाध्यता छ । यो यात्रा तय गर्न एक दिन पूरै लाग्छ ।
त्यसैले स्थानीयवासी पैदलै हिँडेर आउजाउ गर्ने खत्याड–८ का जन्मजय भण्डारीले बताए । उनका अनुसार निकुञ्जबाट सडक खनिएमा करिब ५ घण्टामै सदरमुकाम पुग्न सकिन्छ । खत्याड गाउँपालिकादेखि निकुञ्जसम्म जोड्ने ग्राभेल सडक निर्माण भइसकेकाले पनि निकुञ्जले अनुमति दिनुपर्ने उनले बताए । निकुञ्जबाट हामीले सेवासुविधा केही पाएनौं, खालि दुःख मात्रै पाइरहेका छौं, उनले भने, ‘निकुञ्जले सडक छेकेर हामीलाई धेरै सास्ती दिएको छ ।’
सडक निर्माण रोकिएपछि खत्याड, हयाङलु, सुकाढिक, रातापानी, बिना, रिघा लगायत बस्तीका स्थानीय हिँडेरै सदरमुकाम आउन बाध्य छन् । सडक नबन्दा बिरामीलाई स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ ।
जिल्ला अस्पताल टाढा हुँदा अधिकांश बिरामी उपचारका लागि बाजुराको कोल्टी जाने गरेका छन् । निकुञ्जको बाटो भएर सदमुकाम आउँदा वन्यजन्तुले आक्रमण गर्ने जोखिम रहेको स्थानीय कमानबहादुर रावतले बताए ।

उतातिर पनि खत्याडको गम्थादेखि निगालबोट हुँदै समानेसम्मको सडक बनिसकेको भए पनि निकुञ्ज क्षेत्रको १७ किमिमा सडक खन्न समस्या भएको खत्याड गाउँपालिकाका उपप्रमुख सरिता रोकायाले बताइन् ।

प्रतिक्रिया