शुक्रबार, चैत १६, २०८०

चिनियाँ कम्युनिष्ट नेता नेपाल आउँदैं

कम्युनिष्ट मिलाउँलान् की कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्लान् ?

कांग्रेस, एमाले, माओवादी र नेकपा एसका नेता तथा राष्ट्रपतिलाई भेट्ने कार्यक्रम

मेरोन्यूज २०७९ असार २६ गते ८:४२

काठमाडौँ । सरकारले संसदीय निर्वाचनको मिति घोषणा गर्न लागेका बेला उत्तरी छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आउन लागेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ (आज) आइतबार चारदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल आउन लागेका हुन् । नेपालका कम्युनिष्ट पार्टीहरुप्रति सदभाव राख्दै आएको र कम्युनिष्ट पार्टीहरुवीचको एकतामा जोड दिँदै आएको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख निर्वाचनको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आउन लागेकाले यसलाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ ।

२०७४ सालको संसदीय निर्वाचनमा पनि चीनले नेपालका कम्युनिष्टहरुको एकतामा जोड गरेको थियो । चुनावमा भएको बाम गठबन्धन र त्यसपछिको एमाले माओवादी एकतामा पनि चीनको प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गरेको थियो । पछि कम्युनिष्ट पार्टीमा हुन खोजेको विभाजन रोक्नका लागि पनि उसले निक्कै कसरथ गरेको थियो । अहिले फेरि निर्वाचनको सम्मखमा विदेश विभाग प्रमुखको नेपाल भ्रमणलाई धेरै जसोले सम्भावित कम्युनिष्ट पार्टीहरु वीचको चुनावी गठबन्धनको पहलका लागि भ्रमण हुन लागेको हुनसक्ने आशंकाका साथ हेरिएको छ ।

नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको चीनले अहिले पनि नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको अर्थमा पनि कतिपयले लिन चाहेका छन् । त्यसैलाई मध्यनजर गरेर लिउले नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी र नेकपा एसका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

Advertisement

विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ मा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेको हो ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए । नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।

नेपालमा पछिल्ला दिनमा पश्चिमा शक्ति राष्टको बढदो प्रभावबाट चीन झस्किएको छ । अहिलेको कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकार बनेपछि सरकार पश्चिमा शक्तिप्रति ढल्किन थालेको आशंकामा चीन छ । नेपालमा कम्युनिष्ट पार्टी बलियो बन्दा आफनो लागि अनुकुल हुने ठानेको चीनले नेपालका कम्युनिष्ट पार्टीलाई बलियो बनाउन अनेक जुक्ति खोजिरहेको देखिन्छ ।

त्यही क्रममा हुन लागेको लिउ जियानचाओ को भ्रमणलाई अर्थपूर्ण मानिएको हो । यो यसकारण पनि अर्थपूर्ण छ की लिउ जियानचाओ चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख हुन् । उनले पहिलो विदेश भ्रमण नेपालबाट शुरु गर्न लागेकोले पनि चीनको प्राथमिकता नेपाल रहेको बुझन सकिन्छ । कतिपयले एमाले र माओवादीभित्र सुसुप्त रुपमा भित्रभित्र बाम गठबन्धनका लागि भईरहेको प्रयासमा उनको भ्रमणबाट राहात पुग्ने विश्लेषण गरिरहेका छन् ।

एमालेले माओवादीलाई कांग्रेससँगको गठबन्धनबाट अलग्याउन पनि लिउ जियानचाओको भ्रमणका क्रममा पहल लिन सक्ने पनि विश्लेषण गरिएको छ । तर उनको भ्रमण कम्युनिष्ट शक्तिहरु मिलाउन फलदायी हुन्छ या कांग्रेससँग पनि चिनियाँ कम्युनिष्ट पार्टीले सम्वनध विस्तार गर्न चाहेको छ ? त्यसका बारेमा भने उनको भ्रमण र त्यसपछिको राजनीतिक घटनाक्रमलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया