सोमबार, जेठ ७, २०८१

माओवादी : केन्द्रीय समिति बैठक

पार्टी संगठनलाई ‘फिनिसिङ’ गर्दै प्रचण्ड

रामकृष्ण अधिकारी २०७९ असार २१ गते २०:१८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअगाडि (असार १९) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संगठनात्मक प्रस्तावमा पोलिटब्यूरो र नेताहरूको कार्य विभाजनसम्म टुंग्याएर जान चाहेका थिए । केन्द्रीय समितिमा नेताहरूको दबाब बढेमा केहीअगाडि बढेर स्थायी समितिसम्म टुंग्याउने सोचमा थिए, उनी ।

Advertisement

स्थायी समितिसम्म बनाउँदा पार्टीमा धेरै हदसम्ममा विवादमुक्त कमिटी बनाउन सकिने बुझाइमा प्रचण्ड देखिन्थे । तर, केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले पार्टीको संगठनात्मक संरचना सम्पूर्ण रुपमा नै ‘फिनिसिङ’ गर्न प्रचण्डमाथि दबाब बढाए ।

‘बरु बैठक सम्पन्न गर्न कति दिन लाग्छ, लम्बाउनुस्, पार्टीको पदाधिकारीसम्मै चयन गरेर निस्कनुस्’ अध्यक्ष प्रचण्डलगायत पार्टीका शीर्ष नेताहरूलाई बैठकमा केन्द्रीय सदस्य तथा पार्टीका प्रदेश अध्यक्षहरूले रिपोर्टिङका क्रममा धारणा राखेका थिए ।

बैठक आज (मंगलबार) सक्ने तयारीका साथ आफूले पेश गरेको प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिने र केही संगठनात्मक प्रस्ताव बैठकमा पेश गर्ने गरी अध्यक्षको कार्यसूची थियो । तर, उनले बिहानै खुमलटारमा पूर्व स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्जलाई छलफलमा बोलाए ।

‘के गर्ने ? संगठनात्मक समस्याको हलको विधि कसरी खोज्ने ? लौ भन्नुस्’ भन्दै बिहान आफ्नै निवास खुमलटारमा अनौपचारिक छलफल सुरु गरेका प्रचण्डले त्यसपछि नेताहरूको आकांक्षा र मनोविज्ञान एक–एक गरेर बुझ्ने प्रयास मात्र गरेनन् । नेताहरूको आफ्नो दाबी कत्तिको दरिलो रैछ भनेर नाडी छाम्ने काम गरे ।

खासगरी वरिष्ठ उपाध्यक्ष र महासचिवमा नेताहरूको आआफ्नै दाबी रहेको र एउटालाई बनाउँदा पार्टीभित्रको अर्को आकांक्षीको चर्को दबाब झेल्नु पर्ने ठानेका प्रचण्डले आफ्नो अप्ठयारो पनि बैठकमा राख्न भ्याए ।

आगामी संघ र प्रदेशको चुनाव, पार्टीको गाउँ तहबाटै पुर्नःनिर्माण हुन लागेको जनाधारदेखि संगठनात्मक रुपमा परेका सबै समस्याको विस्तृत धारणा राखेपछि नेताहरूबाट प्रचण्डले पदाधिकारी के गर्ने ? भन्ने जिज्ञासा राखेको बैठकमा सहभागी एक नेताले मेरोन्यूजलाई बताए ।

बैठकमा सहभागी ती नेताका अनुसार त्यसपछि प्रचण्डले सबैको बचन बद्धता खोजे । उनलाई प्रायः नेताहरूले संगठनात्मक कामलाई फिनिसिङ गर्न सुझाए । सबैजसोले पदाधिकारी टुंग्याउन भनेपछि उनले पनि त्यसो हो भने सहमतिमै पदाधिकारी टुंग्याउने विधि के हुन्छ ? भनी नेताहरूलाई नै प्रश्न गरे ।

प्रचण्डको प्रस्तावमा सबै नेताहरूले ‘अध्यक्षले ल्याउने प्रस्ताव’ भनेर उनीतिर प्रश्न फर्काए । त्यसपछि प्रचण्डले आफूलाई प्रस्ताव ल्याउने अधिकार दिन आग्रह मात्रै गरेनन्, आएको प्रस्तावलाई सबै नेताहरूले चित्त बुझाउनु पर्ने र त्यसमा असन्तुष्टि पोखेर कम्तीमा अहिले चुनावको रटान लगाउन नपाउने कुरा निकाले ।

‘त्यसमा पनि वरिष्ठ उपाध्यक्षको आकांक्षी र महासचिवका आकांक्षीको चुनावमा जान्नौँ, अध्यक्षले ल्याउने प्रस्तावमा सहमति जनाउँछौँ,’ भन्ने बचन बद्धता प्रचण्डले लिन चाहे । उनले सोचेको पूरा भए । बैठकमा सहभागी नेताहरूले त्यसैगरी बचन बद्धता गरे ।

‘अब अध्यक्षले फेरि पनि नेताहरूसँग एक्लै या आवश्यक ठानेका नेताहरूसँग बसेर संगठनात्मक प्रस्तावको एउटा गृहकार्य गरेर ठोस प्रस्ताव तयार पार्नु हुन्छ, भोलिको केन्द्रीय समिति बैठकअगाडि पुनः पूर्व स्थायी समिति सदस्यहरूका बीचमा अनौपचारिक छलफल राख्नु हुन्छ, आफूले तयार पारेको प्रस्तावका विषयमा एक प्रकारले छलफल गर्नु हुन्छ र सहमति जुटाएर केन्द्रीय समिति बैठकमा संगठनात्मक प्रस्ताव लैजानु हुन्छ,’ माओवादी केन्द्रका एक प्रभावशाली नेताले मेरोन्यूजसँग भने ।

अर्का नेता गिरिराजमणि पोखरेलले भोलिको केन्द्रीय समिति बैठकमा अध्यक्षले पदाधिकारीदेखि स्थायी समिति र पोलिटब्यूरोसम्म ठोस संगठनातमक प्रस्ताव ल्याउने बताए । ‘हामी बिहान नेताहरू बसेका थियौँ, बैठकबाट पदाधिकारीसहित पार्टीको स्थायी र पोलिटब्यूरो सबै टुंगो लगाउन अध्यक्षलाई अख्तियारी दिएका छौँ, भोलि बस्ने केन्द्रीय समितिमा अध्यक्ष कमरेडले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरोमा बस्ने नेताहरूको नाम प्रस्ताव गर्नु हुन्छ, त्यही हलबाट नाम अनुमोदन हुने छ,’ नेता पोखरेलले भने ।

नेकपा माओवादीमा पदाधिकारी टुंग्याउन खासगरी वरिष्ठ उपाध्यक्ष र महासचिवमा सकस छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरादेखि मातृका यादवसम्मले दाबी गरेका छन् । त्यस्तै महासचिवमा वर्षमान पुन र जर्नादन शर्मा मुख्य आकांक्षी हुन् । अध्यक्षले चाहेमा देव गुरुङ, पम्फा भुसालदेखि शक्ति बस्नेतसम्म महासचिवका आकांक्षीमा छन् ।

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने गरी पदाधिकारी रहने व्यवस्था छ । तर, आकांक्षी धेरै देखिए उपाध्यक्षको संख्या बढाउने गरी छलफल चलेको बताइएको छ ।

पूर्व स्थायी समितिका सदस्यलाई पदाधिकारीमा मिलाउने गरी प्रचण्ड जान चाहिरहेका छन् । त्यसो हुँदा केही नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा प्रचण्ड आन्तरिक छलफलमा छन् ।

प्रचण्डमाथि विगतदेखि नै पार्टीभित्रै निर्माण हुने गरेका अनेक खाले ‘टावर’हरूमा रहेर खेल्ने गरेको र त्यसरी खेल्दा आफूलाई कसरी लाभ मिल्छ, उसैसँग मिलेर योजना निर्माण गर्न खोजेको आरोप लाग्ने गरेको छ । हिजो युद्ध कालमा एकातिर मोहन वैद्य (किरण) र अर्कोतिर बाबुराम भटटराईलाई राखेर उनले कहिले वैद्य त कहिले भट्टराईसँग मिलेर संगठनात्मक अभियान चलाउने गरेको आरोप लाग्दै आएको थियो ।

केही समयअगाडिसम्म रामबहादुर थापा ‘बादल’ पार्टीमा हुँदा कहिले नारायणकाजी र कहिले रामबहादुरबीचमा रहेर प्रचण्डले पार्टी चलाउने गरेको आरोप माओवादीभित्र र इतरसमूहले लगाउँदै आएका थिए । तर, अहिले पछिल्लोपटक जर्नादन शर्मा र वर्षमान पुनका देशभर माओवादी नेता कार्यकर्ताका बीचमा बन्न थालेका गुटमा रहेर प्रचण्ड चलिरहेको आरोप लागिरहेको थियो ।

उनीमाथि महासचिवमा वर्षमान रोज्ने या जर्नादन भन्ने दोधारमा रहेका बेला संगठनात्मक ‘फिनिसिङ’नगरेको आरोप लाग्दै आएको थियो । तर, यसपटक प्रचण्डले अधिकतम सहमतिका आधारमा संगठनात्मक अधुरो कामको ‘फिनिसिङ’ गर्न खोजेका छन् ।

‘अध्यक्षले यसपटक पार्टीभित्र नेताहरूकै सहमतिका आधारमा एउटा संगठनातमक प्रस्ताव ल्याएर नयाँ सन्देश दिन खोज्दै हुनु हुन्छ,’ एक माओवादीका नेताले भने, ‘सम्भवत भोलि (बुधबार)को केन्द्रीय समिति बैठकमा त्यसको एउटा खाका आउँछ र अनुमोदन हुन्छ ।’

अर्थमन्त्रीको प्रतिरक्षा गर्ने

पार्टीका नेता तथा अर्थमन्त्री जर्नादन शर्माको प्रतिरक्षा गर्नेसम्मको तयारी थालेको छ । ‘बिहानको पूर्व स्थायी समिति बैठकमा निकालिएको निष्कर्ष भनेकै अर्थमन्त्रीको प्रतिरक्षा गरेर जाने भन्ने नै हो,’ ती नेताले भने ।

अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्नुअघिल्लो रात (जेठ १४) गते अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दररेटमा हेरफेर गरेर बजेट निर्माण गरेको आरोपमा चौतर्फी आक्रमण भइरहेको छ ।

यो प्रकरणमा अर्थमन्त्री एकपछि अर्को गरी थप विवादमा मुछिदै जान थालेपछि माओवादीले पार्टी नेतामाथि भइरहेको चौतर्फी आक्रमणको प्रतिरक्षामा उत्रने निष्कर्ष निकालेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपाा एमालेले यो विषयमा संसदीय छानविन समिति गठनको माग गरिरहेको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै शेखर कोइराला पक्षका नेताहरूले अर्थमन्त्री शर्माको आलोचना गरिरहेका छन् ।

माओवादीले भने अर्थमन्त्रीमाथिको आक्रमण भनेको आफ्नो पार्टी र जिम्मेवार नेतामाथि कतिपय सुनियोजित रुपमा आक्रमणको योजनाभित्र रचिएको षड्यन्त्रका रुपमा बुझेको छ ।

‘अर्थमन्त्रीको अहिले बचाउ गर्ने गरी प्रतिरक्षा गरेर जाने हुन्छ होला, अध्यक्षले त्यही संकेत गर्नु भएको छ, उहाँले उठेका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नु हुन्छ, आवश्यक परे अन्य सत्ता गठबनधनका दलका शीर्ष नेताहरूसँग पनि छलफल गर्नुहोला, तर उहाँमाथिको आक्रमणको विषयमा पार्टीले प्रतिरक्षा गरेरै जाने हुन्छ,’ माओवादीका एक नेताले भने ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया