बिहीबार, वैशाख १३, २०८१

पेट्रोलियम पदार्थको उधारो असुलीमा दूतावासमार्फत नेपाल सरकारलाई भारतको ताकेता

नेपाल आयल निगमप्रति भारतको गम्भीर अविश्वास, चुनावको मुखमा फेरि तेल रोक्न सक्ने आशंका

मेरोन्यूज २०७९ साउन २९ गते १७:३५

काठमाडौं। भारत सरकारले पेट्रोलियम पदार्थ खरिद गर्दा नेपालले तिर्नुपर्ने उधारो असुलीमा ताकेता गरेको छ । सम्भवत पहिलो पटक नेपालस्थित भारतीय दूतावासमार्फत नै पत्र पठाएर उधारो असुलीमा भारतको केन्द्र सरकारले ताकेता गरेको हो ।

नेपाल आयल निगम प्रति गम्भीर अविश्वास जनाउँदै उसले दूतावासमार्फत नेपाल सरकारसाग ताकेता गरेको छ । नेपालले भारतलाई पेट्रोलियम पदार्थ खरिदको ३१ अर्ब १६ करोड रुपैयाँ उधारो तिर्न बाँकी छ । त्यही रकममा भारत सरकारले सिधै दूतावासमार्फत असुलीको विषयमा ताकेता गरेको हो ।

इन्डियन आयल कर्पोरेसनले निगमलाई बक्यौता तिर्न पटक-पटक ताकेता गरिरहेको छ। सामान्यतया आन्तरिक ऋण मामिलामा कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमले आफैं छलफल गरेर यस्ता विषय टुग्याउन सक्ने थिए । विगतमा यसरी नै टुग्गिदैं आएको पनि थियो । तर यो पटक भने भारतको केन्द्र सरकारले नै ताकेता गरेको हो ।

कुनै पनि देशको दूतावास सम्वन्धित देशको सरकारको प्रतिनिधीमूलक सस्था हो । भारतीय दूतावासले अहिले पत्र लेखेर ताकेता गरेपछि यो भारतको केन्द्र सरकारकै ताकेताको रुपमा लिनुपर्ने हुन्छ । दूतावासले यसरी उधारो असुलीमा चासो राखेर पत्र पठाएको सम्भवत यो पहिलो पटक हो ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदैं उधारो तिर्न नेपाल सरकारलाई सहजीकरण गरिदिन भनिएको छ। उसले इन्डियन आयल कर्पोरेशनलाई जुलाई ८ सम्मको उधारो तिर्न सहजीकरण गरिदिन पत्रमा भनेको छ ।

पत्रमा उल्लेख गरिएअनुसार निगमले कर्पोरेसनलाई १९ सय ४९ करोड भारु (३१ अर्ब १६ करोड रुपैयाँ) तिर्न बाँकी छ।

यो रकम तिर्न नेपाल सरकारले नै सहजीकरण गरिदिन परराष्ट्रमार्फत भारतीय दूतावासले भनेको हो । यसरी दूतावासमार्फत सिधै परराष्ट्रलाई पत्र लेखेर उधारो असूलीमा चासो राख्नु भनेको नेपालको आयल निगमलाई भारतीय सरकारले विश्वास नगरेको अर्थमा लिन सकिने अवस्था छ ।

भारतले नेपाललाई पेट्रोलियम पदार्थ खरिदमा नै असहयोगी बन्ने सम्मको रणनीति बनाई पहिलो चरणमा दूतावासमार्फत पत्र पठाएको दूतावास स्रोतले जनाएको छ ।

नेपाल सरकारले ऋण तिर्नमा सहजीकरण नगरेमा आगामी मंसिर ४ गते नेपालमा निर्वाचन तोकिएको सन्दर्भमा त्यही वेला पारेर उसले पेट्रोलियम पदार्थ नै वन्द गरिदिनेसम्मको योजनामा रहेको पनि वताइन्छ । यस अगाडी पनि नेपालमा संविधान जारी भएपछि भारतले त्यसप्रति विमति जनाउँदै पेट्रोलियम पदार्थ नाकावन्दी लगाएको थियो । जसकाकारण पेट्रोलियम पदार्थ अभाव भएको थियो ।

प्रतिक्रिया