बिहीबार, वैशाख १३, २०८१

हलचोकमा पूर्व आईजीपी पुष्परामको आफ्नै सचिवालय !

मेरोन्यूज २०७९ साउन २९ गते १४:५२

काठमाडौँ । नेपाल सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा १९ दिने आईजीपी पुष्पराम केसीले हालसम्म पनि आफ्नै सचिवालय राख्न सफल भएका छन् ।

उनले १९ दिन आईजीपी हुँदा संगठन सुधारको नाममा अनुगमन इकाई खोलेर मुख्यालयका दुई विभागलाई निष्क्रिय पार्दै मातहत कार्यालयमा आतंक फैलाउन सफल भएका केसीको त्यही इकाई उनको सचिवालय जस्तै अहिले पनि छ ।

त्यसबेला केसीका पीए डीएसपी विनोद कार्की र उमेश थापाले ल्यापटपमा सचिवालय चलाएका थिए । पूर्व आईजीपी शैलेन्द्र खनालको सचिवालयमा रहेका सम्पूर्ण कर्मचारीलाई भूमिकाविहीन मात्र बनाएका थिएनन्, १९ दिनभित्र सरुवा बढुवा गर्दे छिन्नभिन्न बनाइएका थिए ।

तर, राजु अर्याल आईजीपी भएर आएपछि पनि उनीहरू नै हाबी हुने गरी सचिवालयमा कार्यरत रहेका छन् । अहिले पनि दुई डीएसपीसहित अर्का डीएसपी सुदीप रेग्मीसमेत त्यही इकाईमा रहेर पुष्परामको निर्देशनमा काम गर्छन् । अनुगमनको नाममा मतहत कार्यालयलाई हैरानी दिने र अनेक किसिमका योजनाहरू त्यही बसेर बनाउने गरेका छन् ।

सचिवालयबाट फोन गरेको त्यहाँको हालखबर के छ । यता अलि गुनासो आएको छ नि के हो भन्दै फोन गर्ने गरेको स्रोतको दाबी छ । ‘मानौँ उहाँहरूले ठूलै अनुगमनको जिम्मेवारी पाएको जसरी प्रस्तुत हुने गरेका छन्, अनगमनको जिम्मेवारी पाएकाहरू जिल्लामा आएर हेरेकै छन्, तर उनीहरूले बेला बेला फोन गरेर हैरानी दिने गरेका छन्’, जिल्लास्थित एक कार्यालय प्रमुखले बताए ।

यसका साथै सरुवादेखि अन्य नीति कुरामा समेत उनीहरू हाबी हुने गरेका छन् । यसका साथै केसीको पीए बसेकाले डीएसपीमा एक नम्बरमा बढुवा भएका कार्कीलाई विभागको आदेशसमेत लाग्दैन । स्केलमा बाँडिएको बाहेक अन्य बुट प्रयोग नगर्न सशस्त्र मुख्यालयले बनाएको नियम आईजीपीदेखि सिपाहीसम्मले पालना गर्दा कार्की भने अझै पनि आफूखुशी बुट प्रयोग गरेर सचिवालयको वरिपरी घुमेर चुनौती दिने गरेका छन् ।

यता, झण्डै ३० लाख बढी खर्च गरेर १९ दिने आईजीपी केसीले रातारात बनाएको संग्रहालयसमेत यतिखेर वेवारिसे बनेको छ । सचिवालयमा भएको ब्याङ्केट हल मासेर केही पूर्व आईजीपिको ड्रेस र फोटो राखिएको संग्रहालय कुनै हेर्न लायक नभएपछि सञ्चालन कार्यविधि समेत बनेको छैन । ‘अनावश्यक खर्च गरेर बनाइएको सो संग्राहलयमा केही पनि राखिएको छैन, के राख्ने भन्ने पनि टुंगो छैन’, मुख्यालय स्रोतले भन्यो ।

प्रतिक्रिया