शुक्रबार, चैत १६, २०८०

लायकु भैरव नाच अवलोकन गर्न पुगे उपराष्ट्रपति पुन

मेरोन्यूज २०७९ साउन २९ गते १४:१६

काठमाडौँ । भक्तपुरको सांस्कृतिक नगरी मध्यपुर थिमिमा आएर उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक धार्मिक एवं सास्कृतिक लायकु भैलः प्याँख अर्थात लायकु भैरव नाच अवलोकन तथा प्रसाद ग्रहण गरेका छन् । शनिबार राति सवा ९ बजे उनी मथिनपा ४ स्थित बालकुमारी मन्दिरमा आएर लाय्कु भैलः प्याँख अवलोकन गरेका हुन् ।

यससँगै उपराष्ट्रपति पुन ऐतिहासिक धार्मिक एवं सांस्कृतिक लाय्कु भैलः प्याँख अवलोकन गर्ने पहिलो विशिष्ठ व्यक्ति भएका छन् । त्यतिमात्र होइन, मध्यपुर थिमि नगरमा औपचारिक रुपले आउने पुनः तत्कालीन राजा महेन्द्रपछि दोश्रो विशिष्ठ व्यक्तिसमेत बनेका स्थानीयले बताएका छन् ।

राजधानीसँग जोडिएको नगर भएपनि विशिष्ठ व्यक्तिहरूको नजरमा नपरेको लाय्कु भैलः प्याँखको उपराष्ट्रपति पुनले अवलोकन गरेकोप्रति स्थानीय दंग देखिएका थिए । उपराष्ट्रपति पुनले करिब १ घण्टा मध्यपुरथिमि ४ स्थित बालकुमारी मन्दिर प्रांगणमा रही भैरव नाच अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

आयोजकले स्टेजको व्यवस्था गरेको भएता पनि त्यहाँबाट हेरेर चित्त नबुझेपछि आम मानिस जस्तै उनले तलै ओर्लेर दर्शकसँगै बसी देवी देउताको नाच अवलोकन गरे । लाय्कु भैलः प्याखँप्रति स्थानीयको श्रद्धा देखेर आनन्दित उपराष्ट्रपति पुनले प्याखँ इतिहासले दिएको सम्पत्ति भएकाले जोगाइराख्न पर्नेमा जोड दिएका नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए ।

उपराष्ट्रपति पुन मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा लाय्कु भैलः प्याखँ अवलोकनका लागि मध्यपुर थिमिमा आएका थिए । उनलाई मध्यपुर थिमिका मेयर सुरेद्र श्रेष्ठ र उपमेयर विजय कृष्ण श्रेष्ठ लगायतले स्वागत गर्नुका साथै प्याखँबारे थप जानकारी गराएका थिए ।उपराष्ट्रपति पुनलाई गुरु अर्जुन श्रेष्ठले टिकाप्रसाद र भैरवनाथको मुकुण्डो तथा निरन्जन श्रेष्ठले फूलमाला प्रसाद प्रदान गरेका थिए ।

Advertisement

लायकू दरबारबाट निस्किएर लाय्कु भैलः प्याखँ अर्थात लायकू भैरव नाच बालकुमारी मन्दिर प्राङ्गणलगायत विभिन्न टोलमा ४ दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म सञ्चालन हुने गर्दछ । भैलः प्याखँमा पाँच जना देवी देवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी ठूलो समूह खटिएको थियो । मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैलः प्याखँको विकास, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा उपराष्ट्रपति पुनको आगमन महत्वपूर्ण भएको नगरपालिकाको भनाइ रहेको छ ।

उक्त अवसरमा बागमती प्रदेशका मन्त्री शालिकराम जमरकट्टेळ, सांसदद्वय प्रतिमा श्रेष्ठ र डा राजेन्द्रमान श्रेष्ठ त्यसै गरी भक्तपुर सीडीओ रुद्रादेवी शर्मा लगायत सुरक्षा निकायका प्रमुखहरु, नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य दिलिप प्रजापति, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मेयर मदनकृष्ण श्रेष्ठ लगायतका नेताहरु समेत उपराष्ट्रपति पुनसँगै लाय्कु भैलः प्याखँ अवलोकनमा सहभागी भएका थिए ।

प्रतिक्रिया