शुक्रबार, वैशाख ७, २०८१

डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो

मेरोन्यूज २०७९ असार २७ गते ८:१७

बेनी । बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताए ।

“म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवज जावतमा सहज भएको छ”, उनले भने, “ढुवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको ब्यापार व्यवसायमा पनि फरक हुन थालेको छ ।” बेनी नगरपालिका–४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताए । “हिलो, धुलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाहे थियो”, १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आएका उनले भने, “सडकका कारण कुनै दिन बजारमा दूध पु¥याउन सकिँदैनथ्यो ।”

बेनीदेखि मङ्गला गाउँपालिका–२ सिमसम्मको सडक कालोपत्र भएपछि जिल्लाको पश्चिमी भेगमा पर्ने तीन पालिकाका बासिन्दा लाभान्वित भएका छन् । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र भएको हो ।

कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–सिमखण्डको सडक कालोपत्र सकिएको जानकारी दिए । “पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ”, उनले भने, “११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।”

प्रतिक्रिया