आइतबार, जेठ ६, २०८१

अपहरण परेका बालकको १५ दिनपछि सकुशल उद्धार

मेरोन्यूज २०७९ असार २१ गते २०:४१

काठमाडौँ । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गरेको छ ।

Advertisement

भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगर ७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहनको उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न आरोपमा एक महिलालाई प्रहरीले बालकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन् । खातुनलाई बालकसहित प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

आफ्नै घरमा बालकलाई लिएर खातुन लुकेकी थिइन् । विशेष सुराकीका आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

गत असार ६ गते बिहान ७ बजे घरअगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयवासीले भने ती महिलाको परिचय खुलेको थिएन ।

जानकारी हुने बित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले बताए ।

प्रतिक्रिया