बिहीबार, वैशाख १३, २०८१

मलामी बोकेको ट्र्याक्टर दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, ३१ घाइते

मेरोन्यूज २०७९ असार २४ गते १८:०७

काठमाडौँ । संखुवासभाको चैनपुर नगरपालिका १० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् ।

खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर १० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

मृत्यु हुनेमा चैनपुर नगरपालिका १० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका ९ का ४६ वर्षीय केशव कार्की रहेका छन् । मलामी बोकेर फर्किंदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो ।

घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका १० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया