शुक्रबार, वैशाख ७, २०८१

योगमाया विश्वविद्यालयलाई ४८ रोपनी जग्गा

मेरोन्यूज २०७९ साउन ३० गते १३:४८


किमाथाङ्का । विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुङ्गे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८।६७ रोपनी जग्गा रजिस्ट्रेसन पास भएको समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए । स्थानीय मानबहादुर तामाङ १९।९२, तिलकबहादुर तामाङ चार दशमलव ४८, ग्यामबहादुर सुब्बा चार, धनमाया श्रेष्ठ दुई दशमलव दुई, केशरबहादुर श्रेष्ठ एक दशमलव ५४ र सफलमाया श्रेष्ठको १६।७१ रोपनी जग्गा पूर्वाधार समितिको नाममा रजिस्ट्रेसन पास भएको राईले बताए । जग्गा खरिद गर्न सरकारले समितिको नाममा रु सात करोड विनियोजन गरिसकेको छ ।

प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो । तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालय स्थापना भइसकेको छ । अरुण उपत्यकामा स्थापना हुने भएसँगै स्थानीय उत्साहित भएका छन् ।

विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको तीन सय ७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकामा दुई सय ३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ । वि।स।१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गर्नुभएको थियो । उहाँलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ । उहाँको वास्तविक नाम मायादेवी न्यौपाने हो । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय स्थापना भएको हो ।रासस

प्रतिक्रिया