बिहीबार, मंसिर २२, २०७९

सशस्त्र प्रहरीको नियमावली संशोधन, एसएसपीमा बढुवा हुने अवधि घट्दै

मेरोन्यूज २०७९ असार २४ गते २०:५६

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत रहेका एसपीलाई बढुवा हुन चार वर्षे प्रावधान हट्ने भएको छ । एसपीबाट एसएसपीमा बढुवा हुन चार वर्ष पुग्नु पर्ने अनिवार्य प्रावधान हटाउँदै तीन वर्ष कायम गरिएको हो ।

गत मंगलबार बसेको मन्त्रिपरिषदमा सो प्रस्ताव पठाएको हो । तर, संशोधन भइसकेको छैन । तीन वर्ष सेवा अवधि पूरा गरेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवा हुन योग्य हुने गरी गृहले सशस्त्र प्रहरी नियमावली ०७२ संशोधनको प्रक्रिया अघि बढाएको छ ।

गृहका अनुसार बढुवासँग सम्बन्धित संशोधन गर्न लागिएको नयाँ प्रावधान एसपीको हकमा मात्रै हो । अन्य पदको हकमा पुरानै प्रावधन लागू हुनेछ । हाल कार्यान्वयनमा रहेको प्रावधानअनुसार सशस्त्र प्रहरी निरीक्षकदेखि एसपीसम्मको पदबाट माथिल्लो पदमा बढुवा हुन चार वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्छ ।

‘एसएसपीको चार वर्षे प्रावधान मात्रै घटाइएको हो, यो प्रस्ताव मंगलबार मन्त्रिपरिषदमा पुगेको छ’, मन्त्रालय स्रोतले भन्यो । नियमावली संशोधन भए एसपीबाट एसएसपीमा बढुवा हुन अब तीन वर्ष मात्रै सेवा अवधि पूरा गरे पुग्छ ।

संशोधित नयाँ प्रावधानबाट १ चैत ०६९ मा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतलाई फाइदा पुग्ने छ । यस ब्याचका प्रहरी अधिकृत १५ चैत ०७५ मा डीएसपीबाट एसपीमा बढुवा भएका थिए । गृहले सशस्त्र प्रहरीको अवकाश अवधि पनि संशोधन गर्न लागेको छ ।

Advertisement

‘सशस्त्र प्रहरी नियमावली संशोधन भए पनि एसपीबाट एसएसपीका लागि नयाँ व्यवस्था लागु हुने छ, अब अर्कोपटक बस्ने मन्त्रिपरिषद बैठकले नियमावली पास गर्ने छ’, स्रोतले भन्यो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संगठन संचालनका लागि नियमावलीका कारण परेका विविध अप्ठयारा र संगठनका जवानदेखि अधिकृतसम्मले राखेका माग सम्बोधनका लागि नियमावली संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाएका थिए । तर, प्रहरीको भने कुनै पनि नियमावली संशोधन भएको छैन ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सुरक्षाकर्मीको वृत्ति विकास एवं जनशक्ति व्यवस्थापनसम्बन्धी केही अधिकार कटौती गरी गृह मन्त्रालय मातहत ल्याउन नियमावली हेरफेर गर्न लागिएको थियो । तर, अहिले त्यता ध्यान नदिएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया