शुक्रबार, वैशाख १४, २०८१

किन भयो जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या, को हुन् गोली हान्ने ?

हातले बनाइएको बन्दुकले हानेको थियो गोली

मेरोन्यूज २०७९ असार २४ गते १५:१४

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको हत्या भएको छ । शुक्रबार बिहान ११ः३० बजे जापानको पश्चिमी हिस्सा नाराको एक सडकमा भाषण दिइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारपछि उपचारका क्रममा उनको निधन भएको जापानी सञ्चार माध्यमले पुष्टि गरेको छ । गोली लागेका आबेको उपचारका लागि नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

गोली प्रहार गर्ने को हुन् ?

पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको क्षणमै जापानी प्रहरीले ४१ वर्षीय संदिग्ध हमलाकारीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका संदिग्ध हमलाकारीलाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ ।

आबेलाई गोली हान्ने व्यक्तिको तेत्सुया यामागामी रहेको खुलको छ । उनी नारा सिटीकै बासिन्दा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको जानकारी दिएको थियो । पहिलो गोली मिस भए पनि दोस्रो गोली उनलाई लागेको हो ।

किन हानियो गोली ?

आबेमाथि गोली प्रहार गर्ने व्यक्तिले प्रहरीसँगको कुराकानीमा आफू आबेसँग असन्तुष्ट भएको र उनलाई मार्न गोली प्रहार गरेको बताएका छन् । यो कुरा रोयटर्स समाचार एजेन्सीले बताएको छ ।

जापानी रक्षा मन्त्रालयका स्रोतलाई उदृत गर्दै एनएचकेले संदिग्ध आत्मरक्षा बलको पूर्व सदस्य भएको र हातले बनाएको बन्दुकले गोली हानेको बताएको छ । सन् २००५ सम्म उनले सेल्फ डिफेन्स फोर्समा तीन वर्ष सेवा गरेका थिए ।

आबेको सार्वजनिक सभामा नारामा बस्ने ५० वर्षीया महिला उपस्थित थिइन् । उनले एनएचकेलाई भनिन्, ‘मैले आबेको भाषण सुनिरहेको थिएँ, एकै छिनमा मैले हेलमेट लगाएका एक व्यक्तिले दुईपटक गोली हानेको देखेँ, दोस्रो प्रहारपछि आबे लडेका थिए, उक्त व्यक्तिलाई तत्कालै पक्राउ गरियो, तुरुन्तै एम्बुलेन्स बोलाइयो र आबेलाई अस्पताल पठाइयो, म छक्क परेँ कि आक्रमणकारी मेरो अगाडि उभिएका थिए ।’

आबेसँगै जनसभामा उपस्थित भएका डेमोक््रयाटिक लिबरल पार्टीका एक अधिकारीले पत्रकारलाई भने, ‘ती व्यक्तिले १० मिटर टाढाबाट गोली हानेका थिए, कसैले पटाका फालेको जस्तो, मेरै आँखाअगाडि यत्रो ठूलो घटना भयो भनेर मैले विश्वास नै गर्न सकिरहेको छैन, गोली हानेपछि उनी शान्त थिए, भागेनन् पनि ।’
आक्रमणकारीको बारेमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार भने, ‘हामीलाई आक्रमणकारीको आपराधिक पृष्ठभूमिबारे जानकारी छैन, प्रहरी अनुसन्धानपछि मात्र थाहा हुनेछ, आक्रमणकारीको पृष्ठभूमि जानकारी हाम्रो लागि धेरै महत्त्वपूर्ण छ ।’

प्रतिक्रिया