शुक्रबार, चैत १६, २०८०

एमालेको आन्तरिक सर्वेक्षण : स्थानीय चुनावमा ५१ हजार नेता-कार्यकर्ताको ‘क्रस भोटिङ’

मेरोन्यूज २०७९ असार २६ गते ९:५४

काठमाडौं । नेकपा एमालेले गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा देशभरका ५१ हजार नेता -कार्यकर्ताले क्रस भोटिङ गरेको आन्तरिक निश्कर्ष निकालेको छ । आफ्ना पार्टीका उम्मेदवारलाई मत नदिई अन्तर्घात गरेर अन्य पार्टीका उम्मेदवारलाई जिताउने पार्टी नेता कार्यकर्ता यसपटक निक्कै ठूलो संख्यामा देखिएको एमालेको आन्तरिक निश्कर्ष छ ।

अध्यक्ष ओलीले आफना अति विश्वासपात्र उपमहासचिव विष्णु रिमाललाई आन्तरिक रुपमा यससम्वन्धमा रिपोट तयार पार्न निर्देशन गरेका थिए । चुनाबी मत परिणाम सार्वजनिक भईरहँदा नै ओलीले देशभरको रिपोर्ट लिने र आन्तरिकरुपमा भए गरेका कमीकमजोरी केलाउन रिमाललाई अह्राएका थिए ।

रिमालले आन्तरिक रुपमा तयार पारेको रिपोर्टमा देशभरका ५१ हजार नेता कार्यकर्ताले क्रस भोटिङ गरेको भित्री प्रतिवेदन तयार पारेको एमाले स्रोतले बताएको छ । तर त्यसरी क्रश भोटिङ गर्नेलाई के गर्ने ? एमालेभित्रै ओली किचेन क्याबिनेटमा छलफल भयो । आसन्न प्रदेश र संसदीय चुनावको सम्मुखमा यसरी क्रस भोटिङ गर्नेलाई कारवाही गर्न सक्ने अवस्थामा एमाले थिएन ।

यहीक्रममा घनश्याम भुसालले ओलीमाथी सार्वजनिक टेलिभिजनबाट आरोपित गर्ने काम भयो । उनले पनि नैतिक जिम्मेवारी लिनुपर्ने र सजाँयाको भागीदार ओली हुनुपर्ने आसयमा टेलिभिजन अन्र्तवार्ता दिए । भुसालले सार्वजनिकरुपमा ओलीलक्षित गरेर दिएको अन्र्तवार्तालाई कारवाहीको भागिदार बनाउन केशव बडाल नेतृत्वको अनुशासन आयोगलाई दवाव बढाइयो । अनुशासन आयोगले भुसाललाई कारवाहीको सिफारिस गरी पार्टी हेर्डक्वार्टरलाई पत्र पनि बुझायो । तर त्यो कारवाहीको विषय पनि अहिले ढिसमिस बनेको छ ।

गत असार १९ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।
चुनावमा धेरै स्थानमा नेताहरुले नै आफूले इच्छाएका व्यक्तिले टिकट नपाएपछि अन्तर्घात गरेको भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेको र त्यसको निरुपण गर्न कार्यदल गठन गरेको एमालेको तर्क छ ।

Advertisement

‘तर, त्यो कार्यदल दोषी देखिएका नेता-कार्यकर्तालाई कारवाहीका लागि भन्दा पनि यसपटकका लागि सवैलाई उन्मुक्ति दिलाउनका लागि गठन गरिएको हो’ एमालेका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने, ‘कुनै न कुनै रुपमा पार्टीका जिम्मेवार नेताहरु नै पनि अन्र्तघातमा जोडिएका छन् । उनीहरुविरुद्ध उजुरी पनि छ । उनीहरुलाई पनि कारवाही गर्नुपर्ने हुन्छ । यसरी कारवाही गदै जाँदा ५१ हजार लाई कारवाही गर्नुपर्ने हुन्छ । अनि अर्काे चुनावको मुखमा कसले कसलाई कारवाही गर्ने ? यो उजुरी ढिसमिस बनाउन गठन गरिएको कार्यदल मात्रै हो ।’

पौडेल नेतृत्वको कार्यादलले कारवाही भन्दा पनि आउने संघ प्रदेशको चुनावमा कसरी अन्र्तघात रोक्ने भन्नेमा मात्र सुझाव दिन सक्ने ति नेताले बताए ।

प्रतिक्रिया