शुक्रबार, चैत १६, २०८०

टानका महासचिव उम्मेदवार भन्छन् : कोरोनाबाट थला परेका पर्यटन व्यवसायीलाई सहुलियत हुन्छ

मेरोन्यूज २०७९ साउन २७ गते १९:५८

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचन हुँदै छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको छ ।

टानको अध्यक्ष पदमा रामप्रसाद सापकोटा (कमल सापकोटा)को प्यानलबाट महासचिव पदमा उम्मेदवारी नरध्वज तामाङ (क्षितिज)ले उम्मेदवारी दिएका छन् । काभ्रेका तामाङ डेढ दशकदेखि पर्यटन क्षेत्रमा आबद्ध छन् । तामाङ नेकपा एमाले जिल्ला कमिटी काभ्रेका सदस्य र एमाले क्षेत्र नम्बर १ काभ्रे (क) सहसंयोजक पनि हुन् । तामाङ रिमठिम पर्यटन सञ्जाल, सचिव रहेका उनी पर्यटनसँग सम्बन्धित विभिन्न अभियानमा सक्रिय भूमिकामा क्रियाशिल छन् । उनीसँग मेरो न्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईंको उम्मेदवारी भोटको राजनीति गर्न मात्र हो वा टानमा व्यवसायिक संस्कार स्थापना गर्नका लागि पनि हो ?

हाम्रो उम्मेदवारी केवल भोटका लागि मात्र होइन । व्यवसायिक संस्कार बनाउनका लागि हो । त्यसैका लागि समयानुकूल प्रभावकारी एजेण्डा लिएर हामी आएका छौँ । अहिलेसम्म देखिएका समस्यालाई समाधान गर्न र आगामी बाटो सकारात्मक ढंगले तय गर्नका लागि हाम्रो टिम पूर्ण रुपमा प्रतिबद्ध छ ।

साना तथा नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने योजनाहरू के-के छन् ? कोभिड महामारीपछि थला परेको पर्यटन बजारलाई उकास्नका लागि तपाईंहरूसँग के-के योजना छन् ?

Advertisement

कोभिड १९ को महामारीपछि एकदमै ठूलो संकट ब्योहोर्नु पर्‍यो । हाम्रो सरकारी स्तरबाट र पर्यटनसँग सम्बन्धित संस्थाबाट सके जति कोशिस नभएको हो कि जस्तो लागेको छ । यी सबै कुरालाई मध्यनजर गर्दै हाम्रो टिमले साना व्यवसायीलाई प्रोत्साहन गर्नका लागि केही कार्यक्रम ल्याएको छ ।

जसमा सहुलियत ऋणका लागि सहजीकरण गरिदिने, पेशागत शसक्तिकरणका लागि विभिन्न किसिमका तालिम सञ्चालन गर्ने । युवा र शिक्षित पुस्तालाई पर्यटन पेशामा आकर्षित बनाउनका लागि विभिन्न प्याकेजहरू ल्याउने योजनामा छौँ ।

युवा र अग्रज व्यवसायीबीच जोड्ने पुलका रुपमा कसरी कार्य सम्पादन गर्नु हुन्छ ?

अहिलेसम्म टानले खेलेको राम्रो, नराम्रो भूमिका आफ्नो ठाउँमा छ । त्यसका लागि संस्थाप्रति हाम्रो उच्च सम्मान छ । र, मलाई लाग्छ यति कामले मात्र पुग्दैन । सबै सदस्यलाई अपनत्व दिनका लागि थप केही महत्वपूर्ण कामहरू गर्न जरुरी छ । जस्तै वर्षको एउटा मात्र किन नहोस् पुराना र अनुभवी पुस्ताका सदस्य भेला गरेर अन्तक्रिया कार्यक्रम आयोजना गर्ने योजना रहेको छ । यसबाट पुरानाको अनुभव र नयाँ पुस्ताको जोश, जाँगर र दृष्टिकोण जोडेर टानको गरिमालाई अझ उचाईमा पुर्‍याउन सकिन्छ भन्ने लाग्छ ।

बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य कसरी गर्ने सोच्नु भएको छ ?

हाल बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नका लागि टानका सदस्यहरूलाई विभिन्न कार्यक्रममा बढीभन्दा बढी सहभागिता जनाउने वातावरण बनाउने छौँ । र, अस्वस्थ प्रतिस्पर्धाबाट समग्र पर्यटन उद्योगलाई पुग्ने असर र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पर्ने प्रभावबारे सम्पूर्ण सदस्यहरूलाई बुझाउने कोशिस गर्ने छौँ ।

पर्यटन क्षेत्रका श्रमिकहरूका समस्याहरूलाई कसरी सम्बोधन गर्नु हुन्छ ?

टान र व्यवसायीसँग जोडिएका कुरा मात्र छैनन् । यस मामिलामा सबै खाले स्टकहोल्डरहरू चुकेका छन् भन्ने लाग्छ । मेरो विचारमा नेपाल सरकारले पर्यटन क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण र हामी पर्यटन पेशामा आबद्ध व्यवसायीहरूले हेर्ने र बुझ्ने दृष्टिकोणमै धेरै अन्तर छ जस्तो लाग्छ । यसको ज्वलन्त उदाहरणका रुपमा पटक पटक धेरै नै असान्दर्भिक विषयमा पर्यटन क्षेत्रका महत्वपूर्ण संस्थाहरूसँग घनिभूत सल्लाह नगरिकन प्रदेश सरकार, संघीय सरकारले विभिन्न दूरगामी असर पार्ने निर्णयहरू गरेबाटै प्रष्ट हुन्छ ।

र, अर्को महत्वपूर्ण कुरा टानका सदस्य कम्पनीहरूले पनि न्यूनतम मापदण्डलाई हार्दिकतापूर्वक स्वीकारेर कामदारलाई सेवा सुविधा दिनु पर्छ । यदि, दिएन भने नेतृत्वदायी संस्थाका रुपले टानबाट पहल गर्ने छौँ ।

समावेशिकरणको मुलभूत मान्यतालाई स्थापित गर्ने एजेण्डा बोक्नु भएको छ । यसलाई तपाईंहरू कसरी कार्यान्वयन गर्नु हुन्छ ?

अवश्य नै अहिलेको कार्य समिति आफैमा समावेशी छ । यसमा हामीले भूगोल, जाति, लिंगलगायत सबै पक्षलाई समेट्ने कोशिस गरेका छौँ । मलाई लाग्छ, समावेशीकरणको सुरुवात हामीले यो कार्य समितिको घोषणा गरेबाटै सुरु भइसकेको छ । र, निर्वाचनपछि समितिलाई पूर्णता दिने हामीले गर्ने काममा पनि समावेशीकरणको एजेण्डालाई कतै न कतै सम्बोधन हुने गरी काम गर्ने हाम्रो टिमको योजना छ ।

नेपालमा अहिलेसम्म विश्व विद्यालयले पर्यटन बजारलाई लक्षित गरेर पढाई सुरु गरेको पाइँदैन । नेपालको पर्यटन बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि के कस्तो पहल गर्नु हुने छ ?

हाम्रो अहिलेको पर्यटन उद्योगलाई कुनै पनि विश्व विद्यालयले जोडेको पाइँदैन । नेपालको बजार, माग, अवस्थाबारे कतै पनि अध्ययन, अध्यापन हुँदैन । यसबारे कसैको चासो पनि देखिदैन । यस कुरालाई गम्भिरतापूर्वक लिएको पनि देखिन्न । जे भइरहेको छ, त्यो राम्रो भइरहेको छैन ।

हामीले पर्यटन उद्योगलाई विश्व विद्यालयसँग जोड्ने छौँ । पर्यटन क्षेत्रमा ठूलो म्यानपावरको खाँचो छ । त्यसको पूर्ति हुन सकेको छैन । विश्व विद्यालयमा अध्ययन भएको भए, मागअनुसारको जनशक्ति तयार हुन्थ्यो । ट्रेकिङ र विश्व विद्यालयको कक्षालाई कसरी जोड्न सकिन्छ । पुलको रुपमा काम गर्ने हाम्रो भूमिका हुनेछ ।

यसभन्दा अगाडिका कार्य समितिको भन्दा कसरी फरक र उत्कृष्ट काम गर्नु हुन्छ ?

धेरैजसो कुराहरुमाथि नै भनिसकेको छु । र, अन्त्यमा टानको सचिवालय अहिलेको भन्दा व्यवस्थित र परिमार्जित रुपमा कार्य सम्पादन गर्ने छौँ । यसका लागि हामीसँग स्रोत, साधन र जनशक्तिलाई अधिकतम प्रयोग गर्ने र उनीहरुलाई समयानुकूल शसक्तिकरणका कार्यक्रमहरु पनि सञ्चालन गर्ने छौँ ।

यसो भएमा भोलि आउने शिक्षित पुस्ताले पर्यटन क्षेत्रलाई गर्वका साथ स्वीकार्ने र अझ प्रभावकारी ढंगले यो पेशालाई अगाडि बढाउन सक्षम हुनेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया