शनिबार, वैशाख ८, २०८१

सिट बाँडफाँट कार्यदलको बैठक : अहिलेकै सांसद संख्यालाई मुख्य आधार बनाउने समझदारी

मेरोन्यूज २०७९ साउन २६ गते १७:२९

काठमाडौं । आगामी ४ मंसिरको चुनावमा तालमेल गर्ने औपचारिक निर्णय गरेको सत्तारुढ दलहरुले अहिलेकै संसदमा दलहरुको रहेको संख्यालाई मुख्य आधार बनाएर सिट बााडफाँट गर्ने समझदारी बनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासिन दलहरुको सिट बाँडफाँट कार्यादलको दोस्रो बैठकले यस्तो समझदारी बनाएको हो ।

त्यस्तै बैठकले सिट बाँडफाँटको लागि ३ आधार बनाउने र निर्णयमा पुगिने गरि छलफल गर्ने समझदारी जुटाएको छ ।

पहिलो, प्रत्यक्षमा पाएको मत र जितेको सिट दोस्रो, समानुपातिकमा पाएको मत र, तेस्रो शीर्षसहितका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउने गरि मापदण्ड बनाउने गरि कार्यदलको बैठकमा छलफल चलेको छ । त्यसमा पनि बिगतमा दलहरुको सहभागीता संख्यालाई आधार बनाउने र संख्या मिलाउने मुख्य समझदारी कार्यदल बैठकमा दलहरूले गरेका हुन ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कांग्रेसका ३ र अन्य दलका २, २ जना नेताहरु रहेको कार्यदल दलहरुले गठन गरेका छन् । अर्काे बैठक साउन ३० गते बस्नेछ ।

साउन मसान्तसम्म रिपोट तयार पारेर शीर्ष नेताहरुलाई बुझाउन कार्यादेश पाएको कार्यादलको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी गरेको कार्यदलको सदस्य रहेका माओवादी केन्द्रका स्थायी कमिटि सदस्य देव गुरुङले बताए ।

‘त्यो बेलाको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको छ’ उनले भने, ‘दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जानुपर्छ ।’

यद्यपि एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाउन नसकिने उनले बताए । स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने गुरुङले बताए ।

प्रतिक्रिया