बुधबार, वैशाख १२, २०८१

पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् : नेता केसी

मेरोन्यूज २०७९ साउन २८ गते १४:२०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरे । उनले गठबन्धनमा मात्रै नभई अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखे ।

उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरेका छन् । उनले यदि, संस्थापक पक्षले मनपरी टिकट दिए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए ।

उनले गठबन्धनका दलहरूले पनि गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरित हुने भएकाले यसबारेमा छलफल गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनलाई सही बाटोमा लैजान र संविधानसम्मत अघि बढाउन जनता र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनु पर्ने बताए ।

केन्द्रीय सदस्य केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा असर गर्ने दाबी गरे ।

प्रतिक्रिया