शुक्रबार, वैशाख १४, २०८१

मर्स्याङदीका भूमिहीनलाई लालपूर्जा दिन निस्सा वितरण सुरु

मेरोन्यूज २०७९ असार २७ गते ११:२९

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भूमिहीनलाई लालपूर्जा वितरण प्रक्रियाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग लमजुङको सहकार्यमा मस्र्याङदी गाउँपालिकाले वडाको समन्वयमा निस्सा वितरण  गरेको हो । 

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, आयोगका विज्ञ सदस्य, वडाअध्यक्ष सहितको टोलीले निस्सा वितरण गरेको हो । 

भूमिहीन सुकुम्बासी पहिचान भएका व्यक्तिलाई निस्सा प्रदान गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो छिटो लालपुर्जा वितरण गरिने बताए  ।

आयोगका जिल्ला अध्यक्ष  दामोदर अधिकारीले भूमिहीन र अव्यवस्थित वसोवासलाई अभिमुखिकरण गर्दै निस्सा वितरण विधि र कानुनी प्रावधानको वारेमा जानकारी गराए  । आयोगले सम्बन्धित पालिकाको सहकार्यमा काम गरेको भन्दै सम्भवत् आगामी दशैं भित्रमा सम्वन्धित परिवार तथा व्यक्तिको हातहातमा लालपुर्जा उपलब्ध गराइनेसमेत बताए ।

 कार्यक्रममा अध्यक्ष अधिकारीले अव्यवस्थित बसोबासीहरूको हकमा यदि गरिब पहिचान भएमा ३५ प्रतिशत छुटमा भोगचलन गरिरहेको जग्गा प्राप्त गर्ने जानकारी गराए । गरिब पहिचान नभएको खण्डमा भने सम्बन्धित परिवारले जग्गाको मूल्यसहित २०० प्रतिशतसम्म कर तिर्नपर्ने आयोगले जनाएको छ । यदि कसैले छलकपट गरी सुकुम्बासी लालपुर्जा लिने प्रयास गरेको वा लिएको पाइएमा कैद सहित जरिवाना सजाय हुने कानुनमा उल्लेख छ ।

मर्स्याङ्दी  गाउँपालिकामा ७८ भूमिहीन र १७७ अव्यवस्थित गरी २५५ व्यक्ति तथा परिवारलाई निस्सा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी भरतराज वास्तोलाले जानकारी दिए  ।

आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तीन प्रकृतिको लगत संकलन गरेको थियो । जिल्लामा हालसम्म संकलन भएका निवेदनहरूमा स्थानीय तहको सिफारिसअनुसार आवश्यक प्रक्रियाअघि बढाउने काम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा गरेपश्चात भूमिहीन सुकुम्बासीले १३० वर्गमिटर वर्गमिटर  जग्गा प्राप्त गर्नेछन् । 

प्रतिक्रिया