सोमबार, जेठ ७, २०८१

बर्खास्त हुने डरले राजीनामा दिँदै एआईजी पोखरेल !

दया दुदराज २०७९ असार ३१ गते १८:०५

काठमाडौँ । सर्वोच्च अदातलले रिट खारेज गरेसँगै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिने भएका छन् ।

Advertisement

सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसँगै पोखरेलले असन्तुष्टि जनाउँदै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो । रिट खारेजीसँगै उनले राजीनामा दिने मनसाय बनाएका हुन् ।

एआईजी पोखरेल निकट स्रोतका अनुसार उनले आइतबार वा सोमबार राजीनामा दिने तयारी गरेका छन् ।

बर्खास्तीको डर

आईजीपी नियुक्ति भएसँगै एआईजी पोखरेल एक महिना बिदामा बसेका थिए । त्यसपछि उनले पुनः बिदाका लागि निवेदन दिएका थिए । तर, आईजीपी सिंहले बिदा अस्वीकृत गरिदिएका थिए ।

एक महिनाको बिदा सकिएलगत्तै एआईजी पोखरेल आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालय गएका थिएनन् । उनी प्रहरीमा आफ्नो दायित्व पूरा गर्नुभन्दा सर्वोच्चमा परेको मुद्दामा बढी केन्द्रीत भएका थिए ।

सर्वोच्चमा आफूले दायर गरेको मुद्दाका लागि समय दिनु पर्ने भएकाले एआईजी पाखरेल तीनपटक बिदा बस्ने प्रयास गरेका थिए । तर, आईजीपी सिंहले उनको निवेदनलाई अस्वीकृत गरेको थियो ।

प्रहरीको नियमावलीअनुसार ४५ दिनसम्म कुनै कर्मचारी गैरहाजिर भए त्यो कर्मचारी स्वतः बर्खास्त हुने व्यवस्था रहेको छ । त्यही डर एआईजी पोखरेलमाथि पनि छ । आगामी साउन ८ गते पोखरेल गैरहाजिर भएको ४५ दिन पुग्दैछ । ४५ दिन पुगेपछि उनी नियमावलीअनुसार स्वतः बर्खास्त हुने छन् । बर्खास्त भएपछि पेन्सनसहितको सेवा सुविधा नपाउने व्यवस्था छ । त्यसैले पोखरेलले राजीनमा दिने भएका हुन् ।

वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्चको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदर हुने जिकिर रिटमा गरिएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया