बिहीबार, चैत १५, २०८०

हाजिर गरेर सांसद टाप कसेपछि प्रतिनिधीसभा बैठक मंगलबारसम्म स्थगित

मेरोन्यूज २०७९ साउन २९ गते १६:१४
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठकमा सांसदहरु संसद भबन बानेश्वर पुगेर हाजिर गदैं टाप कसेपछि गणपूरक संख्या नपुगेको हो । गणपूरक संख्या अपुग भएपछि प्रतिनिधीसभाको विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो । बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरेका थिए ।

तर बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने जम्मा ६७ सांसद मात्रै उपस्थित भएका थिए ।

संसद चल्नका लागि गणपूरक संख्या अर्थात कुल सांसदको एक चौथाई अर्थात ६९ जना सांसद आवश्यक हुन्छ । दुई जना सांसद नपुग्दा बैठकले विधेयक पारित गर्ने प्रक्रियामै अवरोध आएको थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटसम्म स्थगित भएपछि पनि एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या नपुगेको हो । उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद उपस्थित थिए । त्यसपछि १५ मिनेट सभा बैठक स्थगित गरिएको थियो । १५ मिनेट बैठक स्थगित गर्दा पनि सांसदहरूको संख्या ६९ नपुगेपछि कार्यसूचीमा रहेका बाँकी बिजनेस सूचीबाट हटाएर सभामुख अग्नि सापकोटाले बैठक नै स्थगित गर्नुपरेको थियो ।

Advertisement

प्रतिक्रिया