बिहीबार, असोज १३, २०७९

सरकारका मन्त्रीहरू कहाँ लड्दै छन् चुनाव ?

शितल शर्मा २०७९ साउन २६ गते २१:३५
फाइल फोटो

काठमाडौं । आगामी मंसिर ४ गते संघ र प्रदेशसभाको चुनावको मिति तय भएसँगै राजनीतिक दलका नेताहरू टिकटका लागि लविङमा जुटेका छन् । सत्ता गठबन्धन दलका नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा पहिले पार्टीको नाममा टिकट ल्याउने र त्यसपछि उम्मेदवार बन्ने लविङमा जुटेका हुन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्नु पर्ने भएकाले परिस्थिति कस्तो बन्छ ? कुन पार्टीको उम्मेदवार प्रतिस्पर्धी हुन्छन् ? त्यसको लेखाजोखा गर्न लागेका छन् । यसैबीच प्रतिपक्षका केही नेताले आफूले टिकट पाउनु पर्ने भन्दै लविङ गर्न थालेका छन् । टिकटका आकांक्षी नेताहरू ‘पर्ख र हेर’को नीतिमा देखिएका छन् ।

यसैबीच सरकारका प्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको चुनावी तयारीबारे जनतामा चासो बढेको छ । उनीहरू कहाँबाट चुनाव लड्दैछन् ? त्यसमा कति प्रत्यक्ष चुनाव लड्छन् ? कति समानुपातिकमा बस्छन् ? यसमा चासो बढेको छ ।

कुन मन्त्रीको तयारी कस्तो ?

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निरन्तर जित्दै आएका छन् । उनको निर्वाचन क्षेत्र अहिले पनि त्यही हो । उनी ०४८ सालदेखि अपराजित छन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ को निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै सरकारको नेतृत्वमा पुग्दै आएका छन् । ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्न सक्ने भविष्यवाणी गरेका देउवा पाँचौँपटक प्रधानमन्त्रीको पदमा आसिन छन् । तर, चुनावमा भने सातौँपटक जित्ने तयारीमा छन् ।

Advertisement

केही कांग्रेसी नेताहरूले यसपटक देउवा समानुपातिकमा बस्न सक्ने सम्भावना रहेको औल्याएका छन् । देउवा समानुपातिक बसे उनले जित्दै आएको क्षेत्रमा उनकी पत्नी डा. आरजु राणाले टिकट पाउने पक्का छ ।

कांग्रेसकै केही नेताहरूले देउवाका बारेमा समानुपातिक बस्न सक्ने आंकलन गरे पनि सातौँपटक डडेलधुराबाटै चुनाव लड्ने बताउँछन् । उनले पत्नी आरजुलाई ०७४ सालमा चुनाव लडेको क्षेत्र कैलाली-५ मा उठाउने गरी तयारी गरेको केही नेता बताउँछन् । कैलाली-५ जित्ने अवस्था नबने कञ्चनपुर-३ (जो कांग्रेसका देउवा पक्षीय नेता रमेश लेखकको निर्वाचन क्षेत्र हो) मा उठ्ने विषयमा चर्चा चलिरहेको कांग्रेसका एक नेताले बताए ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँण गत निर्वाचनमा समानुपातिकतर्फबाट सांसद भएर संसद प्रवेश गरेका हुन् । यसपटक उनी प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । उनी चुनाव लक्षित गरी रुपन्देही आउने जाने गरिरहेका छन् ।

यसपकट उनी रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा छन् । यही निर्वाचन क्षेत्रमा ०७० को दोस्रो संविधानसभा निर्वाचनमा खाँण एमालेका वैचारिक नेता घनश्याम भुसालसँग ८२ मतले जितेका थिए । तर, ०७४ मा कांग्रेसले राप्रपासँग चुनावी तालमेल गरेपछि उनी समानुपातिक बसेर त्यो क्षेत्रमा कांग्रेसले राप्रपाका दीपक बोहोरालाई छाडेको थियो । त्यहाँ घनश्यामले जितेका थिए । यसपटक खाँण आफै चुनावको तयारीमा छन् ।

स्थानीय तह निर्वाचनअगाडि मन्त्री खाँण ३ नम्बर क्षेत्र छाडेर १ नम्बरमा आउने गरी तयारीमा रहे पनि स्थानीय तहको निर्वाचनमा रुपन्देही-३ नम्बर क्षेत्रका सबै पालिका कांग्रेसले जितेपछि उनी पुरानो क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको कांग्रेस नेताहरू बताउँछन् ।

सञ्‍चार तथा सूचना प्रविधि ज्ञानेन्द्र बहादुर कार्की सुनसरी-४ बाट चुनाव लड्ने तयारीमा छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा सुनसरी-४ बाट चुनाव लड्ने घाेषणा गरिसकेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई पम्फा भुसाल पहिले जितेको निर्वाचन क्षेत्र ललितपुर-३ बाट चुनाव लड्ने तयारीमा छिन् । त्यो कांग्रेस केन्द्रीय सदस्य मदनबहादुर अमात्यको पनि निर्वाचन क्षेत्र हो । गत चुनावमा भुसालले अमात्यलाई पराजित गरेकी थिइन् । माओवादी केन्द्रकी नेतृ भुसाल निर्वाचन क्षेत्रका मतदातासँग नजिक भएर काम गरिरहेकाले त्यस क्षेत्रमा लोकप्रिय छिन् ।

संघीय मामिला तथा सामान्य प्रशासन राजेन्द्रप्रसाद श्रेष्ठ समानुपातिकबाट सांसद थिए । जनता समाजवादी पार्टीका तर्फबाट उनले यसपटक काठमाडौँमा टिकट पाउने आस गरेका छन् । सिट बाँडफाँडमा काठमाडौँ-७ जसपालाई दिनु पर्ने र त्यसो भएमा आफू प्रत्यक्ष उम्मेदवार हुने उनको तयारी छ । यो क्षेत्रमा कांग्रेसका प्रभवशाली नेता देखिएका छैनन् ।

कांग्रेसले एमालेका रामवीर मानन्धरलाई पन्छाउन खोजे कांग्रेसमा प्रवेश गराएर भए पनि टिकट दिन सकिनेमा सोच बनाएको कांग्रेसको एक सुत्रले बताएको छ । मानन्धर गत स्थानीय तह चुनावमा एमाले उम्मेदवारविरुद्ध खुलेआम असन्तुष्टि पोख्ने नेतामध्येमा पर्छन । त्यसबेला उनले प्रकाशमान सिंहकी पत्नीलाई काठमाडौँ महानगरमा सहयोग गरेको आरोप लागेको छ ।

अर्थमन्त्री जर्नादन शर्मा रुकुम पश्चिमबाट चुनाव लड्ने तयारीमा छन् । उनी यसअगाडि पनि सोही क्षेत्रका सांसद हुन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनयता उनी लगातार सोही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । उनी माओवादी केन्द्रका नेता हुन् ।

खानेपानी मन्त्री उमाकान्त चौधरी बारा-१ बाट चुनाव लड्ने तयारीमा छन् । उनी यसअगाडि पनि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । उनले त्यसबेला बाम गठबन्धनका अच्युत मैनालीलाई पराजित गरेका थिए । यसपटक उनी त्यहीबाट चुनाव लड्ने तयारीमा छन् ।

परराष्ट्र डा. नारायण खड्का उदयपुर-१ बाट चुनाव लड्ने तयारीमा छन् । उनले गत चुनावमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए । खड्का गत चुनावमा वाम गठबन्धनका उम्मेदवार रहेकी एमालेकी मञ्जुकुमारी चौधरीलाई ५४८ मतान्तरका साथ विजयी भएका थिए ।

कृषि तथा पशुपंक्षी विकास मृगेन्द्रकुमार सिंह यादव राष्ट्रिय सभाका सांसद हुन् । त्यसैले उनको अहिले चुनाव प्रतिनिधिसभा तिर चाहनाको विषय छैन । उनी गत प्रतिनिधिसभामा सप्तरी-४ बाट कांग्रेसका तेजुलाल यादवसाग पराजित भएका थिए । उनी जसपाका नेता हुन् । पछि उनी राष्ट्रिय सभामा निर्वाचित भएर आए । उनी अहिले मन्त्री छन् । जसका कारण उनको अहिले प्रतिनिधिसभामा चुनाव लड्ने योजना छैन ।

भौतिक पूर्वाधार तथा यातायात मोहम्मद इस्तियाक राई बाँके-२ बाट चुनाव लड्ने तयारीमा छन् । उनी यसअगाडि पनि त्यहीबाट चुनाव जितेका थिए । यसपटक उनको आँखा त्यही क्षेत्र रहेको छ । जनता समाजवादीका नेता राई वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेर ०७४ मा निर्वाचन जितेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्रप्रसाद बडु दार्चुलाबाट चुनाव लड्ने तयारीमा छन् । अघिल्लो चुनावमा उनी प्रत्यक्ष चुनाव लडेका थिएनन् । समानुपातिक निर्वाचनबाट सांसद बनेका थिए, उनी । यसपटक एमालेका त्यहाँबाट निर्वाचित सांसद गणेश ठगुन्नासँग चुनावी प्रतिस्पर्धा गर्न खोजिरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्र पौडेलको चाहना बागलुङ नै हो । उनी बागलुङ-२ बाट निर्वाचन लड्ने सुरमा छन् । उनी यसअगाडि त्यहीबाट जितेका थिए । माओवादी केन्द्रका नेता पौडेल सिट बाँडफाँटमा उक्त क्षेत्र माओवादीको भागमा पर्ने र फेरि त्यसमा आफू चुनाव लड्ने तयारीमा छन् । तर कांग्रेसका नरबहादुर पुन पनि त्यहाँबाट चुनाव लड्न खोजिरहेका छन् । पुन गत चुनावमा पौडेलसँगै पराजित भएका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मी समानुपातिक सांसदका रुपमा संसदमा आएकी हुन् । उनी चितवनकी हुन् । उनले चितवन-२ मा पार्टीले टिकट दिएमा चुनाव लड्ने तयारीमा छिन् । तर उनी आफूलाई त्यहाँबाट टिकट दिने भन्नेमा विश्वस्त देखिनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शशी श्रेष्ठ चुनावबारे अहिलेसम्म मौन छिन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । माओवादी केन्द्रकी नेतृ उनी पार्टीले काठमाडौँ-२ मा पार्टीलाई सिट बाँडफाँटमा टिकट ल्याएमा र पार्टीले उम्मेदवार दिएमा उठ्ने निकटवर्तीसँग बताउँछिन् । तर उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी जस्तै पार्टीले प्रत्यक्षतर्फ आफूलाई टिकट दिन्छ भन्नेमा ढुक्क देखिनन् ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँके १ बाट प्रत्यक्ष चुनाव लड्ने योजनामा छन् । उनले त्यहाबट आफू चुनाव लड्ने र त्यसका लागि तयारीमा रहे पार्टीका नेता कार्यकर्तालाई निर्देशन गरिसकेका छन् । ०७४ सालको चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । माओवादी केन्द्रका नेता गहतराज गत चुनावमा कांग्रेसका माधवराम खत्रीलाई पराजित गरेर विजयी बनेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) गैर सांसदबाट मन्त्री बनेका हुन् । संक्रमण कालीन न्यायसँग सम्बनिधत विषयको छिनोफानो लगाउनका लागि उनलाई विशेष जिम्मेवारी दिएर नै सत्ता गठबन्धनले सरकारमा सहभागी गराएको हो । उनको उम्मेदवारीको विषय स्पष्ट छैन । तर उनलाई एकीकृत समाजवादीले सत्ता गठबन्धन दलका बीचमा सिट बाँडफाँटमा भागबन्डा मिलाएर चुनाव लडाउन सक्ने सम्भावना भने रहेको बताइन्छ । तर अहिलेसम्म भने उनले पनि यस विषयमा कुनै मुख खोलेका छैनन् । उनले यो निर्वाचन क्षेत्रमा चुनाव लड्ने भनेर कुनै योजना बनाएर कार्यक्रम बनाएको पनि देखिएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ काठमाडौं-८ वाट निर्वाचन लड्ने बताउँछन् । उनी यसअगाडि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । एकीकृत समाजवादीका नेता श्रेष्ठको निर्वाचन क्षेत्र कांग्रेस माओवादीले सिट बाँडफाँटमा छाड्ने सम्भावना अधिक छ । सोही कारण काठमाडौँ-८ मा श्रेष्ठ चुनाव लड्ने निश्चित जस्तै देखिएको छ ।

सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ-१ बाट चुनाव लड्न चाहेका छन् । उनले गत चुनावमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए । दाङको तीनवटा निर्वाचन क्षेत्रमध्ये २ माओवादी नेता कृष्णबहादुर महरा र ३ एकीकृत समाजवादीकै नेता एवम् स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले निर्वाचन जितेको क्षेत्र हो ।

कांग्रेसले यी तीन वटै क्षेत्र माओवादी र एकीकृत समाजवादीलाई छोड्ने देखिदैन । गत स्थानीय तह निर्वाचनमा यो जिल्लाका दुवै उपमहानगरपालिका एमालेले जितेको थियो । जसकाकारण पनि माओवादीका लागि एउटा क्षेत्र कांग्रेस छोड्न तयार देखिए पनि अन्य २ क्षेत्रका बारेमा कांग्रेस लचक देखिएको छैन ।

सहरी विकास मन्त्री चौधरीले दाङ-१ मा चुनाव लड्ने गरी तयारीमा छन् । सिट बाँडफाँटमा के कसरी पर्छ ? तयसकै आधारमा चौधरीको चुनाव लड्ने नलडने बारेमा टुंग्गो लाग्ने देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री भवानीप्रसाद खापुङ ताप्लेजुङबाट चुनाव लड्ने योजनामा छन् । एउटै मात्र निर्वाचन क्षेत्र रहेको यो स्थानमा गत चुनावमा पनि उनले नै चुनाव जितेका थिए । कांग्रेसकी सीता गुरुङलाई पराजित गरेर उनी निर्वाचनमा जितेका थिए । तर अहिले कांग्रेसले ताप्लेजुङ छोड्न नसकिने बताइरहेको छ । एककीकृत समाजवादीमा रहेका खापुङको पार्टीले उक्त स्थानको टिकट सिट बाँडफाँटमा पाएमा उनले त्यहाँ चुनाव लड्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबर अहिले गैर सांसद हुन् । उनी केही अगाडिसम्म राष्ट्रियसभा सदस्य थिए । पदावधि सकिएपछि उनी निर्वतमान सांसद बनेका छन् । भीम रावलको गृह जिल्ला अछाममा उनी अहिले एमालेले भीम रावललाई नै चुनाव उठाए पनि उनीसँगै अछाम-१ बाट चुनाव लड्ने योजनामा छन् ।

अछामको दुई क्षेत्र मध्ये क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ । ०६४ सालमा एमालेको तर्फबाट कुँबर सोही क्षेत्रबाट संविधानसभामा निर्वाचित भएका थिए । त्यसैले उनले सोही क्षेत्रमा चुनाव लड्ने योजनामा छन् ।

वन तथा वातावरण मन्त्री प्रदीप यादव पर्साबाट चुनाव लड्ने तयारीमा छन् । उनी पर्सा-१ बाट चुनावको तयारी गरिहरेका छन् । गत प्रतिनिधिसभा चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले कांग्रेसका अनिल रुंगटालाई पराजित गरेर सांसद भएका थिए । जनता समाजवादी पार्टीका यादव फेरि पनि जसपाबाटै सो क्षेत्रमा चुनाव लड्ने गरी तयारीमा जुटिसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको चाहना यसपटक प्रत्यक्ष चुनाव लड्ने छ । यसअगाडि समानुपातिक सांसद रहेका उनी चितवन-२ बाट चुनाव लड्न खोजिरहेका छन् । प्रधानमन्त्री देउवासँग उनको सम्बन्ध पनि राम्रो छ । कांग्रेसका श्रेष्ठ गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रकी भरतपुर महानगरका उम्मेदवार रेनु दाहालको चुनावका लागि पनि खटिएका थिए । सोही कारण पनि उनले टिकट पाउने चर्चा कांग्रेसमा छ । उनले टिकट पाएमा चितवन-२ उनको तयारीको क्षेत्र हो ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव समाुनपातिक सांसद हुन् । धनुषाकी उनी रामवृक्ष यादवकी छोरी हुन् । माओवादी केन्द्रकी उनी पार्टीले टिकट दिए चुनाव लड्ने नत्र अहिले केही नबोली पार्टी निर्णयअनुसार आफूलाई अगाडि बढाउने योजनामा छिन् ।

स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हिराचन्द्र केसी दाङ-३ बाट चुनाव लड्ने योजनामा छन् । उनी गत चुनावमा सोही क्षेत्रबाट निर्वाचति थिए । एकीकृत समाजवादीका नेता केसीको गृह जिल्लामै शहरी विकास मन्त्री मेटमणि चौधरी पनि एकीकृत समाजवादीकै छन् । उनले पनि दाङ १ ताकिरहेका छन् । दाङमा २ वटै क्षेत्र एकीकृत समाजवादीले पाउने सम्भावना न्यून रहेकाले उनको र मेटमणिको भविष्य सिट बाँडफाँटको विषयले नै टुंग्गो लाग्ने देखिएको छ । यद्यपी, उनले दाङ-३ बाट चुनाव लड्न चाहेका छन् ।

०००

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया