सोमबार, जेठ ७, २०८१

भारतको कोठीबाट उद्धार गर्नेलाई हत्या गर्न किन उत्रिन् जानुका ?

कुनै समयका सहयोगी कसरी बन्न पुगे ‘दुस्मन’

दया दुदराज २०७९ असार २० गते १५:४८

काठमाडौँ । करिब तीन वर्षअगाडि झापा जिल्लाको अर्जुनधारा नगरपालिका ७ बस्ने जानुका सुवेदी थापा रोजगारीका लागि भारतको राजधानी दिल्लीमा पुगिन् । त्यसबेला उनी २९ वर्षकी थिइन् (हाल ३१ वर्षीया) ।

Advertisement

घरको आर्थिक अवस्था बलियो बनाउन दिल्ली पुगेकी जानुकाले त्यहाँ सोचेको सजिलो काम पाइनन् । ०७६ साल मंसिर–पुस ताका दिल्ली पुगेकी उनलाई दलालले गुजरात पुर्याए । काम गर्ने आश्वासन देखाएर दलालले उनलाई एउटा कोठीमा बेचे ।

कामको सिलसिलामा बेचिन पुगेकी उनले त्यहाँबाट उम्कन धेरै कोशिस गरिन् । तर, सकिनन् । त्यही क्रममा जानुकाको भेट ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाइसँग भयो । उनले जानुकालाई साथ दिँदै कोठीबाट निकाले । बाबुभाइले जानुकालाई उद्धार गरी आफ्नो घरमा राखे । दुई महिनापछि जानुकालाई आफ्नै घर पठाइदिए ।

दलदलबाट निकालेर नेपाल फर्काएपछि जानुका र बाबुभाइको सम्बन्ध बलियो बन्दै गयो । उनीहरू एकअर्काबीचको सम्बन्ध सुधारसँगै बाबुभाइ नेपाल आउने जाने क्रम चल्दै गयो ।

नेपालमा आउँदै जाँदै गरेका बाबुभाइसँग जानुकाले सहयोग मागिन् । जानुकाले आर्थिक सहयोगको अपेक्षा गरेसँगै बाबुभाइले ०७६ सालको अन्तमा गुजरात पुगेर पाँच लाख रुपैयाँ पठाइदिए ।
ººº
गुजरातको कोठीबाट उद्धार गरी आर्थिक सहयोगसमेत गरेका बाबुभाइको हत्याको अभियोगमा जानुका नै पक्राउ परेकी छन् । बाबुभाइको हत्यामा संलग्न भएको आरोपमा जानुकासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । आफ्ना लागि अथाह सहयोग गरेका बाबुभाइलाई जानुकाले नै योजना बनाएर हत्या गरेको हो त ? प्रहरीले यसै प्रश्नको उत्तर खोजिरहेको छ ।

बाबुभाइको शव गत असार १२ गते अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपभित्रको बोरामा बेरिएको अवस्थामा फेला परेको थियो । उनको शवसँगै प्रहरीले भारतीय आधार कार्डसमेत फेला पारेपछि प्रहरीले अनुसन्धानलाई गहिरो बनाएको थियो ।

प्रहरीले जानुकालाई पक्राउ गरी अनुसन्धानको दायरमा ल्याएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगमबहादुर कुँवरका अनुसार यो घटनामा मुख्य रूपमा जानुका जोडिएकी छन् ।

जानुकासँगको केरकारपछि हत्याको योजनामा उनका श्रीमान ४९ वर्षीय बिर्खबहादुर थापा पनि संलग्न भएको देखिएको हो । उनीहरूले सुनसरी बराहक्षेत्र १० का २५ वर्षीय सुरेश परियारलाई ५ लाख रुपैयाँ दिने आश्वासन दिएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले जानुका, उनका श्रीमान विनय भनिने बिर्खबहादुर र सुरेशलाई नियन्त्रणमा लिएको हो ।

ººº
हत्याको कारण के हो ?

गत वैशाख ४ गते ५९ हजार भारतीय रुपैयाँसहित बाबुभाइ पक्राउ परे । उनलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको थियो । आवश्यक कारबाहीका लागि उनलाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको थियो । उनलाई राजश्वले दुई लाख ८० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

धरौटीमा छाडिए पनि बाबुभाइ मुद्दाका लागि राजश्व कार्यालयमा तारिख धाइराख्थे । तारिखका लागि नेपाल आइराख्ने बाबुभाइ जानुकाकै घरम बस्ने गर्थे । प्रहरीका अनुसार पछिल्लो समय उनी तारिखका लागि आउँदासमेत जानुकाकै घरमा बसेका थिए ।

मदिरा सेवन गरी बाबुलाइले जानुकालाई आफूसँग विवाह गर्न दबाब दिन थालेका थिए । उनीसँग विवाह गर्न नमाने राम्रो हुँदैन भन्दै धम्की दिएका थिए । त्यही बेलादेखि उनीहरुबीच सम्बन्धमा खटपट भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

गत असार ७ गते बाबुभाइ पुनः जानुकाको घरमा पुगे । केही दिन बसेर असार ९ गते बिहानको समयमा तारेखका लागि सुनसरीको इटहरी गएर झापा फर्किए । यता जानकाले आफ्नो श्रीमानसँग मिलेर बाबुभाइलाई हत्या गर्ने योजना बनाइरहेका हुन्छिन् ।

योजनाअनुरुप असार ८ गते सुरेश जानुकाको घर पुगेका हुन्छन् । उनीसँगै अर्का व्यक्ति पनि थिए, जो फरार रहेको प्रहरीले जानकारी दिए ।
राजश्वमा आफ्नो तारेख सकाएर बाबुभाइ असार ९ गते जानुकाको घरमा पुग्छन् । उनले ९ गते साँझ सुरेश र अर्का एक जनासँगै बसेर मदिरा सेवन गर्छन् । मदिरा सेवनसँगै बाबुभाइको हत्या हुन्छ ।

प्रहरीका अनुसार जानुकाको घरको भुइँतलाको उतरतर्फको कोठाको ढोकामा बाबुभाइ उभिरहेको अवस्थामा पछाडिबाट सुरेश घाँटीमा मुड्की प्रहार गर्छन् । भुइँमा लड्नसाथ सुरेशसँगै आएका अर्का युवाले फलामको मार्तोलले शरीरभरि प्रहार गर्छन् । उनीहरूले बाबुभाइको हत्या हुन्छ ।

बाबुभाइको हत्यापछि योजनाअनुसार शव लुकाउन सुरेश र अर्का युवाले ह्युम पाइपभित्र बोराले बेरेर राखेको प्रहरीको अनुसन्धानबा पत्ता लागेको हो ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया