शनिबार, वैशाख १५, २०८१

बालुवाटारमा तीन दलको बैठक : नागरिकतामा नयाँ विधेयक तयारीको छलफल

मेरोन्यूज २०७९ असार २४ गते ११:५७
फाइल तस्बिर

काठमाडौं । सत्तासिन प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीसँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए ।

भेटमा नागरिकता विधेयकका विषयमा केन्द्रीत रहेर छलफल भएको बालुवाटार स्रोतले बताएको छ । सरकारले चार वर्ष अगाडी संसदमा लगेको नागरिकता विधेयक आजै संसदबाट फिर्ता लिँदैछ ।

त्यसको साटोमा अर्काे विधेयक पनि सरकारले संसदमा दर्ता गराउने तयारी गरेको छ । अर्को, विधेयक सरकारले सम्भवत: आजै संसदमा दर्ता गर्ने र फास्ट ट्राकमार्फत पास गर्ने तयारी छ ।

‘मुख्यत नागरिता विधेयक सरकारले फिर्ता लिएपछि के गर्ने र कस्तो संशोधन विधेयक अहिले दर्ता गराएर जाने भन्नेमा गठबन्धन दलका शीर्ष नेताहरुको छलफल भएको हो,’ बालुवाटार स्रोतले भन्यो ।

छलफलमा गृहसचिव पनि सहभागी थिए । स्रोतका अनुसार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानलाई बंशजको नागरिकता दिने प्रावधान मात्र ल्याउने गरी नयाँ विधेयक ल्याउन चाहन्छन् ।

नागरिकताका बारेमा छलफल सकिएपछि गृहसचिव बाहिरिएको र त्यसपछि भने तीन शीर्ष नेताहरुले निर्वाचन आयोगले विहिबार प्रधानमन्त्रीलाई मंसिर २ मा निर्वाचन गराउन मिति सिफारिस गरेको विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

सरकार अब यसै महिनाको अन्तिमसम्म संघ र प्रदेशको आगामी निर्वाचनको मिति तोक्ने गरी तयारीमा जुटेको छ । यसै विषयमा प्रधानमन्त्रीले सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसाग छलफल गरेका हुन् ।

छलफलका क्रममा गठबन्धन दलहरुले आउने चुनावमा के कसरी तालमेल गर्ने भन्ने विषयमा पनि प्रारम्भिक छलफल भएको बताइएको छ ।

प्रचण्ड र नेपालले दलहरुका वीचमा हुने भागवन्डाका पहिले सिट बाँडफाँडमा संख्या टुग्गो लगाउनु पर्ने र त्यसपछि मात्र कुन निर्वाचन क्षेत्रमा कसलाई भागवन्डा लगाउने भन्नेमा केन्द्रीत रहेर छलफल गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राख्दै आएका छन् । साउनको दोस्रो सातासम्ममा गठबन्धनको प्रष्ट धारणा बनाउनु पर्नेमा माओवादी र एकीकृत समाजवादी छ ।

प्रतिक्रिया