मंगलबार, चैत ६, २०८०

सत्ता गठबन्धन कायम रहँदा एमालेका यी ९ नेता मात्रै हुनसक्छन् ‘सुरक्षित’

सहज जित्ने अनुमान गरिएको ९ मध्ये ८ क्षेत्रमा यस अगाडी पनि एमाले उम्मेदवार नै विजयी थिए

मेरोन्यूज २०७९ साउन २८ गते १३:५९

काठमाडौं । मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनको चुनावी मिति तय भएको छ । चुनाव आउन सय दिन मात्रै वाँकी रहँदा दलहरुका अनेक गठबन्धनको प्रयास जारी छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले अहिले सत्ता गठबन्धनभित्रै रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेरै चुनाव लड्ने घोषणा गरिसकेको छ ।

गत स्थानीय तह चुनावमा दलहरुले जितेको परिणामलाई लिएर दलहरु एक्लै चुनाव लड्दा, गठबन्धन गरेर चुनाव लड्दा र गठबन्धन पनि कस्तो बन्दा कस्तो परिणाम आउँछ भनेर सम्भावित चुनावी सर्वेक्षणहरु भईरहेका छन् ।

वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा सेन्टर फर डेटा जर्नलिज्म नेपालका अरुण कार्कीले गरेको तथ्यांक विश्लेषण, ग्लोबल इष्टिच्युट फर इन्टाडिसिप्लिनसरी स्टडिजका कार्यकारी निर्देशक उत्तमबाबु श्रेष्ठले गरेका अध्ययन र कांग्रेसकै पनि मिनेन्द्र रिजाल देखि गृहमन्त्री बालकृष्ण खाँणसम्मका नेताहरुले गरेको विश्लेषण सम्मले चुनावका सम्भावित परिदृश्यहरुका बारेमा ब्याख्या /विश्लेषण गरिरहेका छन् ।

तर यी सवैका तथ्यांकका आधारमा हेर्दा अहिलेकै परिदृश्य देखिए संसदमा रहेको सवैभन्दा ठूलो दल नेकपा एमाले प्रत्यक्ष तर्फ जम्माजम्मी ९ सिटमा मात्रै खुम्चने अवस्था छ । तर एमालेले राप्रपा लगायतका अन्य दलहरुको वीचमा गठबन्धन गरेर चुनाव लडेमा भने चुनावी परिणाममा १७ देखि २० सिटसम्म एमाले नेतृत्वको गठबन्धनले जित्न सक्ने आंकलन गरिएको छ ।

तर अहिलेको सत्ता गठबन्धन कायमै रहेमा र एमाले एक्लै चुनावमा लडेमा गत स्थानीय तहको चुनावका आधारमा हेर्दा एमालेले ९ सिट प्रत्यक्ष चुनाव जित्ने आँकडा छ । यसरी सार्वजनिक आँकडाका आधारमा हेर्दा प्रत्यक्षमा जित्ने र ग्रिन जोनमा देखिएका एमालेका नेताहरु यस्ता छन् –

Advertisement

यी हुन् ग्रिन जोनका ९ निर्वाचन क्षेत्र

कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारूढ गठबन्धनले निरन्तरता पाएमा त्यसको चोट सवैभन्दा धेरै एमालेलाई पर्नेछ ।

गत स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतलाई हेर्दा यस्तो गठबन्धनविरुद्ध एमालेले जम्मा ९ निर्वाचन क्षेत्रमा जित्न सक्नेछ । जसमा काठमाडौं– ५, झापा– १, झापा– २, झापा– ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)– २, पर्वत, पाल्पा– १, मनाङ र मुस्ताङ रहेका छन् । भक्तपुर–१ मा नेमिकपाले जित्न सक्ने देखिन्छ ।

सत्तासिन गठबन्धनले १ सय ५४ स्थानमा जित्ने सम्भावना देखिन्छ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग सहकार्य गर्दा पनि एमालेले एक सिटसमेत थप्न सक्ने छैन । तर लोसपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई साथ लिन सक्यो भने एमाले नेतृत्वको गठबन्धनले २० सिट जित्न सक्ने देखिएको छ ।

अहिलेको अवस्थामा एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष इश्वर पोखरेल मात्र पदाधिकारी तहमा सुरक्षित छन् । अन्य पदाधिकारी कोही पनि सुरक्षित देखिएका छैनन ।

अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ मा गौरीगंज गाउँपालिकाका वडा नम्बरहरु ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नम्बरहरु १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिकाका सबै वडाहरु र कमल गाउँपालिकाका सबै वडा पर्दछन्। यी सबै गरी झापा- ५ मा २९ वटा वडा छन्।

स्थानीय तहको निर्वाचनमा एमालेले २९ वटै वडामा अध्यक्षमा उम्मेदवार उठाएको थियो। ती उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ४१ हजार ६१९ छ । त्यस्तै, कांग्रेसले वडाध्यक्षमा उम्मेदवारी दिएका १८ वटा वडाबाट २२ हजार ९३२ मत पाएको छ। अर्को दल माओवादी केन्द्रले वडाध्यक्षमा उम्मेदवारी दिएका ११ वटा वडाबाट ९ हजार ८७८ मत पाएको छ।

एकीकृत समाजवादीले वडाध्यक्षमा उम्मेदवारी दिएका ८ वटा वडाबाट १ हजार ९८८ मत पाएको छ। राप्रपाले २१ वटा वडाबाट ७ हजार ४६० मत थियो।

त्यस्तै, जनमत पार्टीले ८३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७५४, मंगोल नेशनल अर्गनाइजेसनले २८४, लोकतान्त्रिक समाजवादी पार्टीले १११, नेपाली जनता दलले २६, राष्ट्रिय जनमुक्ति पार्टीले ६८, उन्नत लोकतान्त्रिक पार्टीले ९, विवेकशील साझा पार्टीले ६८ मत पाएका थिए।

फरक–फरक वडामा स्वतन्त्र उम्मेदवारहरुले पाएको मत ३ हजार ४८५ छ। २०७४ को प्रतिनिधीसभा चुनावमा ओली वाम गठबन्धनबाट उम्मेदवार थिए । त्यसवेला उनले राप्रपाको पनि साथ लिएका थिए । त्यसो गर्दा कांग्रेसका उम्मेदवारलाई भारती मतान्तरले उनले चुनाव जितेका थिए । एमाले अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएका थिए । कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए ।

गत स्थानीय तह परिणाम र गत प्रतिनिधीसभा चुनावको परिणाम सम्मलाई हेरेर विश्लेषण गर्दा ओली सुरक्षित जोनमा छन् ।

बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि सुरक्षित नै देखिएका छन् । अघिल्लो चुनावसम्म असाध्यै डेन्जर जोनमा देखिएका पोखरेल गत स्थानीय तह निर्वाचनमा उनको निर्वाचन क्षेत्रमा एमालेले ल्याएको परिणामका आधारमा सुरक्षित देखिएका छन् । कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतलाई गत चुनावमा हराउँदैं वाम गठबन्धनबाट उम्मेदवार बनेर पोखरेलले चुनाव जितेका थिए ।

तर यसपटक कांग्रेस र सत्ता गठबन्धनबाट त्यस क्षेत्रमा को उम्मेदवार बन्छन् ? भन्ने अहिलेसम्म टुग्गो छैन । गत चुनावमा उम्मेदवार बनेका डा प्रकाशशरण महत यसपाली गृहजिल्ल नुवाकोट जाने सोचमा छन् । सोही कारण कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव लड्ने या अरु कोही त्यस क्षेत्रमा आएर चुनाव लड्ने भन्नेमा सत्ता गठबन्धनमा कुनै निर्णय भईसकेको छैन । जसकाकारण पनि पोखरेल सुरक्षित देखिएका छन् ।

झापा १ मा पनि एमाले उम्मेदवार चुनाव जित्ने देखिएको छ । तर गत चुनावमा उक्त निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका सुरेन्द्र कार्काी (राम कार्की)ले जितेका थिए यो क्षेत्रमा ३६ हजार १७३ मत ल्याएर । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ३३ हजार ३१० मत पाएका थिए ।

अहिले स्थानिय तह निर्वाचन परिणाामले एमालेले जित्ने देखाएको छ । तर अव यो क्षेत्रमा एमालेले कसलाई उम्मेदवार बनाउँछ अहिले टुग्गो छैन । तर केन्द्रीय सदस्य रविन कोइराला उम्मेदवार बन्न सक्ने सम्भावना छ । माधव नेपालसँग रहेका कोइराला अन्तिम समयमा माधव नेपालतिर नलागी केपी ओलीतिर खुलेका थिए ।

झापा २ गत प्रतिनिधीसभा निर्वाचनमा पनि एमाले उम्मेदवारले नै जितेका थिए । त्यहाँ पनि एमालेले जित्ने देखिएको छ । पवित्रा निरौला खरेल ४५ हजार ८१७ मत पाएर चुनाव जितेका थिए । उनी पनि माधव नेपाल छोडेर ओलीतिर लागेकी थिइन् ।

नबलपरासीको बर्दघाट सुस्ता पूर्व– २ मा पनि एमाले जित्ने देखिएको छ । त्यहाँ अहिले तिल बहादुर महत क्षेत्री सांसद छन् । उनले गत प्रतिनिधीसभा चुनावमा ३९ हजार ५३ मत पाएका थिए । उनले कांग्रेसका विष्णुकुमार कार्कीलाई पराजित गरेका थिए ।

त्यस्तै, पर्वतमा एमालेले जित्ने परिणाम देखिएको छ । एमालेकी सांसद पदम गिरीले गत चुनावमा ३९ हजार २७५ मत ल्याएर कांग्रेसका अर्जुनप्रसाद जोशीलाई पराजित गरेका थिए । त्यो क्षेत्र अहिले पनि एमलेका लागि ग्रीन जोनमा रहेको छ ।

पाल्पा १ पनि एमालेका लागि सहज हुने देखिएको छ । पाल्पामा यस अगाडी एमालेका दलहवादुर राना विजयी भएका थिए । उनले ३२ हजार ५४९ मत पाएका थिए । कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ मत पाएका थिए ।

मनाङ र मुस्ताङ पनि एमालेले जित्ने स्थानीय तह चुनावको परिणामले देखाएको छ ।

मनाङमा पाल्देन छोपाङ गुरुङ र मुस्ताङमा प्रेम प्रसाद तुलाचन विजयी भएका थिए । अहिले पनि स्थानीय तह चुनावको परिणामले आगामी प्रतिनिधीसभामा एमाले उम्मेदवार कांग्रेस , माओवादीसहितको गठबन्धन बनेपनि सहज जित्ने देखिएको छ ।

प्रतिक्रिया