बिहीबार, वैशाख १३, २०८१

एमालेलाई तराईमा सिके राउत, पहाडमा राप्रपाको साथ !

मेरोन्यूज २०७९ साउन २९ गते २०:५५


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेस र सरकारवादी वामपन्थी दलहरूलाई वैचारिक-राजनीतिक रूपमा अलग धार भएका तर चुनावमा एमालेविरुद्ध गठबन्धन गरेर सिद्धान्तच्यूत भएको आरोप लगाउँदै आएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सत्तारूढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाउँदै गठबन्धन सिद्धान्तहीनहरूको अनौपचारिक सम्मिलन जस्तै भएको बताएका छन् ।

‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ?’, उनले प्रश्न गरेका थिए । तर एमालेलाई समेत एक प्रकारको बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।

पहिलेको भन्दा तराई मधेशमा राम्रो अवस्था बनाएको एमालेले महन्थ ठाकुरको लोसपासँग सहकार्यको इच्छा व्यक्त गरे पनि खास जवाफ पाउन सकेको छैन । ठाकुरले नेतृत्व गरेको लोसपा यतिबेला सत्ताको नेतृत्व गरिरहेको कांग्रेससँग नजिक हुन खोजिरहेको छ ।

सत्तारूढ गठबन्धन दल संघीय संसदको निर्वाचनमा एकापसमा विभाजित हुने अवस्था देखिएको छैन । सिट बाँडफाँटको क्रममा कही कतै झुक्किएर गुटबन्दी भए वा बागी उम्मेदवार भएको अवस्थामा मात्रै एमालेलाई फाइदा हुने भएकाले एमालेका लागि साना दल पक्रेर स-सानो तहमा गठबन्धन गर्नुको विकल्प छैन ।

‘एमालेले यतिबेला तराई मधेशमा सिके राउतसँग र अन्य क्षेत्रमा परिवार दल, राप्रपालगायतका साना दलसँग मात्रै गठबन्धन गर्ने ठूला दल सबै एमालेविरुद्धमा संगठित भएको छन्,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

यही परिस्थितिमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ । शुक्रबार बालकोटस्थित ओलीनिवासमा दुई अध्यक्षबीच करिब डेढ घण्टा छलफल भएको र सहकार्यका लागि दुवै सकारात्मक देखिएका हुन् । त्यसअघि गत बुधबार राप्रपाका दुई नेतृहरू कुन्ती शाही र रेखा थापाले ओलीसँग भेटघाट गरेका थिए ।

दमक नगरपालिकामा कांग्रेससँग मिलेर एमालेविरुद्ध उम्मेदवारी दिएको राप्रपाले एमालेसँग सहकार्य गर्ने चाँजोपाँजो मिलाउन थालेको छ । झापाको क्षेत्र ३ मा कृष्ण सिटौलाले गठबन्धनका तर्फबाट उम्मेदवारी दिने भए पनि राप्रपा अध्यक्षले ओलीसँग भेटघाट गरी सहकार्यको प्रस्ताव गरेका थिए ।

गत स्थानीय चुनावमा एमालेले राप्रपाबाट फुटेर बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालसँग सहकार्य गरेको थियो । तर, केही स्थानमा भएको तालमेल प्रभावकारी नदेखिएपछि यसपटक ओली आफ्नै जिल्लावासी नेता लिङ्देन नेतृत्वको राप्रपातिर मोडिएका हुन् ।

स्थानीय निर्वाचनको अंक गणितले झापामा ओलीलाई सहज भए पनि लिङ्देनलाई सहकार्यविना चुनाव जित्न गाह्रो देखिएको छ । त्यसैले उनी वैकल्पिक गठबन्धनको गृहकार्यमा जुट्दै ओलीको साथ खोजेको स्रोतको दाबी छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ र लिङ्देन क्षेत्र नम्बर ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो होल्ड रहेकाले राप्रपा गठबन्धनमा आएमा ओलीलाई निर्वाचन जित्न सहज हुने छ । उता लिङ्देनका क्षेत्रमा कांग्रेसका तर्फबाट सिटौला उम्मेदवार बन्ने अवस्थमा आएकाले दुवैले सहज जित निकाल्न एक अर्कालाई सहयोग गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

यस्तै, यसपटक उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा सिके राउतले उम्मेदवारी घोषणा गरेका छन् । सप्तरीमा राउतको निकै प्रभाव मानिन्छ । त्यहाँ एमालेले सहयोग गर्ने सम्भावना रहेको र तराईका अन्य क्षेत्रमा राउत पक्षले एमालेलाई सहयोग गर्ने अवस्था रहेकाले पनि ओली र राउतको सहकार्यको समभावना बढेको छ । सप्तरीमा एमाले कमजोर छ ।

तराई मधेशमा एमालेले महन्थ ठाकुरको लोसपासँगको सहकार्यलाई नै जोड दिइरहेको छ । तर, लोसपाले यतिबेला सहज जित निकाल्न एमालेभन्दा कांग्रेस बढी सहयोगी हुने भएकाले सत्तासँगै सहकार्यको चाहाना राखेको छ । त्यहाँ उपेन्द्र यादव बाधक रहेकाले लोसपा एमालेतिर आउने सम्भावना बलियो नै रहेको छ ।

प्रतिक्रिया