शुक्रबार, चैत १६, २०८०

नागरिकता विधेयकबारे गृहमन्त्री र कानुनमन्त्रीले नेता नेम्वाङसँग गरे छलफल

मेरोन्यूज २०७९ असार २६ गते २०:२०

काठमाडौँ । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’बारे गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन् ।

आइतबार साँझ नेम्वाङ निवास बालुवाटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिएका थिए । गृहमन्त्री खाँणले छलफल सकारात्मक भएको जानकारी दिए ।

नेता नेम्वाङले गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माले संसद्मा पेस भएको नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेको जानकारी दिएका छन् । ‘तपाईहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषय वस्तु समावेश गरेर विधेयक संघीय संसद्मा पेस गरेका छौँ, पास गर्नलाई छलफल गरौँ, भन्नु भयो,’ भेटमा भएको कुराकानीबारे नेम्वाङले भने, ‘मैले ठीक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो, हामी नागरिकता विधेयकमा सकारात्मक नै छौँ, विधेयकमा के–के विषय समेटिएका छन्, त्यो हेर्छौं भनेँ ।’

सरकारले नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्ने छ । विधेयक पास भएमा नागरिकता नपाएका युवा लाखौँ युवाले नागरिकता पाउने छन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्याउने अपेक्षा सरकारको छ ।

Advertisement

नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई राजनीतिक र प्रशासनिकबाहेक सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्बोधन गर्ने छ ।

प्रतिक्रिया