शुक्रबार, चैत १६, २०८०

नेपाल प्रहरी

एसएसपी बढुवामा सकस, मागभन्दा दोब्बर एसपीहरू प्रतिस्पर्धामा !

दया दुदराज २०७९ असार २४ गते १६:१२

काठमाडौँ । गृहमन्त्रालयले गत असार ८ गते १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको थियो । १७ जना एसएसपीहरु डीआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा अहिले ३२ जना एसएसपीको दरबन्दी रिक्त छ । सोही रिक्त पदमा बढुवा हुन ६० प्रहरी उपरीक्षक (एसपी)हरु दौडधुपमा छन् ।

प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट आएकासँगै २०५४ र २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीसमेत दाबेदारमा रहेका छन् । २०५३ सालमा राअविमा भर्ना भएर प्रहरीमा छिरेदेखि २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) भएर २०७४ मा एसपी भएका र २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएर २०७५ जेठमा एसपी भएकाहरु बढुवाका लागि प्रतिस्पर्धामा देखिएका हुन् ।

को-को छन् दौडमा ?

राअविबाट रुपान्तरण भएर प्रहरीमा आएको समूह र २०५४ र २०५६ मा निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका एसपी बढुवाको आकांक्षी बन्दा बढुवामा तीव्र प्रतिस्पर्धा देखिएको हो । राअविको समूह र २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका समूहको मात्रै छान्ने हो भने पनि रिक्त दरबन्दीभित्र अटाउन दुई जनालाई पुग्दैन ।

राअविको समूह र २०५४ को ब्याजीहरु जोड्दा ३४ जना छन् । अझ ०५६ मा निरीक्षक भएकासमेत एसएसपी बन्ने दौडमा लागेपछि प्रतिस्पर्धा चर्काे देखिन थालेको हो । जसका कारण गृह मन्त्रालयसमेत समयावधिभित्रै बढुवाको निर्णयमा पुग्न सकिरहेको छैन ।

Advertisement

डीएसपीबाट एसपीमा बढुवा हुँदासमेत राअविकै सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुरवेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेतहरु पहिलोदेखि १० औं नम्बरमा थिए । उनीहरु २०७४ साल साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएका हुन् ।

११ औँ नम्बरदेखि राअविबाट आएका र २०५४ सालमा निरीक्षकमा भर्ना भएको टोलीलाई बढुवा गरिएको थियो । राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जिव शर्मा दास ११ औं नम्बरदेखि बढुवा भएका हुन् । हाल यिनै एसपीहरु प्रतिस्पर्धामा छन् ।
मनोजकुमार यादव, विनोद घिमिरे, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास पनि राअविबाटै आएका हुन् ।

बढुवा गर्दा प्रहरी नियमावलीको नियम ३० को उपनियम २ अनुसार कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीलाई आधार मान्नु पर्ने उल्लेख छ । यसो गर्दा ०७५ जेठ २९ मा एसपीमा बढुवा भएकाहरु पनि प्रतिस्पर्धामा देखिएका हुन् ।

२०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ जेठमा एसपी भएकामा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, सविन प्रधान, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भुपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दिप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभुषण तिम्सिना, प्रविण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई प्रतिस्पर्धामा छन् ।

बढुवामा किन ढिलाइ ?

नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रहरीमा बढुवाको चटारो उत्कर्षमा छ । नेपाल प्रहरीको कार्य सम्पादन मूल्यांकनसमेत साउन ७ गतेबाट सुरु हुन्छ ।
कार्य सम्पादन मूल्यांकन सुरु भएपछि असोज २१ सम्म प्रहरीको बढुवा प्रक्रिया बन्द हुन्छ । एसएसपी बढुवापछि डीएसपीबाट एसपी र इन्सपेक्टरबाट डीएसपीसमेत बढुवा गर्नु पर्ने भएकाले जतिसक्दो चाँडो बढुवा टुंगो लगाउनु पर्ने छ ।

जसका कारण जतिसक्दा छिटो बढुवाको टुंगो लगाउनु पर्ने चटारो बढुवा समितिलाई छ । हतार भएता पनि एसपीहरुले शक्ति केन्द्रको प्र्रयोग गर्नाले बढुवा गर्न असहज भएकाले बढुवामा ढिलाई हुँदै गएको गृहमन्त्रालय स्रोतको जिकिर छ ।

राअविबाट प्रहरीमा स्थानान्तरण भएको टोली र २०५४ र २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबीच कडा प्रतिस्पर्धा हुँदा बढुवा समितिले बढुवाको टुंगो लगाउन नसकेको स्रोतको दाबी छ ।

एसएसपी बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको समिति हुन्छ । समितिमा गृह सचिवसँगै प्रहरी महानिरीक्षक (आईजीपी) र आईजीले तोकेको एक जना एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया