बिहीबार, वैशाख १३, २०८१

साढे एक करोड राजस्व नबुझाएपछि पाँच क्रसर उद्योगमा तालाबन्दी

मेरोन्यूज २०७९ असार २६ गते १६:००

काठमाडौँ । पटकपटक ताकेता गर्दा तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिक रुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ ।

सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ । ती उद्योगले गाउँपालिकालाई एक करोड ५४ लाख राजस्व दाखिला गर्नु पर्ने छ । तर, दाखिला नगरेकाले तालाबन्दी गर्नु परेको उपाध्यक्ष नेपालीले जानकारी दिइन् ।

मकवानपुरगढी गाउँपालिका ५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख, आधुनिक क्रसर उद्योगले २३ र आमभञ्ज्याङ एग्रिगेरले २८ लाख तिर्न बाँकी छ । त्यस्तै, मकवानपुरगढी २ स्थित नमूना बालुवा उद्योगले ३० लाख र मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका सो गाउँपालिका ६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए ।

प्रतिक्रिया