शुक्रबार, चैत १६, २०८०

आखिर अमेरिका किन चाहन्छ पूर्वी क्षेत्रमा युद्ध ?

मेरोन्यूज २०७९ साउन २० गते ११:१९

अमेरिकी सभामुख न्यान्सी पेलोसीको बलजफ्तीपूर्ण ताइवान भ्रमणसँगै पूर्वी क्षेत्र अशान्त बनेको छ । पेलोसी फर्किएसँगै चीनले ताइवानलाई घेरेर सैन्य अभ्यास सुरु गरेको छ । बिहीबारदेखि चीनले सुरु गरेको सैन्य अभ्यासमा चीनले आफ्ना केही अत्याधुनिक जे-२० जस्ता विमान परिचालन गरेको छ । चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा आइपुगेको जापानले बताएको छ । जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत यसको कडा प्रतिवाद गरेको बताएका छन् ।

उता ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ । ताइवानका रक्षामन्त्रीले प्रक्षेपणको प्रतिक्रियास्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् । चीनले ताइवानको १२ माइल भित्रका धेरै स्थानमा सैन्य अभ्यास गर्ने तय गरेको छ ।

चीनको सैन्य अभ्यासका कारण ताइवान र त्यस क्षेत्रबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका छन् । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएको छ ।

चीनले यसअघि नै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई पटक पटक सचेत गराएको थियो । त्यसलाई अटेर गर्दै पेलोसी ताइवान पुगेपछि चीनले एक चीन नीतिको उल्लंघन गरेको भन्दै नराम्रो परिणाम भोग्ने चेतावनी दिएको छ ।

Advertisement

अमेरिका के चाहन्छ ?
अमेरिकाको एसिया प्रशान्त क्षेत्रमा लामो समयदेखि चासो रहँदै आएको छ । आफूसँग मैत्रीपूर्ण सम्बन्ध भएका ‘फस्ट आइल्याण्ड चेन’ भनिने प्रशान्त महासागरका टापु राष्ट्रसँगै रहेको ताइवानमा अमेरिका जबरजस्त आफ्नो पकड बनाउन खोजिरहेको छ । त्यसका लागि अमेरिकाले ताइवानलाई हतियार बेच्ने सम्मको काम गरिरहेको छ । चीन भने आफ्नो अलग रहेको प्रान्तका रुपमा मान्ने ताइवानमा कुनै प्रकारका यस्ता गतिविधि भएको हेर्न चाहदैन ।

चीनले ताइवानलाई कुनै न कुनै दिन मुख्य भूमी चीनमा सामेल हुने प्रान्तका रुपमा लिन्छ । ताइवान भने अमेरिकासहित पश्चिमा देशको आडमा चीनलाई रोक्ने दाउमा छ । सन् २०१६ मा साइ इंग वेन ताइवानको राष्ट्रपति बनेपछि चीन–ताइवान सम्बन्ध पछिल्ला ४० वर्षयताकै खराब अवस्थामा पुगेको छ ।


अमेरिका चीनसँग सम्बन्ध बिग्रिएको यही अवस्थालाई उपयोग गरेर यो क्षेत्रमा चीनलाई नयाँ द्वन्द्वमा फसाउन चाहन्छ । नेटोमा युक्रेनलाई सामेल गराउने आश्वासन दिएर रुसविरुद्ध उक्साएको अमेरिका युक्रेनले ऐतिहासिक संकट झेलिरहँदा हतियार पठाएको बहाना बनाइरहेको छ ।


युक्रेन युद्धमा अमेरिकाको प्रतिस्पर्धी शक्ति रुसले ठूलो शक्ति खर्च गरिरहेको छ । यो युद्धबाट युक्रेनको अवस्था के हुन्छ भन्ने भन्दा पनि रुसलाई कसरी प्रतिस्पर्धामा आउनबाट रोक्न सकिन्छ भन्ने अमेरिकी चाहना देखिन्छ । त्यही भएर अमेरिकाले युक्रेनमा हतियार पठाएर रुसविरुद्ध प्रयोग गर्न उक्साइरहेको छ । युक्रेनीले अमेरिकी सहयोग पाएको मीठो भ्रममा आफ्नो देशलाई खरानीमा परिणत गरिरहेका छन् ।

ताइवान भ्रमणका क्रममा अमेरिकी सभामुख न्यान्सी पेलोसी


अहिले ताइवानलाई उक्साएर अमेरिका चीनविरुद्ध पनि सोही रणनीति अपनाउन खोजिरहेको छ । पूर्वी क्षेत्रका देशलाई चीनविरुद्ध उकासेर हतियार जम्मा गराउने र आफ्ना हतियारको कारोबार गर्ने, चीनविरुद्ध हतियार यो क्षेत्रमा अमेरिकी अत्याधुनिक हतियार जम्मा गराएर युद्ध सिर्जना गर्ने र चीनको आर्थिक प्रगतिलाई रोक्ने अमेरिकी दाउ देखिन्छ । विश्वको उदाउँदो आर्थिक शक्ति चीनलाई जिस्क्याउने अमेरिकी रणनीतिमा ताइवान आफैं पनि उत्तिकै जिम्मेवार छ ।

ताइवान चीनको एक हिस्सा हो । सन् १९४९ अघि चीनको हिस्सा रहेको ताइवान १९४९ को युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता स्थापना भएपछि स्वतः चीनमा रहनुपर्नेमा अमेरिका र पश्मिमा शक्तिको आडभरोसामा च्याङ काईसेकको सत्ता स्थापना भएको ताइवानले आफूलाई अलग देश ठान्दै आएको छ । यसलाई चीनले सधैं अस्वीकार गर्छ ।


अमेरिकाको अर्को रणनीति भनेको एसिया प्रशान्त क्षेत्रमा चीनलाई युद्धमा फसाउने नीतिमात्रै नभएर रुस युक्रेन युद्धमा सामेल गराउनु पनि हो । अमेरिकाले ताइवानलाई उकासेको बेला चीनले युक्रेनविरुद्धको युद्धमा हतियार पु¥याओस भन्ने चाहाना पनि हो । ताइवानलाई भड्र्कामा चीनले अमेरिकालाई देखाइदिन युक्रेनविरुद्ध रुसलाई सहयोग गर्न सक्ने उसको विश्वास छ । यदि चिनियाँ हतियार युक्रेनमा परीक्षणमा पुगेमा त्यसको शक्तिबारे जानकारी मिल्नसक्ने र चीन युद्धमा प्रवेश गरेको अवस्थामा चीन र रुस दुवैलाई एउटै युद्धबाट कमजोर बनाउन सकिने अमेरिकी रणनीति रहेको विश्लेषकहरु बताउँछन् ।

चीन ताइवान इतिहास र संघर्ष
चीन र ताइवानबीच ७३ वर्षदेखि विवाद चल्दै आएको छ । ताइवान दक्षिणपूर्वी चीनको तटीय क्षेत्रमा छ र यिनीहरुको दुरी करिब २०० माइल मात्रै छ । त्यसै कारण पनि चीन र ताइवानबीच पटक पटक विवाद भइरहन्छ । सन् १८९५ तिर चीनमा चिङ्ग वंशको शासन भएका बेला शक्तिशाली राष्ट्र जापानले चीनको ठूलो क्षेत्र कब्जा गरेको थियो । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानका दुई शहर हिरोसिमा र नागासाकीमा परमाणु हमला गरेपछि जापानको शक्ति कमजोर भयो । चिनियाँ कम्युनिस्ट पार्टीले १९४९ मा सत्ता हातमा लिएपछि च्याङ काईसेक भागेर ताइवान पुगे र चीनको नाममा शासन गर्न थाले ।

ताइवानले स्वतन्त्र देश घोषाणा ग¥यो । सन् १९७१ सम्म ताइवानले नै चीनको रुपमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा प्रतिनिधित्व गरिरहेको थियो । ताइवानलाई हटाएर चीनलाई नै सुरक्षा परिषदमा स्थापित गरिएपछि सन् १९७९ देखि अमेरिका र ताइवानका शीर्ष नेताबीच औपचारिक छलफल भएको थिएन । तर डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ताइवानी राष्ट्रपतिसँग छलफल गरेका थिए । चीनले यसलाई एक चीन नीतिको उल्लंघन बनाएको थियो । अहिले पनि चीनले पेलोसीले एक चीन नीति उल्लंघन गरेको बताइरहेको छ ।


एक चीन नीति सन् १९४९ मा चीनले बनाएको नीति हो । जसअनुसार ताइवानका साथै हङकङ र मकाउसहित चिनियाँ क्षेत्रमा रहेको सामुद्रिक टापुहरुसहितका सबै क्षेत्र चीनभित्रै छन् भन्ने अर्थ हो । ताइवान कुनै दिन चीनको मुख्य भूमिमा नै समाहित हुने कुरालाई अमेरिकासहित सबैजसो राष्ट्रले स्वीकार गर्दछन् किनकि अहिलेसम्म अमेरिकाले एक चीन नीति मान्दै आएको छ । तर पछिल्लो समयमा अमेरिकाको दोहोरो भूमिकाले चीन अमेरिकाप्रति सशंकित र आक्रामक बनेको छ ।

अमेरिका भने २० वर्षसम्म अफगानिस्तान युद्धमा अल्मलिदा चीन र रुसले हासिल गरेको बिशाल शक्तिबाट झस्किएकाले यो क्षेत्रलाई नयाँ द्वन्द्वमा फसाएर हतियारको व्यापार गर्ने, यो क्षेत्रलाई सामरिक रुपमा प्रयोग गर्ने र अमेरिकालाई पुनः एकध्रुवीय विश्वको नेतृत्वमा ल्याउने रणनीतिमा देखिन्छ ।

प्रतिक्रिया