मंगलबार, वैशाख ११, २०८१

कृषि विश्वविद्यालय र इसीमोडवीच द्विपक्षीय सम्झौता

मेरोन्यूज २०७९ असार २७ गते ९:५९

भरतपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का बीच द्विपक्षीय सम्झौता भएको छ ।


अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवद्र्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा पेमा ग्याम्त्सोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

द्विपक्षीय सम्झौताबाट दुई संस्थाबीच अध्ययन, सहकार्यमा तयार गरिने अनुसन्धान प्रस्तावना, शिक्षक एवं विद्यार्थीको क्षमता वृद्धि र अन्य शैक्षिक कार्य सञ्चालन गर्न सकिने सम्भावना रहेको विश्वविद्यालयका योजना निर्देशक डा शिवचन्द्र ढकालले जानकारी दिए । सहकार्यबाट सहभागितामूलक अनुसन्धान र प्रसारका क्रियाकलापलाई लागू गर्न विश्वविद्यालयअन्तर्गतको अनुसन्धान एवं प्रसार निर्देशनालयलाई जिम्मेवार निर्देशनालयको रुपमा तोकिएको छ ।

विश्वविद्यालयका अनुसन्धान एवं प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार इसिमोडबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लागू हुन लागेको ब्रेस-ग्रेप परियोजनाको अनुसन्धानमूलक कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्राविधिक सहयोग, साझेदारीमा अनुसन्धान, तालिम, प्रसार, गोष्ठी आदि कार्यमा नेतृत्वदायी भूमिकामा सहयोग गरिने छ ।

प्रतिक्रिया