बिहीबार, वैशाख १३, २०८१

गठबन्धन तोड्न ओलीको नयाँ कार्ड : नेकपा कालीन संरचना ब्यूँताउने, प्रधानमन्त्री बन्ने

रामकृष्ण अधिकारी २०७९ असार २७ गते २०:२६


काठमाडौं । गत असार १९ गते साँझ नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीको ललितपुरको हात्तीवनस्थित सिटीस्केप अपार्टमेन्टमा रहेको निवासमा तत्कालीन नेकपा कालका बहुमत सचिवालय सदस्यहरूको जमघट भयो ।

राजनीतिमा थाकेर साम्राज्यको सपना देखिरहेका बामदेव गौतममा फेरि उम्रिएको नयाँ जोशले त्यो जमघट गराउन भूमिका खेलेको चर्चा राजनीतिक वृतमा फैलियो । तर, भित्री अन्तर्यको कारण त्यस्तो थिएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै योजनामा उक्त भेटघाट र कार्यक्रम तय भएको खुलेको छ ।

जसको घर (गोकुल भण्डारी) मा उक्त जमघट भएको थियो, उनी प्रचण्डकै भाञ्जा हुन् । प्रचण्डले जसरी पनि कांग्रेससहितको अहिलेका गठबन्धन तोड्ने योजना बनाइरहेको एमालेलाई काउन्टर दिन रणनीतिक रुपमा उक्त जमघट गराएको रहस्य खुलेको छ ।

अहिलेको सत्ता सत्तागठबन्धन टिकिरहे त्यसले आगामी संघ र प्रदेशको चुनावमा आफूहरूलाई ठूलो क्षति पुग्ने भित्री निष्कर्ष एमालेका नेताहरूको छ । त्यसबाट विक्षिप्त रहेको एमालेले गठबन्धन नतोडिए आफ्नो पार्टीका लागि भर पर्दाे र अर्काे गठबन्धन निर्माणका लागि सहयोगी कुन दल हुन सक्छन् भन्ने लेखाजोखा गरिरहेको छ ।

त्यही क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा एमालेका केही शीर्ष नेतासहितको बैठक असार दोस्रो साता बसेको एक विश्वस्त सुत्रले मेरोन्यूजलाई जानकारी गराएको छ । राष्ट्रपतिसँगको उक्त छलफलमा थिए, एमालेका उपाध्यक्षद्वय सुवास नेम्वाङ, विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल । शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराउने भनी चर्चा चले पनि अन्तिममा उनीहरू सहभागी थिएनन् । त्यही छलफलमा जसरी पनि कांग्रेस माओवादीको अहिलेको यो गठबन्धन भत्काउनै पर्ने र ओलीलाई लचक भएर प्रचण्डसामु नयाँ कार्ड फ्याँक्न लगाउनु पर्ने विषयमा छलफल चल्यो ।

त्यसो हो भने के कार्ड फ्याँक्ने ?

नेताहरूसहित राष्ट्रपति निवासमा भएको छलफलमा नेकपा कालीन संगठनात्मक संरचना नै ब्यूँताउने प्रस्ताव फाल्ने निष्कर्ष निस्कियो । त्यसपछि उनीहरूले अधयक्ष ओलीसँग गम्भीर भएर छलफल गरे । ओली पनि प्रस्तावमा तयार भए । तर, उनले शर्त तेर्स्याए– प्रधानमन्त्री त फेरि चुनावपछि म नै बन्ने गरी प्रस्ताव गरेर जानुपर्छ । बरु पार्टी अध्यक्ष प्रचण्ड बने हुन्छ ।

सरकारको बागडोर सम्हाल्ने कार्यकारी प्रधानमन्त्री पद मिले पार्टी स्वतः आफ्नै मातहात ल्याउन सकिने बुझाइमा ओली देखिन्थे । त्यही योजना मुताविक ओली नेकपा कालीन संरचना ब्यूँताउन तयार रहेको सन्देश प्रचण्ड कहाँँ पुर्‍याइयो ।

सातदोबाटोस्थित एक निजी निवासमा विष्णु पौडेलले माओवादी केन्द्रका नेता वर्षमान पुनलाई एक दिन दिनभर भेटे । त्यसपछि पुनमार्फत त्यस्तो प्रस्ताव प्रचण्डसामु पठाएको स्रोत बताउँछ । पुनसँग केही समयअगाडि ओलीको दुतका रुपमा प्रदीप ज्ञवालीले खुमलटारको एक निजी निवासमा भेट गरिसकेका थिए ।

प्रचण्डलाई विष्णु पौडेलले पनि त्यसकै आसपास पारेर एक दिन बेलुकी ९ बजेपछि खुमलटार पुगेर आगामी चुनावमा मिलेरै जाऔं भन्ने प्रस्ताव गरेका थिए । पौडेलको भनाइ उदधृत गर्दै उनका निकटस्थहरू सुनाउँछन, ‘सकेसम्म कांग्रेससँग गठबन्धन तोड्नुस, फेरि आग्रह पूर्वाग्रह त्यागौँ, मिलेरै जाऔँ । त्यो सकिन्न भने, धेरैभन्दा धेरै सिट तपाईंलाई कांग्रेससँग लिने कोसिस गर्नुस्, त्यो भयो भने फेरि आउने संसदमा वामपन्थी मत नै बलियो बन्न सक्छ, नयाँ खालको समीकरण निर्माण हुनसक्छ ।’

पौडेलको त्यस खालको प्रस्तावमा प्रचण्डले खास औपचारिक जवाफ र लचिलो हुने संकेत दिएनन् । मात्र ओली के सोध्छन् आजकाल ? एमाले के गरिरहेको छ ? जस्ता विषयमै छलफललाई प्रचण्डले विषयान्तर गरिदिए । त्यसपछि हो एमाले नेताहहरू राष्ट्रपतिसँग छलफलमा बस्न पुगेको ।

राष्ट्रपति निवासमा ओलीसँगकै सल्लाहमा विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमाल छलफलमा बसेका हुन् । त्यही आधारमा उनीहरुले नेकपा कालीन संरचना ब्यूँताउने नयाँ कार्ड फाल्ने निष्कर्ष निकालेका हुन् । त्यही कार्ड माओवादी नेता वर्षमान पुनमार्फत प्रचण्ड निवास पुरयाएका हुन् ।

तर, प्रचण्डले ओली र एमाले नेताहरूको प्रस्तावमा खास चासो देखाएनन् । बरु उनले ओलीलाई उल्टै काउन्टर दिन नेकपा कालका बहुमत सचिवालय अझै आफूसँगै रहेको सन्देश दिन असार १९ मा भेला भए । उनले बामदेव गौतम एकता राष्ट्रिय अभियान चलाएर हिँडिरहेको मौका छोपेर नेकपाका सचिवालय सदस्यका बहुमत सदस्यको सामूहिक छलफल चलाइदिए ।

शुरुमा प्रचण्डले नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध हुन त्यही छलफलबाट एउटा संयुक्त अपिल जारी गराउने सोच बनाएका थिए । तर, त्यसरी जाँदाविना तयारी पार्टी एकतामा जान दबाब पर्ने ठानेर पुनः यस्ता छलफल चलाइरहनु पर्ने निष्कर्ष निकालेर नेताहरू छुटि्टएका थिए ।

त्यो बैठकमा प्रचण्डले चुनावअगाडि नै एकीकृत समााजवादीसँग एकता हुने आधार देखिए एकता हुन सक्ने भनेर प्रस्ताव राखेका थिए । बृहत कम्युनिष्ट एकताको कुरा गर्दा पहिले आफूहरू एउटै धारका मिलेका कम्युनिष्टहरू एकता हुनु पर्ने, चुनाव अगाडि नै मिल्छ भने ल एकता गरेरै जाऔँ भन्दै माधव नेपाल र झलनाथ खनालसँग प्रस्ताव गरेका थिए । प्रचण्डको त्यस्तो प्रस्तावमा झलनाथ सकारात्मक नदेखिए पनि माधव नेपाल केही बोलेनन् ।

प्रचण्डले उक्त भेटवार्ताको प्रचार र तस्वीर प्रचारात्मक अभियानका रुपमा रणनीतिक ढंगले सार्वजनिक गरिदिए । यसले पनि प्रचण्ड कांग्रेससँग बार्गेनिड पावर बढाउने र एमालेलाई साइजमा ल्याउन सकिन्छ/सकिन्न ? भनेर खोजीमा निस्केका छन् । सोही कारण कांग्रेससँग प्रचण्डले अबको दुई साताभित्रै पहिले सिट संख्याको भागबण्डा गरेर मात्रै अगाडि जानु पर्ने प्रस्ताव गर्न चाहिरहेका छन् ।

ओलीले नेकपा कालको संरचना ब्यूँताउने कार्ड फ्याँके पनि प्रचण्ड त्यस्तो प्रस्तावमा सहमत देखिनन् । ओलीलाई अब सत्ताको बागडोर सम्हाल्ने स्थितिमा पुर्‍याउनै नहुनेमा प्रचण्ड दृढ देखिन्छन् । तर, ओलीको दाउ फेरि प्रधानमन्त्रीको प्रस्ताव गरेर चुनावमा जाने हो एकता र वाम तालमेलका लागि लचक रहेको सन्देश दिइररहेका छन् ।

प्रचण्ड आफै अब प्रधानमन्त्री बन्न चाहन्छन् । प्रधानमन्त्रीको कुर्सीमा उनलाई अब एकपटक आफै बस्न मन छ । प्रधानमन्त्री भएर सरकारको शक्ति हातमा हुँदा सबै शक्ति केन्द्रीकरण गर्न सकिने बुझाइमा छन्, प्रचण्ड ।

०००

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया